३ हजार बढी पर्यटकले गरे अमलटारी हुदैँ निकुञ्ज भित्र जंगल सफारी

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १८ गते १६:१०
३ हजार बढी पर्यटकले गरे अमलटारी हुदैँ निकुञ्ज भित्र जंगल सफारी

सन्जय भट्टराई/कावासोती ।

गत माघ देखि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज भित्रको क्षेत्रमा नवलपुरको अमलटारीबाट जंगल सफारीको अनुमति दिए पछि अमलटारी हुदै निकुञ्ज भित्र जंगल सफारी गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या सात महिनामा ३ हजार भन्दा धेरै पुगेको छ ।

चितवन राष्ट्रिय निकुञ्जले अमलटारीबाट जंगल सफारीको अनुमति दिए पछि अमलटारी हुदै निकुञ्ज भित्र जंगल सफारी गर्नेमा सबै भन्दा धेरै तेस्रो मुलकका पर्यटकहरु १ हजार ७ सय ९४ जना रहेका चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका प्रमुख तथा सहायक संरक्षण अधिकृत अरविन्द यादवले जानकारी दिए । यादवका अनुसार यो रुट भएर २ सय ३५ जना सार्क मुलुकका र १ हजार ८० जना नेपाली पर्यटक गरि ३ हजार १ सय ९ जना पर्यटकले निकुञ्जको कोर एरियामा अमलटारी हुर्दै जंगल सफारी गरेका हुन ।

जंगल सफारी जाने तेस्रो मुलुका विदेशी पर्यटक बाट रु २ हजार, सार्क मुलुकका पर्यटकबाट रु १ हजार स्वदेशी पर्यटक बाट निकुञ्जले रु १५०का दरले राजस्व संकलन गर्दै आएको र ६ महिनाको अवधिमा अमलटारी क्षेत्र बाट निकुञ्ज भित्र स्वदेशी तथा विदेशी पर्यटकले जंगल सफारी गर्दा चितवन राष्ट्रिय निकुञ्जले ३९ लाख ८० हजार ५ सय राजस्व संकलन गरेको यादवले जानकारी दिए ।

अमलटारीबाट सफारी गर्ने यात्रुहरुका लागी निकुञ्जले अमलटारी हुँदै गैंडाखासा, देवीताल, टाइगर टप्सको रुट र गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्ने अनुमति दिएको छ । गत माघ अघि नवलपुरका मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा मात्रै जंगल सफारी हुने गरेको थियो भने अमलटारी क्षेत्रका २ वटा होटलहरु टेम्पल टाइगर र थारू भिलेजले मात्र आफ्नोमा आएका पर्यटक निकुञ्ज भित्र सफारीका लागी लैजाने अनुमति पाएका थिए । गत माघमा चितवन राष्ट्रिय निकुञ्जले अमलटारीबाट जंगल सफारीको अनुमति दिए पछि सबै होटल र पर्यटन व्यवसायीले यस्तो सुविधा पाएका हुन् ।

अमलटारीबाट खुलेको नयाँ रुट हुदै निकुञ्ज भित्र जंगल सफारी गर्नेको संख्या छोटो समयमै ३ हजार भन्दा माथी पुग्दा आफुहरु उत्साहित भएको अमलटारी होस्टेका परिकल्पनाकार तथा होमस्टे एसोसियसन नेपालका केन्द्रिय अध्यक्ष प्रेमशंकर मर्दनिया बताउछन । “छोटो समय र पर्याप्त प्रचारप्रसार नहुदाँ पनि तीन हजार बढी पर्यटकले अमलटारी हुदैँ निकुञ्ज भित्र सफारी गरेका छन, आगामी वर्ष यो संख्या बढदै जाने र यसले अमलटारी क्षेत्र मात्रै हाईन सम्रग नवलपुरको आर्थीक विकासमा सहयोग पुग्छ,” मर्दनियाले भने । निुकञ्जले गरेको आम्दानीको ३० देखि ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति मार्फत स्थानिय विकासको काममा खर्च हुने गरेकाले होमस्टे तथा होटल मात्रै नभएर निुकुञ्जको आम्दानी बढनु आफैमा सकारात्मक रहेको उनको भनाई थियो । निकुञ्ज भित्र सफारी सुरु भए सँगै विदेशी पर्यटकहरु अमलटारीमा बढन सुरु गरेको र आगामी वर्षको सिजनका लागी विदेशीहरुले होटलहरु बुकिङ्ग सुरु गरेकाले पनि स्थानियको आय आर्जनमा यसले महत्वपुर्ण भुमिका खेल्ने मर्दनिया बताउछन ।

यस क्षेत्रबाट जंगल सफारी गर्दा नारायणी नदि तर्नु पर्ने भएकाले पर्यटकलाई डुङ्गा सफारीको अनुभव समेत हुने गरेको छ । चितवन क्षेत्रमा मान्छे बाक्लिएका कारण वन्यजन्तुको चाप यता बढेको र धेरैको संख्यामा वन्य जन्तु देख्न सकिने मर्दनियाले बताए । उनका अनुसार घाँसे मैदान र आहाल खेल्ने स्थान अमलटारी क्षेत्रमा धेरै रहेकाले वन्यजन्तुको ओहोरदोहोर यतै बढी हुने गरेको हो । “यहाँबाट गैडाखासा, देवीताल, टाइगर टप्सको रुट र सौराहाको गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्ने सकिने भएकाले पर्यटकको आर्कषण बढेको छ”, मर्दनियाले भने ।

प्रकाशित : २०८० असार १८ गते १६:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI