लघु कथा : “टियुको क्यानटिन”

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ ३१ गते ८:२७
लघु कथा : “टियुको क्यानटिन”

राजन पाण्डे

“टियुको क्यानटिन”

समय कति चाडो चिप्लिदो रहेछ । १३ वर्ष वितेको पत्तै नहुने । आज टियु आएं निर्जिव चिजहरु पनि समयको साक्षी जस्तै लाग्ने रहेछ ।कक्षा कोठा, वाटो, घर, मन्दिर, क्नटिन तथा सबै चिजहरु आफ्नो उमेर र त्यस अवस्थाको परिवेषका जिउंदा साक्षी जस्तो लाग्ने रहेछ । मेरा दुख, साधना र संघर्षका साथी जस्तो लाग्ने रहेछ। तिनिहरुले पनि आँफुलाई चिन्छन होला जस्तो लाग्दो रहेछ । भित्ताहरुले पनि नाम काढेर बोलाउँछन् जस्तो लाग्ने । म बसेका डेक्स वेन्चहरुले ” राजन …..ठिकै छस् नि” भने जस्तो लागेर अनायासै कान थापेर सुन्न पुगेछु ….। नजानिने गरि आँसुले परेली भाजाएछ । सायद यो नै यादहरुको तागत होला ।

मन र मस्तिष्क आधा वर्तमानमा आधा विगतमा बाँडिएको थियो । स्क्रयाच भएको सिडी जस्तै केही टिप्ने केही नटिप्ने यादहरु धुईरो बनेर आए ।
वालुवामा कछुवा घिस्रे जस्तै गतिमा टियु शिक्षा संकायको भवनहरु, भवनका भित्ताहरु, भित्ताका रंगहरु, भुँई, रुखबुटाहरु, र टियुलाई ओढाएर बस्ने आकाश हेर्दै क्यानटिन सम्म पुगेछु ।

त्यहाँ पढ्ने बखत आमाले घरबाट पठाई दिएको भुटेको मकै, चिउरा र सातु नै मुख्य खाजा हुन्थ्यो मेरो । निर्वाह गरेेर चल्नु पर्ने भएर पनि होला क्यनटिनको खाजा मौकाले खाईन्थ्यो ।

कता कता मनले भन्दै थियो आज ढुक्कले खाजा खान सक्ने भएर आएकोछु । सेल, दही र तरकारी अडर गरें । छेवैमा दुई जना भईहरु पकौडा खाँदै बोल्दै थिए ।

एउटा भाईले मलिन श्वरमा भने मलाई त साह्रै तनाव छ यार बाले मलेसियामा कम्पनी राम्रो नपरेर फर्किने कुरा छ । अब बा नेपाल आए पछि बाको उमेरले पनि विदेश जान नमिल्ने हुनाले बहिनिलाई पढाउने अब तेरो जिम्मा भन्नुभाको छ । आफ्नै हालत यस्तो छ । जे जसरी पनि जागिर खोज्नुछ । भाग्यले साथ दिए लोकसेवा पनि अझै दिन मन छ । बरु खरिदार भएनि हुनुछ ।

अर्को भाईले पनि अघिल्लोको कुरा सक्दा नसकिदै थपे । म पनि तनावमा छु यार । गर्लफ्रेण्डको घरवाट विहे गर्न दवाव दिएका छन् अरे । उसले विहे गरम नत्र अब म कुर्न सक्दिन भन्छे । म घरवाट खर्च पठाएर चलेको अवस्थामा छु । गर्ने के ,… नगर्ने के …।

मैले ती भाईहरुको कुरा सुन्दा सुन्दै खाजा खाई सकेछु । ती भाईहरुका कुराले मन भारी भयो । देशमा रोजगारीको अवसर हुँदो हो त ती भाइ जस्ता भेरै भाईहरुले भोगेका यी र यस्तै समस्या समाधानका लागि युवा किन तनाव व्यहोर्न पर्थ्यो । किन युवा पलायन हुन्थे ।
टुयु …..यदि तिमि सक्छौ भने काम पनि दिन सक्ने गरि आफुलाई पुन संरचना गर न है ।

प्रकाशित : २०८१ जेठ ३१ गते ८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI