घनश्याम बगाले, कावासोती । पूर्व फर्केको शितलपुरको पाखो, त्यसै माथि महाभारत पहाडको चट्टानी चुचुरो र तलको भिरालो जमिनमा फैलिएको अम्रिसो घारी साच्चिकै मनमोहक देखिन्छ । यस्तै नवलपुरका पहाडी गाउँ बस्तीका अधिकांश पाखा पखेरामा लहलहाउने अम्रिसो स्थानीयको आय आर्जनको वैकल्पिक पाटो बनेको छ । शितलपुरकै डांडो ढाकेर अम्रिसो मौलाए पछि बौदिकाली–४ कुवाकोटबासीले दिगो आम्दानी लागि यही एक व्यवस्थित भण्डार गृह बनाउने योजना अघि सारेको वडाध्यक्ष मन बहादुर सारू बताउछन । साथै शितलपुरको कबुलियती वन क्षेत्रलाई हरियाली पार्क तथा पिकनिक स्पटको रूपमा विकास गरेकाछन् । आफ्ना बारी कान्ला खोस्रेर वर्ष भरिको खर्चपानी जुटाउन हम्मे परेका विपन्न परिवारका लागि त कबुलियती वनको अमृसो खेती आम्दानीको उत्तम विकल्प बनेको स्थानीयहरू बताउँछन् ।
यस वर्ष कुचोका लागि अम्रिसाको फूल टिपेर सुकाउने तथा बिक्रीका लागि संकलन गर्ने कार्य अन्तिम चरणमा पुगेको हुप्सेकोट ५ कबुलियती वन समूह अध्यक्ष यमबहादुर बाह्रघरेले बताए । समुदायको अतिरिक्त आम्दानीको स्रोत अम्रिसो बजार पठाउनु अघि सुरक्षित राख्न डिभिजन वन कार्यालय नवलपुरले भण्डार गृह बनाउन पनि सहयोग गर्दै आएको छ । अघिल्ला वर्षमा एउटै परिवारले अम्रिसोबाट वार्षिक एक देखि सवा लाख सम्म आम्दानी लिएको स्थानीयको भनाई रहेको छ ।
कबुलियती वन जिल्ला सुपरभाइजर तुल बहादुर रानाका अनुसार अम्रिसो बिक्रीबाट गत वर्ष जिल्लामा ३ करोड १८ लाख ५६ हजार बढी रकम भित्रिएको छ । यस वर्ष भने अम्रिसोले बजार भाउ नपाएकोमा भने राम्चेका किसान आश बहादुर मगरको गुनासो रहेको छ ।अघि अघि किलोकै १ सय ५० रूपैयाँ माथि पुगेको अम्रिसो यस पटक ६० रूपैयाँमा झरेको बताईन्छ । त्यसो त अम्रिसोले विपन्न किसानलाई दोहोरो फाईदा दिएको छ, कुचो बेचेर आय आर्जन तथा वस्तु भाउका लागि घासपात पनि भएको छ ।
डिभिजन वन कार्यालय नवलपरासी पूर्वका प्रमुख वसन्त केशव अधिकारी ठूला रूखपात नभएका निम्छरा डाँडा पाखालाई कवुलियती वनमा बिकास गरिएको बताउछन । कबुलियती वनले स्थानीयको आमदानी बढाउनुका साथै भिराला जमिनका साना तिना भूक्षयलाई रोक्ने काम गरेको अधिकारीको भनाई छ ।
जिल्लाका अधिकांश वनका रूखपात सुकेर डाँडै उजाड भई सक्दा यहाँका कबुलियती वनमा चैतको पहिलो साता सम्म हरियाली कायमै छ । सुपरभाईजर थापाका अनुसार स्थानीय निकाय हुप्सेकोटमा ५७, मध्यविन्दुमा २९ बिनयी त्रिवेणीमा ३ बौदिकालीमा २१ बुलिङ्गटारमा २७ देवचुलीमा ३ र गैडाकोटमा २१ कबुलियती वन समूूह रहेकाछन् ।
जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जीविकोपार्जनका लागि अमृसो,तेजपत्ता,अलैँची तथा कुरिलो खेतीलाई जिल्ला वनले आर्थिक तथा प्राबिधिक सहयोग दिदै आएको वन अधिकृत शिशिर लम्सालले बताउनु भयो । डिभिजन वनले स्थानीयको आय आर्जनका लागि समूह,समूह बनाई हरेक १० वर्षमा नविकरण गर्ने गरि कबुलियती वन समुदायलाई दिने गरेको छ ।
अम्रिसो बिक्रीबाट हुने आम्दानी अम्रिसो रोप्दा, गोडमेल गर्दा, सुकाउदा सम्मको काममा ब्यक्तिको सहभागिताका आधारमा गाउँले बीच बांडफाड गर्ने चलन छ । बहुवर्षीय घांसे बुट्यान अम्रिसोमा रोग किराको खासै प्रकोप नहुने भए पनि मुसा नियन्त्रणका लागि वर्षमा एक पटक समूहकै रेखदेखमा हल्का आगो लगाई माटाकोे उपचार गर्ने गरिन्छ ।
हरेकको घर आंगन सफा गर्न नभई नहुने कुचो अम्रिसोबाटै बन्ने हुंदा यसको बजारमा उच्च माग रहेको छ । विशेष गरि मध्य पुषमा छिप्पिने अम्रिसो बोटबाट थुते पछि सुकाउनु पर्ने पांग्रे गाउकी कविता राना वताउ छिन । सुकाएर तयार भएको अम्रिसो गाउँकै सामुदायिक भण्डार गृहमा राखेर ब्यापारीहरूको माग अनुसार बेच्ने गरिएको छ । अम्रिसो लिन झ्यालबास, दलदले,कावासोती लगायत पोखरा,काठमाडौं सम्मका व्यापारी पहाडै आउने गरेको बताईन्छ ।राम्रोसंग सुकेको १ किलो अम्रिसोबाट ३ ओटा सम्म कुचो तयार हुने ब्यापारीहरू बताउछन् ।
महाभारत तथा शिवालिक क्षेत्रमा गरिने अम्रिसो खेतीमा सुरूमा रिम्स परियोजनाको साथ रहेता पनि बिगत केही वर्ष देखि डिभिजन वन कार्यालय पूर्वी नवलपरासीले रेखदेख गर्दै आएको छ ।
प्रकाशित : २०८० चैत ५ गते ७:४७
Facebook Comment