निम सरले त्यो झापड नहानेको भए……..
– रमेश बस्ताकोटी
आज गुरुपुर्णिमा ! बिहानै देखि फेसबुक लगायत सामाजिक संजालको भित्ताहरु गुरुपुर्णिमाको शुभकामनाले रंगिएको छ । सबैले आफ्ना आफ्ना गुरुप्रती श्रद्दाभाव प्रकट गरेका छन् । जिवनमा गुरुको महत्व धेरै हुन्छ , जिवनकालमा धेरै गुरुहरु धेरै तरिकाले जोडिएका हुन्छ्न् । बा र आमा देखि आजको दिन सम्म एउटा नयाँ कुरो केही सिकाईदिने मान्छे पनि गुरु नै हुन् । तसर्थ ती तमाम ज्ञात अज्ञात गुरु प्रती मेरो प्रेम र श्रद्दाभाव छ।
सिकेर कहिल्यै पनि नसकिदो रहेछ, मान्छेले जतिनैं आफुलाइ पुर्ण ठानेपनि उ सधै सिकिरहेको हुन्छ छ, म सबै भन्दा जान्ने वा म भन्दा जान्ने कोहि छैंन भनेर घमण्ड गर्ने केहि मैं हु भन्नेहरु भन्दा बाहेक यो यथार्थलाई सबैंले स्विकार गर्छन् होला पक्कैं पनि । त्यसैले एउटा मान्छेको जिवनलाई सार्थक बनाउन धेरैं गुरुहरुको योगदान हुन्छ । गुरुहरु निस्वार्थी हुन्छन् , तिनले आफुलाई रित्याएर भएपनि अरुलाइ सिकाउछन् । तर तिनले बुझेका हुन्छन् ज्ञान जति बाढ्यो त्यती बढ्छ । जानेका कुरा अरुलाई सिकाउन नखोज्ने अनि ज्ञान अरुलाई बाढ्नको लागि मोल मोलाई गर्नेहरु गुरु हुन सक्दैंनन् भन्ने मेरो ठम्म्याई हो । हुन त जमाना व्यवसायिक छ , व्यवसायिकतालाई बिर्सेर कतिपय कुरा गर्न अलिक असहज पनि होला तर पनि मेरो ज्ञान बाढे सकिन्छ भनेर भ्रम पाल्नेहरु गुरु बन्न सक्दैंनन् भन्ने मात्र कुरा हो मेरो ।
बिहानैं देखि फेसबुकका भित्ताहरुमा गुरुपुर्णीमाको महिमा र गुरु प्रतिको श्रद्धाभावहरु प्रकट भए । मैंले पनि आफ्ना मुर्तअमुर्त गुरुहरुलाई फेसबुकको वालबाटनैं श्रद्धाभाव प्रकट गरे । तर त्यतीले मात्र मेरो मन मानेन , गुरुहरुप्रति श्रद्धाभाव प्रकट गर्ने सबैंको आ आफ्नैं तरिका हुन्छ , मैंले दुईचार शब्द कोर्न जानेको छु अझ भनौं मेरा गुरुहरुले कोर्न सिकाएका छन् । त्यसैंले उहाहरुको सम्झनामा दुईचार शब्द कोर्ने प्रयास गरेको मात्र हुँ । हुन त समय मान्छेको सबैंभन्दा ठुलो गुरु हो , समयले मान्छेलाई धेरैं कुरा सिकाउछ , समयको गति संगैं मान्छेले आफुलाई निखार्दै लैजाने पनि गर्छ । तर यो अमुर्त हो , समयको गति संगैं आफुलाइ अगाडी बढाउन पनि केहि मुर्त गुरुहरुको आबश्यकता पर्दछ । त्यसैंले केहि त्यस्ता मेरा गुरुहरु जसले मेरो जिवनमा केहि न केहि परिवर्तन ल्याउन धेरैं कुरा सिकाएका छन् , एकैं छिन उनिहरुलाई सम्झन चाहान्छु ।
गोर्खा जिल्लाको उत्तरी गाउ तत्कालीन मसेल गाबिसको वाड नम्बर ६ मा म जन्मिएको हु । हाम्रो गाउँमा त्यतीबेला एउटा बिन्द्रावती माध्यमिक बिद्यालय भन्ने थियो र अहिले पनि छ । त्यती बेला हाम्रो गाउमा बोडिङ्ग स्कुलहरु थिएनन् । धेरैं टाढा घ्याम्पेसाल भन्ने ठाउमा एउटा बोडिङ्ग स्कुल थियो कि भन्ने लाग्छ तर विर्सिसके । बिन्द्रवतीमा म कक्षा चार सम्म पढेको हु । त्यती बेला हामीलाइ कखरा सिकाउने गुरुहरु मध्ये केहिको नाम मात्र सम्झन्छु धेरै भुलिसके , निमप्रसाद सर, महेन्द्र सर , रञ्जना म्याडम, अमृता म्याडम , नारायण सर आदी मात्रैं । ति मध्ये निम सरलाई बिषेष सम्झन्छु । बुढा दुव्ला थिए तर अग्ला ठ्याक्कै अहिले म जस्तैं । हामीलाई गणित पढाउथे , म पढ्नमा अव्वल नैं थिए , कि पहिलो कि दोस्रो हुन्थे कक्षामा , एउटैं कक्षामा हामी ६० जना पढ्थ्यौं । निम सर मलाई बिषेष ध्यान दिन्थे किन हो थाहा छैंन । एउटा हिसाव बिग्रियो भने बुढाले ढटाईहाल्थे । एक पटक एउटा हिसाब बिगारें मैले , बुढा रिसले आगो भए , मलाई बेन्च माथी उठ्न भनें , अनि कसेर झापड हाने निम सरले , म थचक्क बसें , तीन लोक एकै पटक देखेझै भयो । खुब दुख्यो ,त्यतिबेला खुबैं रिस उठ्यो ।
अहिले निम सरको त्यो झापड मेरा लागि बरदान सरह भएको छ । उनको त्यो झापड मेरा लागि मार्गदर्शक थिए । त्यसपछि मैले गणितमा सधै उत्कृष्ट नम्बर ल्याए , हिसाब बिग्रेर खाएको त्यो झापडले मलाई गणित बिषय प्रती लगाव बढ्यो । त्यस पछि कुनै दिन पनि मेरो हिसाब बिग्रीएन र मैले झापड खानु परेन । त्यसैको जगमा मैले एस एल सि र पछि कलेज लाईफमा पनि सधै गणितमा उत्कृष्ट नम्बर प्राप्त गरें ।
निमसरलाई कसैंले ठग्न सक्दैंनथ्यो , ठग्योकि थाहा पाईहाल्थे , धेरै मिहिनेत गरेर पढाउथे निम सर । निम सर संग भेट नभएको बर्शौ भईसक्यो, उहाँको बारेमा मलाई अहिले बर्तमान स्थिती के छ त्यो पनि थाहा छैन । अझ भन्ने हो भने मैंले सरलाई नचिन्ने र सरले मलाई नचिन्ने स्थितिमा छौं हामी । मसेल पुग्दा निम सरलाई भेट्न खोज्छु तर भेट्न सकेको छैन । उहाँको बारेमा अरु जानकारी पनि छैन । तर मेरो मानसपटलमा सधै निम सर एक श्रद्देय गुरुका रुपमा पुजनिय हुनुहुन्छ । मलाई अहिले लाग्छ निम सरले त्यो झापड नहानेको भए मेरो जिवनको रङ सायद अर्कै हुन्थ्यो ।
२०५१ सालमा मेरो परिवार चितवन आएपछि विन्द्रावती मावी मैले छाडे । तर त्यस स्कुलले म प्रति पुर्याएको योगदान र त्याहाका गुरुहरुको म प्रतिको योगदान कहिल्यैं भुल्ने छैंन ।
चितवन आएपछि पञ्चकन्या मा.वि जयमङ्गलामा मेरो पठनपाठन शुरु भयो , त्याहाका गुरुहरुको पनि सबैको नाम सम्झन सक्दिन, यसका लागि क्षमा चाहान्छु तर बालकृष्ण सर , कौशिला म्याडम, ईश्वरी सर , मेघनाथ सर आदीलाई भुल्दिन । बालकृष्ण सर हामीलाई अग्रेजी पढाउथे । बुढा कडा स्वभावका थिए र अहिले पनि छन् । बुढाले मलाइ अग्रेजीको ग्रामर यसरी घोकाएकी म अहिले पनि ग्रामरका नियमहरु सम्झदा बालकृष्ण सरकैं शैली फलो गर्छु । कक्षा सात सकेपछि म चितवन हाईस्कुल भरतपुरमा पढ्न आए । चितवन हाईस्कुलमा मलाई पढाउने सबैं गुरुहरुको नाम कण्ठ पनि छ र सबैंलाई चिन्छु पनि । उहाहरु संग अझैपनि नियमित भेटघाट र सम्पर्क भईराख्छ । अझै पनि भेट भएका बेला उहाँहरु सङ जीवन संचालनका कुशल तौरतरिका सिकिरहेकै हुन्छु , उहाँहरु पनि आफ्नो चेलालाई यो उमेर सम्म कुनै न कुनै तरिकाले सिकाउन पाउँदा खुशी नै देख्छु । बास्तोला सर , अच्युत सर , चिरन्जिवि सर , दिलिप सर , रेशम सर , ध्रुब सर , रामप्यारी म्याडम , वसन्त सर , हरिराज सर आदी सबैं जसले मलाई पढाए , आफ्नो अमुल्य ज्ञानको भण्डार बाढे र मलाई यहा सम्म ल्याईपुर्याउन अमुल्य योगदान दिए । यो गुरु पुर्णीमाको अबसरमा उहाहरु प्रति नमन गर्दे शिर झुकाएर श्रद्धाभाव अर्पण गर्न चाहान्छु ।
म अहिले जुन क्षेत्रमा काम गर्छुृ यहा सम्म आईपुग्न पनि मलाई थुप्रै अग्रज, सहकर्मी र अनुजहरुले साथ दिनुभएको छ , नजानेका कुराहरु सिकाउनुभएको छ । यो बखत उहाँहरुलाई बिर्सिय भने म स्वार्थी कहलिन्छु । आज २/४ पैसा यहि पेशामा रहेर कमाउन सकेको छु त्यो उहाँहरुकै देन हो । पत्रकारितामा मलाई दिनेश थपलिया ले धेरै कुरा सिकाएका छन् । उहाँको गुण कहिल्यै भुल्न सक्दिन । अहिले उहाँ जापान हुनुहुन्छ तर उहाँले सिकाएका कुराहरु मानसपटलमा अझै पनि छ्न् ।
खास गरि रेडियोको कुरा गर्दा मैले रेडियो हेटौंडामा सिकेको हुँ । त्यो भन्दा अघि म छापामा काम गर्थें । हेटौंडामा काम गर्ने शिलशिलामा त्याहाका अग्रज , सहकर्मी र अनुजहरु बाट धेरैं सिक्ने मौंका पाए । दिपक अधिकारी , कुमार अधिकारी , नरेन्द्र सापकोटा , नवराज खनाल , दर्शन क्षेत्री , जितेन्द्र पौंडेल ,बिमल , गोकुल , सरस्वती , सरला , ध्रुव , धिरज, मुस्कान आदी । मैंले त्याहा रहदा धेरै कुरा सिके , कति सिकाए तर सिक्दैं र सिकाउदैं गर्दा पनि आफुले आफुलाई यो क्षेत्रमा अब्वल बनाउने र खार्ने मौंका मैंले हेटौंडामा नैं पाएको हुँ । मैले ती सबै सहकर्मी हरुलाई कुनै न कुनै रुपमा गुरु मानेको छु ! आज म जहाँ छु त्यहा हेटौंडाको योगदान छ , यी साथिहरुको अहम् भुमिका छ । अझ बिशेश गरि जितेन्द्र पौडेल दाइ जसले मलाई रेडियो क्षेत्रमा ल्याय उनको गुण कहिले भुल्ने छैन । उनी नभएको भए सायद म अर्कै पेशामा पो हुन्थेकी !
मैंले केहि समय शिक्षक भएर काम गरे , अहिले पनि दर्जनौं स्थानमा तालिम दिदैं हिड्छु । खास गरि पत्रकारिता रिलेटेड तालिम, भाषणकला , उद्घोषण , लिडरसिप ट्रेनिङ्ग, क्यापासिटी बिल्डिङ , प्रपोजल र प्रतिवेदन लेखन युवा शशक्तीकरण तालिम लगायतको क्षेत्रमा म काम गर्छु । तर यसो भनिरहदा मैंले कहिल्यैं पनि आफुलाई पुर्ण ठानेको छैंन र अहिले सम्म सिकिरहेको छु । म कुनैं तालिमको कोठामा प्रशिक्षण दिन छिर्दा म सिकाउन होईन सिक्न आएको हु भनेर आफ्नो सेसन शुरु गर्छु अझैं पनि । साच्चै मलाई लाग्छ सिकाउँदै गर्दा धेरै कुरा सिकिन्छ । त्यसैंले मान्छेको जिवनमा गुरुको रुप अनेक हुदा रहेछन् । मान्छेले सिकेर कहिल्यैं सकिदो रहेनछ । फेरी एकपट सम्पुर्ण मुर्तर अमुर्त गुरुहरु प्रति नमन गर्न चाहे । जसले कुनै न कुनै रुपमा गुरु बनेर मेरो मार्ग कोरिदिनु भयो उहाँहरु प्रती एक पटक फेरि श्रद्धाले शिर निहुँराउदै नमन गर्दछु । अनि मलाई यति लेखिरहँदा फेरि लाग्छ , गुरुहरुको आफ्नो चेला प्रती कहिल्यै नकारात्मक चिन्तन हुँदैन , गुरुहरु आफ्ना चेला आफुभन्दा अब्बल भएको हेर्न चाहान्छन् । गुरुको वचन जहिले पनि अमृत समान हुन्छ । अझ कहिलेकाही गुरुले आफ्नो चेलाको उत्तम सुदुर भबिष्यका लागि हान्ने झापड त झन् अकाट्य सकारात्मक मार्गदर्शक हुन्छ । त्यसैले मलाई आज पनि निम सरको त्यो झापड प्रती प्रेम छ , सम्मान छ । मलाई फेरि पनि लाग्छ निम सरले त्यो झापड नहानेको भए ….
अस्तु !!
प्रकाशित : २०८१ साउन ६ गते ११:५५
Facebook Comment