सन्जय भट्टराई, कावासोती । नारायणघाट बुटवल सडकखण्डमा पर्ने नवलपुरको दलदले बजारबाट २२ किलोमीटर उत्तरमा रहेको बुलिङ्गटार गाउँपालिकाको वडा नं ४ मा पर्ने देवचुली चुलीबोझा मगर सामुदायिक होमस्टे यहाँको रैथाने खाना र मगर कला संस्कृती र मनोरम दृष्य अवलोकनका कारण आन्तरिक र बाहय पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ ।
२०७५ सालमा स्थापना भएको यो होमस्टेलाई विषेश गरेर महाभारत पर्वत शृङ्खलाको अग्लो पहाड देवचुली डाँडा, चुली बोझा गाँउको नाम र मगर समुदायलाई जोडेर देवचुली चुलीबोझा मगर सामुदायिक होमस्टे पहिचान दिइएको छ ।
मगर समुदायको कला संस्कृतिसँगै, स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूबाटै बनेका खानाका परिकार कोदोको ढिँडो, सिस्नुको अचार, लोकल कुखुराको स्वादका लागि मात्रै नभएर देवचुली डाँडामा पदयात्रा गर्न जाने पर्यटक, तराइबाट गर्मी छल्न आउनेहरुका लागी यो होमस्टे उत्कृष्ट गन्तब्य बन्दै गएको हो ।
स्थापना गरिएको केही वर्ष खासै चर्चामा आउन नसकेको भए पनि पछिल्लो समय आन्तरिक तथा बाहय पर्यटकहरुको गन्तब्य बन्दै गए पछि सामुदायिकरुपमा होमस्टे सन्चालन गर्दै आएका स्थानीयहरु पनि खुसी छ्न ।
चुली बोझामा अहिले १३ घरमा होमस्टे सन्चालन हुँदै आएको र दैनिक ५० देखि ६० जना सम्म पर्यटकलाई सेवा दिन सकिने देवचुली चुलीबोझा मगर सामुदायिक होमस्टेका सचिब हेमलाल बराल बताउछ्न । चुलीबोझामै उत्पादन भएका स्थानीय उत्पादनबाट बनेका परिकारको स्वाद र मगर समुदायको मौलिक संस्कृति अवलोकन गर्न पर्यटकहरु आउने गरेको सचिब बरालले बताए । उनका अनुसार अहिले दैनिक रुपमा एक दर्जन देखि ५०/६० जना सम्म पर्यटक आउने गरेका छ्न ।
छिमेकी जिल्ला चितवन, पश्चिम नवलपरासी, रुपन्देही सहित देशका विभिन्न भागबाट आउने पर्यटकहरुले स्थानीय रैथाने खाना, मगर कला संस्कृति मात्रै नभएर १९३६ मिटर अग्लो देवचुली डाँडाको पदयात्रा, वरचुली डाँडा, उत्तरतर्फ धौलागिरी, माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृष्य, धौवादीको फलामखानीको डाँडासमेतको दृष्य अवलोकन अवसर पाउने सचिब बरालले बताए ।
नवलपुर क्षेत्रमा होमस्टे खुल्नेक्रम बढेसँगै यहाँका मगर समुदायले पनि आफ्नो संस्कृति र खानाका परिकार पर्यटकको रोजाइमा पार्न २०७५ बाट होमस्टे सञ्चालन गरेका हुन । होमस्टे आएका पर्यटकबाट हुने आम्दानीको १० प्रतिशत समूहमा राखिन्छ । समूहमा रहेको रकम होमस्टेको प्रवर्द्धन तथा सामाजिक काममा प्रयोग हुँदै आएको छ । नवलपुरमा थारु, मगर, गुरुङ दराई, बोटे जातिको होमस्टे सञ्चालनमा रहेका छन् ।
प्रकाशित : २०८१ जेठ १५ गते १३:२१
Facebook Comment