नारायणघाट बुटवल सडक : पुर्वी खण्डको म्याद ३ सय ३० दिन थप्ने तयारी

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २५ गते ८:०२
नारायणघाट बुटवल सडक : पुर्वी खण्डको म्याद ३ सय ३० दिन थप्ने तयारी

कावासोती । सुस्त गतिमा काम भइरहेको गुनासो आएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकको पुर्वी खण्ड (गैंडाकोट-दाउन्ने) को म्याद ३ सय ३० दिन थप्ने तयारी गरिएको छ ।

आयोेजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चुडा ढकालका अनुसार नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डको म्याद तीन सय ५० दिन थप भएको र पूर्वी खण्डको म्याद ३ सय ३० दिन थप गर्नेगरी छलफल अघि बढेको छ ।पश्चिम खण्डको म्याद ६ अगस्टमा सकिएकाले म्याद थप भइसकेको र पूर्वी खण्डको म्याद २८ अगस्ट अर्थात भदौ ११ मा सकिने भएकाले प्रक्रियामै रहेको जनाउँदै म्याद थप हुने निर्देशक ढकालले बताए ।

निर्माण व्यवसायीले दुई वर्ष म्याद थप गर्न निवेदन दिएकोमा आफूहरुको दुई महिनासम्मको छलफलपछि करिब एक वर्ष म्याद थपको निर्णय गरिएको उनको भनाइ छ । सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इञ्जीनीयरिङ कर्पोरेसन लिमिटेडका पुर्वी खण्डका प्रोजेक्ट म्यानेजर राकेश झाका अनुसार अहिले दुवै खण्डमा गरी करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ । एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विस्तारको काम भइरहेको एक सय १४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्दछ । उनका अनुसार पूर्वी खण्डमा हाल ४० प्रतिशत र पश्चिम खण्डमा ३६ प्रतिशत भौतिक प्रगति भएको छ ।

प्रकाशित : २०८० साउन २५ गते ८:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI