तीन दशकदेखिको सपना : एसिया कपमा पाकिस्तानसँग खेल्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ १३ गते ६:५१
तीन दशकदेखिको सपना : एसिया कपमा पाकिस्तानसँग खेल्दै नेपाल

कावासोती  । एसिया कप क्रिकेट अनि भारत र पाकिस्तानसँगको खेल रोहित पौडेल र उनको टिम मात्र नभई नेपाली क्रिकेटले २७ वर्षदेखि देखेको एउटा सपना हो । पाकिस्तानसँग बुधबार मुल्तान क्रिकेट रंगशालामा खेलेर नेपालले झन्डै तीन दशकदेखिको त्यो सपना पूरा गर्दै छ ।

सन् १९९६ मा नेपालले मलेसियामा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको हिसाबमा एसीसी ट्रफी खेलेको थियो । यो प्रतियोगिता पनि एसिया कप छनोटको आधार थियो ।

प्रत्येक दुई वर्षमा हुने एसीसी ट्रफी र नयाँ स्वरूपमा आएको प्रिमियर कपमा नेपालले सफलता कहिल्यै हात पार्न सकेन र एसिया कप खेल्न झन्डै तीन दशक लाग्यो । सन् २००२ को एसीसी ट्रफीमा फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भए पनि कारगिल युद्धसँगै भारत र पाकिस्तानबीच तनाव बढ्दा एसिया कप नै स्थगित हुन पुगेको थियो । अहिले पनि भारत र पाकिस्तानबीचको उस्तै तनाव छिचोल्दै नेपाल एसिया कप खेल्न कराँची हँॅदै मुल्तान आइपुगेको छ ।

एसिया कपमा पुगेपछि नेपाली टोलीबाट धेरै अपेक्षा राखिएको जनाउँदै कप्तान रोहित पौडेलले मुल्तान क्रिकेट रंगशालामा मंगलबार पत्रकार सम्मेलनमा भने, ‘सबै नेपालीले एसिया कपलाई लिएर सपना देखिरहेका थिए । नेपालले साढे दुई दशकभन्दा बढी समयदेखि खेल्दै आएको छ । एसिया कप हामी सबैको सपना थियो, एसिया कप जस्तो माथिल्लो स्तरमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो अवसर हो ।’ सोमपाल कामी भने नेपाली क्रिकेटको विश्वकप र एसिया कप खेल्ने दुवै पुस्तालाई प्रतिनिधित्व गर्नेछन् । ट्वान्टी–२० विश्वकपमा प्रतिघण्टा १ सय ४० को गतिमा बल फालेर चर्चामा आएका सोमपालका लागि एसिया कप एक हिसाबले एकदिवसीय अन्तर्राष्ट्रियमा यो पुनरागमनजस्तै हुनेछ ।

जुनमा जिम्बावेमा भएको विश्वकप छनोटको सुरुआती खेलमा औंलामा चोट लाग्दा उनले प्रतियोगिताका थप खेल्न सकेका थिएनन् । जुलाईमा श्रीलंकामा भएको इमर्जिङ नेसन्स एसिया कपमा उनले नै बनाएको ७५ रनमा नेपालले पाकिस्तान ‘ए’ विरुद्ध ३७ ओभर खेल्दै १ सय ७९ रन बनाउन सकेको थियो । नवौं नम्बरमा ब्याटिङ गर्दै १ सय १ बल खेली ९ चौका र २ छक्का प्रहार गरेका उनले बलिङमा भने ५ ओभरमा २९ रन खर्चेर कुनै विकेट लिन सकेका थिएनन् ।

नेपालको तीव्र बलिङमा सोमपालसँगै करण केसी र गुलसन झामाथि ठूलो विश्वास गरिएको छ । इमर्जिङ एसिया कपमा पाकिस्तान ‘ए’ सँगै धर्मराएको नेपाली ब्याटिङलाई तीव्र गतिको प्रभावकारी बलर रहेको पाकिस्तानलाई झेल्नु त्यति सहज हुने छैन । साहिन शाह अफ्रिदी, नसिम शाह, हरिस राउफ पाकिस्तानी टोलीमा रहेका प्रमुख तीन बलर हुन् । नेपालविरुद्ध इमर्जिङ नेसन्स कपमा ४ विकेट लिएका मोहम्मद वासिम आफ्नो मौका कुरेर बसिरहेका छन् । पाकिस्तान अहिले उत्कृष्ट लयमा छ र हालै मात्र टोली एकदिवसीय विश्व वरीयतामा शीर्ष स्थानमा पुगेको थियो । विश्व नम्बर एक ब्याटर बाबर आजम, इमाम उल हक लगायतका खेलाडीले पाकिस्तान कसरी विश्व नम्बर एक टोली भयो भन्ने पुष्टि गर्छ । श्रीलंकामा अफगानिस्तानमाथिको तीन खेलको एकदिवसीय शृंखला क्लिन स्विप गरेको आएको पाकिस्तान आफ्नो खेलमा केन्द्रित छ र यसलाई विश्वकपसम्म डोर्‍याउन चाहन्छ ।

नेपाललाई सजिलो प्रतिद्वन्द्वी मान्न पाकिस्तानका कप्तान बाबर आजमले ठाडै अस्वीकार गरेका छन् । ‘क्रिकेटमा कुनै पनि टोलीलाई न सजिलो लिन सकिन्छ न केही निश्चित हुन्छ । जब दुई टोलीहरू खेलिरहेको हुन्छ, पूरा तयारी र रणनीतिका साथ आएको हुन्छ । मैले सिकेको क्रिकेटमा जोसुकै प्रतिद्वन्द्वी होस् त्यो टोलीलाई सजिलो लिनु हुँदैन,’ पाकिस्तानी सञ्चारमाध्यमहरूद्वारा घेरिएका उनले भने, ‘हामीले पनि उनीहरूको शक्ति र कमजोरी के छ हेरिरहेका छौं । नेपालले पनि राम्रो खेल्दै आएको छ, हामी उनीहरूलाई सजिलो लिँदैनौं ।’

प्रतियोगितामा पाकिस्तानको यो पहिलो खेल हो । त्यसैले पनि महत्त्वपूर्ण भएकाले राम्रो सुरुआत गर्न पाकिस्तान आत्तुर रहेको आजमले जनाए । विश्व एकदिवसीय वरीयतामा नेपाल १५ औं स्थानमा छ । कप्तान रोहित पनि पत्रकार सम्मेलनमा निकै आत्मविश्वासी देखिएका थिए । नेपालले बुधबार पाकिस्तानसँग खेलेपछि सोमबार श्रीलंका गएर क्यान्डीमा भारतविरुद्ध खेल्ने छ ।

‘हामी पहिलो पटक एसिया कप खेलिरहेका छौं, यो हामी सबैका लागि ठूलो सफलता हो । नेपालका लागि यो ठूलो अवसर हो किनभने पाकिस्तान धेरै राम्रो टोली हो । हामी पाकिस्तान र भारत दुवैलाई प्रतिस्पर्धात्मक खेल दिन चाहन्छौं । मलाई लाग्छ, हामी यहाँ योग्य भएर नै आएका हौं,’ पाकिस्तान र नेपालबीचको फरक के हो भन्ने प्रश्नमा रोहितले भने, ‘दुई टोलीबीचको फरक भनेको अनुभव हो, स्किलका हिसाबले हेर्ने भने दुवै टोलीका खेलाडीहरू समान छन् । पाकिस्तानी अनुभवी टोली हो ।’ रोहितसहित उनको टोली सेन्टर विकेट पछाडि अभ्यास गरिरहँदा त्यसैको केही अगाडि नेपालका भारतीय प्रशिक्षक मोन्टी देसाई खाली खुट्टामा सूर्य नमस्कार गर्दै योगा गरिरहेका थिए । उनको ‘ह्याप्पी ड्रेसिङरुम र वान बल ब्याटल’ ले पछिल्लो ६ महिनामा नेपाली क्रिकेटमा ठूलो परिवर्तन ल्याएको छ । विश्वकप लिग २ का अन्तिम १२ मध्येको ११ खेल जित्दै नेपालले एकदिवसीय मान्यतालाई कायम राखी विश्वकप छनोटमा पुगेको थियो ।

सायद यही कारणले मनोबल निकै बढेकाले पनि हुन सक्छ पाकिस्तान र नेपालबीचमा खासै भिन्नता देखिरहेका थिएनन् । ‘दुवै टोलीसँग स्तरीय ब्याटर र बलर छन् । हाम्रो उद्देश्य भनेको ‘वान बल ब्याटल’ नै हो । प्रतिद्वन्द्वी जोसुकै होस्, एउटा एउटा बलमा केन्द्रित हुन चाहन्छौं,’ रोहितले भने, ‘हामीले जिम्बावेमा भएको विश्वकप छनोटदेखि राम्र्रो तयारी गर्दै आएका छौं, त्यसैले हाम्रो तयारी राम्रो छ । उनीहरूका ब्याट र बलर पक्कै विश्व स्तरीय छन् ।’

विकेट राम्रो भएको र नेपालले आफ्नो योजनाअनुसार खेल्न चाहेको रोहितले जनाए । कडा सुरक्षाका साथ मुल्तानमा एसिया कपको उद्घाटन खेल हुन लागेको छ । नेपाली टोली उच्च सुरक्षाका साथ मात्र मैदानबाट होटल जाने गरेको छ । सन् २०१४ मा ट्वान्टी–२० विश्वकप खेल्नु नेपाली क्रिकेटको सबैभन्दा ठूलो सफलता थियो । बंगलादेशमा भएको त्यो विश्वकप टेलिभिजनमा हेरेर हुर्किएका पुस्तामध्येमा रोहितसहित अहिले धेरै नेपाली टोलीमा छन् । पाकिस्तान र भारतजस्ता प्रतिद्वन्द्वीसँग एसिया कपमा खेल्न लागेकाले नेपाली क्रिकेटमा यो एउटा अर्को अनुपम कोसेढुंगा हो ।

अप्रिलमा एसीसी प्रिमियर कप जितेपछि नेपाल पहिलो पटक एसिया कपका लागि छनोट भएको थियो । आउँदो साता अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको नेपालले २७ वर्ष पूरा गर्दै छ ।

प्रकाशित : २०८० भदौ १३ गते ६:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI