चितवन — रत्ननगर नगरपालिका ८ को बुढी राप्ती खोलामा दुर्लभ भाले घडियाल गोही मृत फेला परेको छ । घडियाल गोही आफैंमा दुर्लभ जीव त हो नै‚ यसमाथि भाले घडियाल गोहीको संख्या झनै कम छ ।
असार ११ गते भेटिएको गोहीको मुखमा जाल अल्झेको र पेटमा बल्छी भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।
घडियाल गोही सफा पानी बग्ने खोला या नदीमा बस्छ‚ माछा खाने गर्दछ । खोला‚ नदी प्रदूषण र यसलाई आघात पुग्ने मान्छेका क्रियाकलाप गतिविधिले यो जीव संकटमा छ ।
सूचना अधिकारी तिवारीका अनुसार चितवनमा नदी र खोलाजस्ता प्राकृतिक बासस्थलमा २३९ र कसराको घडियाल गोही प्रजनन केन्द्रमा ८ सय घडियाल छन् । यो वर्षमात्रै विभिन्न कारणले गरेर १० वटा घडियाल मरेको उनले बताए ।
प्रकाशित : २०८० असार १३ गते ११:५१
Facebook Comment