नवलपुरमा रातिदेखि नै भारी वर्षा, नदी आसपासको बस्तीमा सतर्क रहन प्रशासनको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार २३ गते ११:३६
नवलपुरमा रातिदेखि नै भारी वर्षा, नदी आसपासको बस्तीमा सतर्क रहन प्रशासनको आग्रह

कावासोती । नवलपुरमा विगत ५ दिनदेखि लगातार पानी परिरहेको छ भने गएरातिदेखि भारी बर्षा भएको छ ।

नवलपुरमा पछिल्लो २४ घण्टामा १०१ दशमलब ८ मिलिमिटर पानी परेको छ भने पछिल्लो पछिल्लो १ घण्टामा २५ दशमलब ४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागाको तथ्यांकमा उल्लेख गरिएको छ ।

नवलपुरमा रातिदेखि भारी बर्षा भएसँगै नवलपुरका कावासोतीको केरुङ्गे खोला, लोकाहा खोला, डण्डाको पत्थर खोला, गिरुवारी खोला, दलदलेको बौलाहा खोलाका साथै नारायणी नदीमा पानीको बहाब बढ्न थालेको छ ।

अहिलेसम्म जोखिम तह भन्दा तलै नदी तथा खोलामा पानीको सतह भए पनि यहाँ निरन्तर अहिलेकै अवस्थामा भारी बर्षा भईरहे नारायणी नदी लगायत खोलाहरुको सतह बढ्न गई बाढीको जोखिम रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार यो समाचार तयार पार्दासम्म नवलपुरमा अहिलेसम्म कुनै बाढी पहिरोका घटनाहरु भएको जानकारीमा आएको छैन ।

यसैबीच नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले नवलपुर पनि अहिलेको सक्रिय मनसुनमा उच्च जोखिममा परेको जिल्ला भएकोले सबैलाई सतर्क रहन आग्रह गरिएको बताए । उनका अनुसार विपद व्यवस्थापन समितिको वैठक केही दिन अघि बसी पालिका, रेडक्रस, प्रहरी लगायतका सुरक्षा निकायहरुलाई उच्च सर्तकताका साथ राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले नवलपुरमा बाढीको जोखिम रहेको भन्दै नदी तथा खोला आसपासका बस्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित : २०८१ असार २३ गते ११:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI