नवलपुरमा आज देखि ट्राफिक जरिवाना अनलाइन मार्फत तिर्न सकिने

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन १ गते १९:११
नवलपुरमा आज देखि ट्राफिक जरिवाना अनलाइन मार्फत तिर्न सकिने

कावासोती । नवलपुरमा ट्राफिक प्रहरीले आजदेखि लागू हुनेगरी जरिवानाबापतको रकम अनलाइन प्रणालीबाट लिन सुरु गरेको छ ।

ट्राफिक प्रहरीलाई बुझाउनु पर्ने जरिवाना बापतको नगद कारोवारलाई हटाउनका लागि साउन १ गतेदेखि नवलपुरमा पनि ट्राफिक प्रहरीले जरिवाना बापतको रकम अनलाइन प्रणालीबाट लिन थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्याल नवलपुरका प्रमुख एवम् प्रहरी निरीक्षक गणेश पौडेलले ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टिभिआरएस) सफ्टवेयर माध्यमबाट ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट भुक्तानी लिन थालेको जानकारी दिए ।

चेकिङका क्रममा सवारी नियम उल्लङ्घन गर्ने सवारी चालक तथा धनिलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिन्छ । पुर्जीका आधारमा २४ घण्टाभित्र नजिकको राष्ट्रिय वाणिज्य बैंकसँगै इसेवा, खल्ती, कनेक्ट आइपिएस, मोबाइल बैकिङबाट भुक्तानी गर्न सकिने प्रमुख पौडेलले बताए ।

सवारी धनिले बैक दाखिला गरेको भौचर वा अनलाईन तिरेको प्रमाणको आधारमा नियन्त्रणमा लिईएका कागजपत्रहरू सम्बन्धित कार्यालयमार्फत नै फिर्ता लिन सकिने पौडेलले जानकारी दिए ।

यसरी अनलाईन प्रणालीमा राजश्व तिर्न कुनै समस्या भएमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको हटलाईन १०३ वा सम्पर्क नं. ०७८-५४००३० , ९८५७०४८८९८ मा सम्पर्क गर्न समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित : २०८० साउन १ गते १९:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI