सन्जय भट्टराई/कावासोती ।
नवलपुरमा सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका सेवा सुविधा खोज्दै नवलपुरको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढे सँगै राजमार्गले छोएका स्थानिय तहमा जनसंख्याको चाप बढेको छ ।
पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि २ वटा स्थानिय तहको जनसंख्या ऋणात्मक देखिएको छ ।
बौदीकाली गाउँपालिका र बुलिङ्गटार गाउपालिकाको जनसंख्या पछिल्लो दशवर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसंख्या पनि बिस्तारै घटदो क्रममा रहेको छ । मुख्य राजमार्गले छोएका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको जनसंख्या पछिल्लो दश वर्षमा बढेको हो ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लाको पहाडी क्षेत्रमा रहेको बौदीकाली र बुलिङ्गटार गाउँपालिकाको वृद्धि दर ॠणात्मक रहेको हो । तथ्यांक कार्यालय नवलपुरले दिएको जानकारी अनुसार बौदीकालीको जनसंख्या वृद्धिदर ॠणात्मक ३.१४ र बुलिङ्गटारको जनसंख्या वृद्धिदर ॠणात्मक २.५७ रहेको छ ।
२०६८ को राष्ट्रिय जनगणनामा १९ हजार १ सय २२ जनसंख्या रहेको बुलिङ्गटार गाउँपालिकाको जनसंख्या १० वर्षमा घटेर १४ हजार ६सय ३७ पुगेको छ भने २०६८ मा १५ हजार७ सय ३४ जनसंख्या रहेको बौदीकालीको जनसंख्या १० वर्षमा घटेर ११ हजार ३ सय ३८ पुगेको छ ।
त्यसै गरि मुख्य राजमार्गले नछोएको अर्को स्थानिय तह हुप्सेकोट गाउँपालिकाको जनसंख्या वृद्धिदर शुन्य दशमलव ५६ प्रतिशत मात्रै रहेको छ । २०६८ को जनगणनामा २५ हजार ६५ जनसंख्या रहेको हुप्सेकोटको जनसंख्या १० वर्ष पछि २०७८ मा २६ हजार ५ सय ८३ पुगेको हो ।
यता पुर्व पश्चिम राजमार्गले छोएका स्थानिय तहको जनसंख्या भने पछिल्लो १० वर्षमा बढेको देखिएको छ । जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाको जनसंख्या वृद्धिदर जिल्लामा सबै भन्दा बढी छ । राष्ट्रिय जनगणना २०७९ अनुसार ३.१७ प्रतिशत वार्षिक वृद्धिदर रहेको कावासोतीको जनसंख्या ८६ हजार ८ सय २१ पुगेको हो । राष्ट्रिय जनगणना २०६८ मा कावासोती नगरपालिकाको जनसंख्या ६२ हजार ४ सय २१ रहेको थियो ।
जनसंख्या बढने स्थानिय तहको दोस्रो नम्बरमा देवचुली नगरपालिका देखिएको छ । २.९७ प्रतिशत वार्षिक वृद्धिदर रहेको देवचुलीको जनसंख्या ५८ हजार ३ पुगेको छ । २०६८ मा देवचुलीको जनसंख्या ४२ हजार ६ सय ३ रहेको थियो । त्यसै गरि २.८७ प्रतिशत वार्षिक वृद्धिदर रहेको गैंडाकोट नगरपालिकाको जनसंख्या २०७९ मा ७९ हजार ३ सय ४९ पुगेको छ । यहाँ दस वर्ष अगाडि ५८ हजार ८ सय ४१ जनसंख्या रहेको थियो ।
त्यसै गरि राष्ट्रिय जनगणना २०७९ अनुसार मध्यविन्दु नगरपालिकाको वार्षिक जनसंख्या वृद्धिदर १.१६ प्रतिशत रहेको छ । २०६८ को जनगणनामा ५४ हजार १ सय ४० जनसंख्या रहेको यो नगरपालिकाको जनसंख्या दश वर्षमा बढेर ६१ हजार ९१ पुगेको छ । त्यसै गरि विनयी त्रिवेणी गाउँपालिकाको वार्षिक जनसंख्या वृद्धिदर १.४६ प्रतिशत रहेको छ । २०६८को राष्ट्रिय जनगणनामा ३२९४३ जनसंख्या रहेको यहाँको जनसंख्या दश वर्षमा बढेर ३८ हजार ३ सय ७० पुगेको छ ।
ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसंख्या ऋणात्मक अवस्थामा पुगेको हो । गाउँमा किन जनसंख्या घट्दैछ त्यसतर्फ स्थानिय तहले गम्भीर भएर सोच्नु पर्ने मध्यविन्दु बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक करुण लम्सालले बताए । गाउँमा जनसंख्या टिकाउने हो भने पुर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारी बढाउने तर्फ स्थानिय तह लाग्नु पर्ने उनको भनाई छ । ‘पुर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारीलाई प्राथमिकता दिन सकियो भने जनसंख्या गाउँमा पनि टिक्छ,’ लम्सालले भने ।
बढदो बसाइँसराईको कारणले पहाडमा जनसंख्या घटदै गएको र यो चिन्ताको विषय भएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । गाउँपालिकाले बसाइँसराई रोक्न नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रलाई जोड दिएको अध्यक्ष ओझाको भनाई थियो । ‘गुणस्तरीय शिक्षा र रोजगारीका लागि मानिसहरु बसाइँसराइ गरिरहेका छ्न, यस्लाई रोक्न हामीले नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित रोजगारलाई जोड दिएर कार्यक्रम ल्याएका छौ’, अध्यक्ष ओझाले भने । उनका अनुसार गाउँमानै व्यक्तीलाई मासिक ३० देखि ५० हजार सम्म आम्दानी गर्न सक्ने बनाउन कृषिमा आधारित रोजगार र शिक्षालाई सहज र गुणस्तरीय बनाउन गाउँपालिकाले कार्यक्रम अगाडी बढाएको छ ।
प्रकाशित : २०८० साउन ८ गते १६:२६
Facebook Comment