कावासोती । पछिल्ला तीन वर्षमा एकदिवसीय क्रिकेटमा व्यस्त रहेको नेपालले छोटो समयको अन्तरमा आफूलाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय संरचनामा ढाल्नुपर्नेछ । नेपालले छोटो समयको अन्तरमा एसियाली खेलकुद र निकै महत्त्वपूर्ण रहेको ट्वान्टी–२० विश्वकप छनोट खेल्दै छ ।
पाकिस्तान र श्रीलंकामा एसिया कप क्रिकेटमा प्रतिस्पर्धा गरेको नेपाली टिम दुई सातालगत्तै ट्वान्टी–२० संरचनामा खेल्न गइरहेको छ । एसियाली खेलकुद सेप्टेम्बर २३ देखि सुरु हुँदै छ । अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपका लागि एसिया छनोट नोभेम्बर १ देखि १० सम्म नेपालमै आयोजना हुनेछ ।
तीन वर्षअघि सुरु भएको विश्व क्रिकेट लिग २ यता नेपालले ५० भन्दा बढी खेल खेलिसकेको छ । यस अवधिमा भारतसँगको खेल नेपालको ५३ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो । कोभिड– १९ बाट प्रभावित लिग २ मा मात्र नेपालले ३६ खेल खेलेको थियो । जबकि विश्व नम्बर एक पाकिस्तानले यो अवधिमा ३३ एकदिवसीयमात्र खेलेको छ ।
एकदिवसीय क्रिकेटमा नेपालले आफूलाई स्थापित गर्दै भारत र पाकिस्तानसँग खेल्न योग्य भएको थियो । लिग २ मा पछिल्ला १२ मध्ये ११ खेल जितेर विश्वकप छनोटमा पुगेको नेपालले त्यसपछि घरेलु मैदानमा भएको एसीसी इमर्जिङ कप जित्दै पहिलो पटक एसिया कपमा छनोट भएको थियो । एकदिवसीय क्रिकेटमा जमिरहेको बेलामा नेपालले अब लगातार रूपमा ट्वान्टी–२० खेल्न लागेको हो । तर, ट्वान्टी–२० मा ढल्न खासै फरक नपर्ने नेपालका कप्तान रोहित पौडेल बताउँछन् ।
‘व्यावसायिक खेलाडी तुरुन्तै एउटा संरचनाबाट अर्को संरचनामा ढल्न सक्नुपर्छ, किनभने खेलाडीसँग त्यति पर्याप्त समय हुँदैन । त्यसैले हामीलाई एकदिवसीयबाट
ट्वान्टी–२० संरचनामा कसरी ढल्ने भनेर थाहा छ,’ एसिया कपमा भारतसँग सोमबार क्यान्डीमा ब्याटिङमा नेपालको दमदार प्रदर्शन गरेपछि रोहितले भने, ‘एसियाली खेलकुद आउन हामीसँग १५ दिन जति बाँकी छ, त्यतिबेलासम्म हामी ट्वान्टी–२० शैलीमा आइसकेका हुन्छौं ।’
चीनको हाङ्झाउमा हुने एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा सहभागिता जनाउने छ । नेपालले समूह चरणमा जापान र कम्बोडियाको समूहमा छ । सेप्टेम्बर २९ मा जापान र अक्टोबर १ मा कम्बोडियासँग खेल्ने छ । नेपाललाई समूह चरण पार गर्न खासै ठूलो चुनौती देखिँदैन ।
नेपालले स्वाभाविक विजय हात पारेमा क्वाटरफाइनलमा पुनः एक पटक टेस्ट राष्ट्रसँग खेल्नुपर्नेछ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानमध्ये एक नेपालको प्रतिस्पर्धी हुनेछ । भारतमा अर्को महिना हुने विश्वकपको तयारीमा व्यस्त रहने हुनाले यी टेस्ट राष्ट्रले कसैले पनि पूर्ण टिम पठाएका छैनन् । तर, नेपाललाई त्यही टोली पनि कठिन चुनौती हुने पक्का छ ।
सन् २०१० मा चीनमै भएको प्रतियोगिताबाट एसियाली खेलकुदमा क्रिकेटले प्रवेश पाएको थियो । भारत पहिलोपल्ट एसियाली खेलकुदमा खेल्दै छ । पाकिस्तानले सन् २०१४ मा पछिल्लो पटक दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेको थिएन ।
नेपालसहित यूएई, ओमान, हङकङ, मलेसिया, सिंगापुर, बहराइनसहित १० राष्ट्र सहभागी ट्वान्टी–२० छनोटको फाइनलमा पुग्ने दुई टोली ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् । घरेलु मैदानमा एसीसी प्रिमियर कप जितेर पहिलोपल्ट एसिया कपमा पुगेको नेपालसामु पुनः एकपल्ट कीर्तिपुरबाटै ट्वान्टी–२० विश्वकपमा पुग्ने आशा छ । नेपाललाई ट्वान्टी–२० विश्वकप पुग्नसक्ने दाबेदार राष्ट्रको रूपमा हेरिएको छ । तर, नेपाली टोली ट्वान्टी–२० संरचनामा ढल्न बाँकी रहेको छ ।
गत वर्ष अगस्टमा नैरोबीमा केन्यासँग ५ खेलको शृंखला खेलेयता नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको छैन । घरेलु क्रिकेटमा पनि ट्वान्टी–२० क्रिकेट नखेलेको धेरै भइसकेको छ । जनवरीमा विवादास्पद नेपाल टी– २० लिग भएयता नेपाली खेलाडीले ट्वान्टी–२० संरचनामा घरेलु प्रतियोगिता खेल्न पाएका छैनन् ।
विश्वकप छनोटमा वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्डजस्ता टोलीसँग खेलेपछि नेपालले एसिया कपमा खेल्न सजिलो भएको नेपालका पूर्व अलराउन्डर शक्ति गौचनको तर्क छ । एसिया कप हेर्न क्यान्डी आएका उनले भने, ‘एसियाली खेलकुदले नेपाललाई ट्वान्टी–२० विश्वकप छनोटको तयारी गर्न राम्रो सहयोग गर्नेछ । एसियाडमा नकआउट चरण पुगेपछि अलिकति राम्रो खेले नेपालको पदक जित्ने सम्भावना छ, तर नेपालले ट्वान्टी–२० विश्वकप छनोटका लागि पनि त्यहीअनुसारको टिमको आधार बनाउनुपर्छ ।’
उनले थपे, ‘एकदिवसीयबाट ट्वान्टी–२० संरचनामा खेल्दा खासै गाह्रो हुँदैन । तर ट्वान्टी–२० बाट एकदिवसीय खेल्दा भने निकै गाह्रो हुन्छ । एकदिवसीयले खेलाडीको फिटनेस जाँचेर राखेको हुन्छ । ट्वान्टी–२० छोटो समयको खेल हो, त्यहीअनुरुप तयारी गरे पुग्छ ।’
नेपालले जसरी एकदिवसीयमा खेलेर आफूलाई स्थापित गरेको छ, त्यहीअनुरुप ट्वान्टी–२० विश्वकप छनोट भएर एसोसिएट राष्ट्रमा प्रभुत्व जमाउने समय आएको गौचनले देखेका छन् । एसिया कप जस्तै २०१४ को ट्वान्टी–२० विश्वकप खेल्नु नेपाली क्रिकेटको अर्को सफलता थियो, तर त्यसयता नेपालले अर्को ट्वान्टी– २० विश्वकप खेलेको छैन ।
प्रकाशित : २०८० भदौ २० गते १०:२८
Facebook Comment