नारायणगढ-बुटवल सडकको प्रगति ६ वर्षमा ५३ प्रतिशत मात्र, तेस्रो पटक म्याद थपिँदै

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन ७ गते ११:५५
नारायणगढ-बुटवल सडकको प्रगति ६ वर्षमा ५३ प्रतिशत मात्र, तेस्रो पटक म्याद थपिँदै

नारायणगढ–बुटवल सडक विस्तार थालेको ६ वर्ष भयो । अझै काम सकिएको छैन । अहिले दाउन्ने खण्डमा बर्खाले गर्दा हिलो र लेदोका कारण सवारी चलाउन समस्या छ । विस्तार गर्न सडक छेउका पहरो भत्काइँदा चोरमारा खण्डमा हिलोका कारण सवारीसाधन चिप्लने गरेका छन् ।

अहिले बढी समस्या यही खण्डमा छ । पानी पर्नासाथ हिलोले गर्दा यो खण्डमा सवारीसाधन ओहोदोहर गर्न हम्मेहम्मे पर्ने गरेको छ ।

उक्त सडकको विस्तार ०७५ चैत ८ मा सुरु भएको हो । तर समग्रमा प्रगति सोचेअनुरूप छैन । अहिलेसम्म निर्माण प्रगति ५३ प्रतिशत मात्र छ । ११३ किलोमिटर सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । पटकपटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम सकेका छैनन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न समिति सभापति नेतृत्वको टोलीले पटक-पटक अनुगमन गरेर छिटो काम सक्न निर्देशन दिए पनि कामको गति बढ्न सकेको छैन । भौतिक मन्त्री फेरिए पिच्छे यो सडकको अनुगमनमा पुगेर काम सक्न निर्देशन दिए पनि निर्माण व्यवसायीले सुने नसुनेझैं गर्ने गरेका छन् ।

दोस्रो पटक थपेको म्याद मंगलबार सकिँदै छ । फेरि म्याद थप गर्नेबारे छलफल भइरहे पनि निर्णय भइनसकेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए । ‘एक वर्षभित्र निर्माण व्यवसायीले काम सक्छु भनेर प्रतिबद्धता जनाए म्याद थप्न सकिन्छ,’ उनले भने, ‘अहिलेसम्म दुवै साइड गरेर २६.५ किमि सडक कालोपत्र भएको छ ।’ एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडकको स्तरोन्नति थालिएको हो ।

सुरु ठेक्काअनुसार ०७९ साउन २२ भित्र काम सकिसक्नुपर्ने थियो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । ‘कामको गति सोचेअनुरूप छैन,’ ढकालले भने, ‘पैसाको समस्या भयो भन्दै निर्माण व्यवसायी आइरहेका छन्, तर हामी छिटो काम सक्न दबाब दिइरहेका छौं ।’ म्याद थप गर्नेबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,सडक विभाग तहबाटै निर्णय हुने छ । ‘आज भोलिमै म्याद थपबारे निर्णय हुने छ,’ ढकालले भने, ‘तर, निर्माण व्यवसायीले कामको प्रगति बढाउनु पर्ने छ ।’

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका परामर्शदाता इन्जिनियिर राकेश झाले कम्पनिले डेढ वर्ष म्याद थप गर्न मन्त्रालयसँग माग गरिएको जानकारी दिए । ‘हामीले डेढ वर्ष म्याद थप्न समय माग गरेका छौं,’ उनले भने, ‘मन्त्रालयले एक वर्ष थप्ने भनेको छ ।’

दाउन्ने र चोरमारा बजारसम्मको २१ किलोमिटर सडकखण्डमा जताततै खाल्डैखाल्डा छन् । सडकमा पानी जमेको छ । त्यो खण्ड पार गर्न ३ घण्टाभन्दा बढी समय लाग्ने गरेको गुनासो यात्रुहरूको छ । यो खण्ड भएर ओहोरदोहोर गर्ने यात्रुले अघिपछि पनि सास्ती खेप्दै आएका थिए । अहिले बर्खाले झन बढी सास्ती खेप्नु परेको दुःखेसो यात्रुको छ ।

हिलोले समस्या भएको खण्डमा पानी परेको समयमा काम नगर्न भनिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालले बताए । ‘हिलो र सडकभन्दा माथिबाट बगेर आउने लेदो माटोका कारण केही स्थानमा सवारी चिप्लने समस्या छ,’ उनले भने, ‘त्यस्तो ठाउँमा अहिले सवारी आवागमन सहज बनाउने हो,पानी परीरहेको बेला काम नगर्न भनेका छौं ।’-ईकान्तिपुरबाट

प्रकाशित : २०८१ साउन ७ गते ११:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI