सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्तामध्ये ४८ को अवस्था अझै अज्ञात

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन १ गते ८:३०
सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्तामध्ये ४८ को अवस्था अझै अज्ञात

सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका ६२ मध्ये १४ जनाको शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमबार नौ, आइतबार दुई र शनिबार तीन गरी १४ शव फेला परे पनि हालसम्म ६ जनाको मात्र सनाखत भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सातको पहिचान खुलेको छैन । उनका अनुसार भारतीय नागरिक २८ वर्षीय ऋषिपल साह, ३० वर्षीय जयप्रकाश ठाकुर, ३० वर्षीय सजाद अन्सारी, सर्लाहीका १९ वर्षीय रमित माझी, रौतहटका फिरोज राहुप मिया, चितवनका २२ वर्षका विकास परियार र सुदीप विकको शव मात्र पहिचान भएको हो ।

२८ असारमा चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा दुई बस त्रिशूली नदीमा खसेका थिए । तर, बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचेका थिए । बस भने अझै फेला परेको छैन ।

पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका यात्रुको शव पनि घटनास्थलबाट ९० किलोमिटर टाढा विनयी त्रिवेणी गाउँपालिका–७ मा रहेको ब्यारेज पुलआसपास भेटिन थालेका छन् । सोमबार भेटिएका नौमध्ये ६ शव ९० किलोमिटर टाढा भेटिएका हुन् भने बाँकी शव पनि घटनास्थलभन्दा कयौँ किलोमिटर टाढा भेटिएका हुन् । ब्यारेज पुलमा भेटिएका नौ शवमध्ये सुदीप विकको शव मात्र पहिचान भएको छ ।

टाढा पुगेर खोजिँदै यात्रु र बस 
बस खसेको स्थान सिमलतालमा सोमबार दिउँसो १ बजे  पुग्दा सुनसान थियो ।  प्रहरी÷प्रशासनले शव र बस घटना स्थलभन्दा तल रहेको अनुमान गरेर देवघाट, नारायणी किनार, गोलाघाट, सुस्ता, ब्यारेज पुल क्षेत्रमा खोजी तीव्र पारेका छन् । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालका अनुसार शव भेटिएका स्थानमा खोजी भइरहेको छ । ‘सुुरुका दिनमा घटनास्थल आसपासमा खोजेका थियौँ । शव ९० किलोमिटर टाढा भेटिन थालेपछि टाढाटाढा खोज्न थालेका हौँ,’ उनले भने । गत शुक्रबारभन्दा आजभोलि त्रिशूलीको बहाव घटेकाले शव पनि तैरिएको र बगरमा भेटिन थालेको उनले बताए ।

गोताखोर टोलीले वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामेरा, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुक (एन्कर) को प्रयोग गरेर बेपत्ता बस र यात्रु खोजिरहेको छ । किनारको वारि–पारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भएको छ । बेपत्ताका परिवार तथा आफन्तले भने आफ्ना मान्छे छिटो खोजिदिन प्रशासनलाई सामूहिक हारगुहार गरेका छन् ।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेकोे गणपति डिलक्सको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बर र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्सको बा.प्र ०३–००६ ख १५१६ नम्बरका बस शुक्रबार बिहान साढे ३ बजे सिमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा बेपत्ता भएका थिए ।

मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने मधेश सरकारको निर्णय
सिमलताल पहिरोमा ज्यान गुमाएकाका परिवारलाई मधेश प्रदेश सरकारले सहयोगको घोषणा गरेको छ । मधेश मन्त्रिपरिषद्को सोमबारको बैठकले सिमताल घटनामा परी ज्यान गुमाएका (मधेश प्रदेशका बासिन्दा) का परिवारलाई जनही एक लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय सरकारसँग घटनामा बेपत्ता भएकाको खोजबिनमा तीव्रता दिँदै मृतकका परिवारलाई आर्थिकसहितका सहयोग गर्न आग्रहसमेत गरेका छन् ।-नयाँ पत्रीकाबाट

प्रकाशित : २०८१ साउन १ गते ८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI