रामग्राम जेसीजद्धारा साईबर सुरक्षा सम्बन्धी सचेतना प्रशिक्षण

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत ६ गते १४:५५
रामग्राम जेसीजद्धारा साईबर सुरक्षा सम्बन्धी सचेतना प्रशिक्षण

परासी, ६ चैत । साईबर अपराध न्यूनीकरण गर्न रामग्राम जेसीजले पश्चिम नवलपरासीमा विद्यार्थी केन्द्रीत साईबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । रामग्राम जेसीजले आज रामग्राम नगरपालिका वडा नं.१५ स्थित जनता माध्यमिक विद्यालय शुक्रौलीमा कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई साईबर सुरक्षाको विषयमा प्रशिक्षण दिएको हो ।

विशेषगरी सामाजिक सञ्जाल फेसबुक लगायतका माध्यमबाट साईबर अपराधका घटनाहरु बढिरहेको र त्यस्ता घटनालाई सामान्य रुपमा लिँदा समस्या बढिरहेकोले साईबर अपराध न्यूनीकरण गर्न विद्यार्थी केन्द्रीय सचेतना कार्यक्रम गरिएको रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले बताउनुभयो ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै फेसबुक, म्यासेन्जरबाट गालीगलौज, डर धम्की, सेक्सुयल हसमेन्ट,राम्रो सम्बन्ध रहँदा गोप्य च्याट गर्ने र सम्बन्ध विग्रिएपछि बाहिर ल्याईदिने, व्यालकमेलिङ गर्ने जस्ता घटनाबाट विशेषतः किशोरकिशोरीहरुलाई जोगाउन यस किसिमको सचेतना कार्यक्रम आवश्यक रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले विद्युतीय माध्यमबाट हुने अपराधबाट बच्न आग्रह गर्नुभयो । प्रविधि र सामाजिक सञ्जालको प्रयोग गर्दा सावधानी पूर्वक सजग र सतर्क भएर चलाउन प्रजिअ पन्थीले आग्रह गर्नुभयो ।

सामाजिक सञ्जालको दुरुपयोग गरि विभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको अनुहार जोडी अनलाईन प्रविधि राख्ने, अश्लिल फोटो तथा भिडियो सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्ने,अन्य व्यक्तिको सामाजिक सञ्जाल प्रयोग गरि फिरौती माग्ने,अन्य व्यक्तिको नाम तथा फोटो प्रयोग गरेर बेईज्जत गर्ने तथा दुःख दिने, ह्याक गर्ने, अनलाईन ठगी गर्ने जस्ता क्रियाकलाप साईबर अपराध भित्र पर्ने भन्दै प्रजिअ पन्थीले यस किसिमका गतिविधिहरुमा जानेर वा नजानेर परेमा तत्काल सुरक्षानिकायमा खवर गर्न जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पछिल्लो समय साईबर अपराध डरलाग्दो गरि बढिरहेकोले सामाजिक सञ्जालको सुरक्षित प्रयोगमा ध्यान दिन आग्रह गर्नुभयो । नवलपरासी जिल्लामा सामाजिक सञ्जालकै कारण प्रत्येक दुई दिनमा एक जनाको दरले व्यक्तिहरुले आत्महत्या गर्ने गरेको उल्लेख गर्दै यो आर्थिक वर्षमा मात्रै साईबर अपराधका ९६ उजुरी जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको जानकारी दिनुभयो ।

साईबर अपराध सम्बन्धी मुद्धा यसअघि काठमाडौँमा मात्र दर्ता गर्ने प्रावधान भएपनि अहिले जिल्ला प्रहरी कार्यालयले पनि त्यस्ता मुद्धा दर्ता गर्न सकिने एसपी आचार्यले जानकारी दिनुभयो । आफ्नो सामाजिक सञ्जाल अन्य व्यक्तिलाई प्रयोग गर्न दिन नहुने भन्दै एसपी आचार्यले अभिभावकले पनि आफ्ना छोराछोरीले चलाउने सामाजिक सञ्जालको निगरानी गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।

रामग्राम १५ का वडा अध्यक्ष धनपत यादवले किशोर अवस्था संवेदनशील अवस्था रहेकोले यस उमेरमा सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत भएर मात्र गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साईबर सुरक्षाको विषयमा रामग्राम जेसीजले समुदायमा यस किसिमको सचेतना कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने आग्रह गर्नुभयो । वडा अध्यक्ष यादवले सामाजिक सञ्जालको दुरुपयोग नगरी सदुपयोग गर्न र ज्ञानबद्र्धक कुरा सिक्न आग्रह गर्नुभयो ।

नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरीले सामाजिक सञ्जालको बढ्दो प्रभाव र यसको उपयोग भन्दा दुरुपयोग हुँदै गएकोले जेसीजले यस किसिमको सचेतना अभियान चलाएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरिक्षक प्रकाश भुसालले साईबर अपराधको अवस्था, सामाजिक सञ्जालको सुरक्षित प्रयोग,कानूनी व्यवस्था, सामाजिक उत्तरदायित्व र नागरिकको कर्तव्य, साईबर अपराधबाट बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका उपाध्यक्ष एवं कार्यक्रम संयोजक उमेश कोँहारको स्वागत,सदस्यता बृद्धि निर्देशक जगदीश कोँहारको आस्था पाठ र महासचिव मुकेश नारायण लोनियाको सञ्चालन रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादव, प्रधानाध्यापक चन्द्रमणि लम्साल, रामग्राम जेसीजका निवर्तमान अध्यक्ष बेनीमाधव बस्याल लगायतको पनि सहभागिता थियो ।

प्रकाशित : २०८० चैत ६ गते १४:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI