बालबालिकाको विकासमा खेलको भूमिका
प्रकाशित : २०८० असार ४ गते १४:०१
बालबालिकालाई मनोरञ्जन दिने कुनै पनि क्रियाकलापलाई खेल भन्न सकिन्छ । बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि हो । खेल खेल्नु शिशु/बालबालिकाको मन पर्ने क्रियाकलाप र मुख्य काम हो । खेलबिना उनीहरूको वृद्धि र सर्वाङ्गीण विकास आशा गर्न सकिदैन । खेल्न र मनोरञ्जन गर्न पाउनु बालबालिकाको अधिकार पनि हो । सबै बालबालिकाले खेल्न पाउनुपर्दछ ।
खेलबाट बालबालिकाले विश्व ब्रम्हाण्डलाई मस्तिष्कमा समाहित गर्छन् । खेलबिना बालबालिकालाई पूर्ण मानव बनाउने कार्य असम्भव हुन्छ । यही तथ्यलाई सर्वप्रथम जर्मनीका फैड्रिक फ्रोवेलले पहिचान गरी ई.स. १८३७ बालबालिकाले खेलेर सिक्ने ठाउँ किन्डरगार्टेनको सुरु गरेर विश्वभरका बालबालिकालाई खेलबाट सिक्ने अवसर दिलाए, जुन आजको प्रारम्भिक बाल शिक्षाको रूपमा स्थापित भएको छ ।
खेलका प्रकार
बालबालिकाले गर्भबाट नै हातखुट्टा चलाएर तथा आमाबुबाको आवाजअनुसार सक्रियता देखाएर खेल्न सुरु गरिसकेका हुन्छन् । जन्मपछि साना बालबालिकाले विभिन्न इन्द्रियहरूको प्रयोगबाट खेल्न र सिक्न थाल्छन् ।द्धघ बालबालिकाको विकास क्रमसँगै आफैँ खेल्ने हुन थालेपछि बालबालिकाका खेललाई निम्नानुसार छुट्याउन सकिन्छः
१. शारीरिक सञ्चालनका खेल – बालबालिकाले स्थूल अङ्ग सञ्चालनका खेलहरू, जस्तै उफ्रिने दौडने, झुण्डिने, तन्किने, मच्चिने, फट्किने आदि खेलहरू शारीरिक सञ्चालनका खेलहरू हुन् । यस्ता खेलहरूले बालबालिकाले शारीरिक सन्तुलन कायम गर्न, शरीरको शक्ति बढाउन सक्षम हुन्छन् ।
२. अभिनयात्मक खेल – बालबालिकाले देखेका सुनेका भोगेका तथा कल्पना गरेको अवस्थालाई शारीरिक हाउभाउ वा लुगाफाटा, विशेष वस्तुहरू तथा आवाज परिवर्तन गरेर अभिनयद्वारा रमाइलो गर्ने क्रियाकलाप अभिनयात्मक खेल हो । यस खेलमा आफूलाई रहर लागेको पेसाको अभिनय, परिवारका सदस्यले आफूलाई गरेका व्यवहार, अन्य कसैबाट भएका दुव्र्यवहार, आफूले देखेका र घतपरेका घटना, दुर्घटना, घरमा गरिने दैनिक क्रियाकलापहरूको पनि अभिनय गर्ने गर्दछन् ।
३. अन्वेषणात्मक खेल – बालबालिकाले जन्मेदेखि नै आफ्ना इन्द्रियहरूको प्रयोगले खोज अनुसन्धान गरिरहेका हुन्छन् । उमेर बढ्दै जाँदा उनीहरूको जिज्ञासाहरू पुरा गर्न वस्तुहरूको प्रयोगबाट खोजपूर्ण खेल खेल्ने गर्दछन्, जस्तै बाटाभरिको पानीमा कागज हालेमा के हुन्छ ? दुईओटा भाँडा जुधाउदा के हँुदोरहेछ ? सलाई कोर्दा के हुँदोरहेछ ? जस्ता जिज्ञासाले खोज अनुसन्धान गरिरहेका हुन्छन् ।
४. निर्माणात्मक खेल – विभिन्न खालका सामग्रीहरू जस्तैः गुणस्तरीय काठका टुक्रा, खोया, साना कार्टुन वा कार्टुन बाकस आदिको प्रयोग गरेर बालबालिकाले घर, गोठ, पुल, ठुलाठुला भवन, पर्खालको कल्पना गरेर निर्माण गर्ने खेललाई निर्माणात्मक खेल भनिन्छ । यसबाट उनीहरूले देखेका कल्पना गरेका भौतिक पूर्वाधारहरूलाई वास्तविक बनाउने प्रयास गर्छन् ।
५. सिर्जनात्मक खेल – अवलोकन गरेर, सुनेर अनुभव गरेर, कल्पना गरेका कुनै पनि वस्तु, अवस्था, वातावरणको सिर्जनागर्ने क्रियाकलाप हो । यसको लागि कल्पना गरेका वस्तु, वातावरण वा अवस्था सिर्जना गर्न साधनको आवश्यकता पर्छ जस्तैः क्रेयनले चित्र कोर्ने, कैचीले काट्ने, च्यात्ने, टाँस्ने गम माटो, बालुवा, खेरजाने पातहरू, धुलो माटो आदि । यसको प्रयोगले बालबालिकाले स्वतन्त्र रूपमा आफूलाई मनपरेको सिर्जना गर्दछन् ।
६. विषयवस्तुअनुसारको खेल – विषयवस्तुमा आधारित खेलहरू प्रायः पूर्व प्राथमिक कक्षा वा बालविकास केन्द्रमा खेलाइन्छ । कक्षामा जुन विषयवस्तु सञ्चालन भइरहेको छ, सोही विषयमा विभिन्न खेल खेलाइन्छ । जस्तै जनावरको विषयमा सिकाउँदा उस्तैे नक्कल गर्दै हिँड्ने कराउने । यसैगरी सबै विषयमा सुहाउँदो खेलहरू खेलाउन सकिन्छ । अभिभावकले पनि केही कथा सुनाउँदा सो कथासँग सम्बन्धित खेल खेलाउन सकिन्छ भने विभिन्न विषयहरू खेलमार्फत सिकाउँदा बालबालिकाले चाँडै सिक्छन् ।
खेलको महत्त्व
खेलबाट बालबालिकाले सर्वाङ्गीण विकासको अवसर तथा जीवनोपयोगीे सिपहरू पाउनका साथैे मनोसामाजिक समस्या पत्ता लगाउने र उपचार गर्ने पनि गरिन्छ । खेलको असीमित महत्त्व सबै प्रस्तुत गर्न कठिन भएतापनि केही बुँदाहरू यसप्रकार छन्ः
१. सर्वाङ्गीण विकासमा खेल
खेलले स्थूल तथा सूक्ष्म अङ्गको सञ्चालन हुन्छ, जसले गर्दा बालबालिकाको शारीरिक शक्ति, स्वस्थता, सिर्जनात्मक सिप विकास हुन्छ । खेल र रमाइलो एक अर्काको पूरक भएकाले खेलबाट पाउने मनोरञ्जनले सकारात्मक संवेग अभिवृद्धि गरी मानसिक बोझ हल्का गर्छ । सामाजिक सम्बन्ध स्थापना गर्ने सिपको विकास, नक्कल गरेर सामाजिक गुण, सिप, र नियम पनि सिक्छन । सामूहिक कार्यलाई प्रोत्साहन गर्ने, साथीलाई सहयोग गर्ने, आफूलाई परेको सहयोग माग्ने नेतृत्व लिने र दिने जस्ता प्रजातान्त्रिक परिपाटी सिक्छन् । आफ्ना सफलताहरूलाई अन्यले गरेका प्रशंसा र उत्प्रेरणाले आफूभित्र भएको क्षमता पत्ता लगार्ई सकारात्मक स्वअवधारणा, आत्मविश्वास बढाउन सक्छन् । खोज अनुसन्धान गर्ने, नयाँ वस्तु तयार गर्ने, पत्ता लगाउने, नयाँ तरिकाबाट समस्या, समाधन गर्ने, क्षमता विकास हुन्छ ।
२. क्षमता पहिचान तथा अवसर
बालबालिकाले संसारका ज्ञान सिप हासिल गर्ने एकमात्र महत्त्वपूर्ण माध्यम खेल हो । बालबालिकाको परिपक्वता, बौद्धिक क्षमता अभिवृद्धि भए अनुरुप एउटै खेल र खेलौेनालाई विभिन्न तरिकाबाट स्तरीय प्रयोग गर्दै जान्छन् । खेल खेलेको अवलोकनबाट उनीहरूको बौद्धिक क्षमता मापन गर्न सकिन्छ । कोही बालबालिका सानै उमेरमा असीमित प्रतिभाशाली हुन्छन् । केही बालबालिका बौद्धिक अपाङ्गता, सिकाइमा बाधा भएका पनि हुन्छन् । खेलबाट उनीहरूको क्षमता पहिचान गरी आवश्यक अवसरहरू दिलाउन सकिन्छ । यसैगरी खेलबाट शारीरिक क्षमता, तथा अपाङ्गता पत्ता लगार्ई उपचारात्मक पद्धति अपनाउन सकिन्छ । यसले गर्दा कार्यगत सीमितता भएका बालबालिकालाई उनीहरूको अन्य विषेश क्षमता पत्ता लगार्ई छिट्टै स्वावलम्बी बनाउन र थप अवसर दिन खेलले सहयोग गर्छ ।
३. औपचारिक संसारमा प्रवेश
बालबालिकाले खेल खेल्दाखेल्दै काम गर्न थालेको थाहा नै पाउदैनन्, जस्तैः भात पकाई खेल्ने बालबालिकाले छिट्टै खाना पकाउन अघि सर्छन् र रमाइलोसँग खाना पकाउन जान्छन् । यसैगरी साथीभाइसँग खेलेर नै समाजमा गर्नुपर्ने व्यवहार तथा सामाजिक नियमका बारेमा सिक्छन् ।
४. संस्कृतिको संर्वद्धन
परिवार र समुदायबाट पाएका सामाजिक सिप र चालचलनलाई खेलबाट आत्मसात गर्दै व्यवहारमा उतार्न सक्छन् । आफूभन्दा ठुलाहरूसँग आफ्नो परिवारको धर्म, संस्कृति, परम्परा आफ्नो पुस्तामा समाहित गर्छन् । अत्यन्त रमाइला र सिपमूलक परम्परागत खेलहरू (जस्तै: लुकी खेल्ने, भेडीगाठो, गट्टा, खोपी, यतियति पानी, बल डोरी, सामान लुकाई आदि) खेलेर सो खेलप्रति माया जिज्ञासा व्यक्त गर्ने र प्रवर्धन गर्ने गर्दछन् ।
५. बहुआयामिक क्षमता प्रष्फुटनमा खेल
खेलले कल्पनाशक्ति अभिवृद्धि गर्छ, जसले गर्दा बालबालिकाले सिर्जना गर्ने र कल्पनाअनुसार उपलब्धि हासिल गर्ने सङ्कल्प गर्दछन् । भविष्यमा जुनसुकै पेसा छनौटको लागि समेत खेलले सहयोग गर्छ । जस्तैः डाक्टर तथा शिक्षकको अभिनयले डाक्टर, शिक्षक बन्ने क्षमता जागृत गर्छ, सिर्जनात्मक खेलले मूर्तिकार, चित्रकला तथा अन्य कलाकार बन्ने अवसर दिन्छ, अन्वेषणात्मक खेलले खोज अनुसन्धान गर्ने वा वैज्ञानिक बन्ने र शारीरिक सञ्चालनका खेलले खेलाडी बन्ने मस्तिष्कको क्षमतालाई उत्प्रेरित गराई भविष्यमा बहुआयामिक क्षमताको आधार निर्माण गर्छ ।
६. पूर्व गणितीय अवधारणा
खेलबाट गन्ती गर्न, समूह छुट्याउन, ठुलो सानो अग्लोे होचो, तथा अङ्कहरूको अवधारणा स्पष्ट गर्छ । जस्तै ः १ र ९ को चित्र उस्तै र एउटै भएता पनि १ भन्नाले कुनै पनि एउटा वस्तु हो र ९ भन्नाले कुनै पनि नौओटा वस्तुहरू हो भनेर पूर्व गणितीय अवधारणा स्पष्ट गर्छ । यसै गरी लामो छोटो, अग्लो होचोको अवधारणा पनि विभिन्न खेलबाट बसाउन सक्छ ।
७. पूर्व साक्षरताको सिपमा खेल
यसैगरी भाषा सिकाइ, शब्द उच्चारण गर्न, शब्द र वस्तुलाई जोडा मिलाउन, शब्दअनुसारको अक्षरहरू कोर्न, चित्रहरू कोेर्न जस्ता पूर्व लेखाइ र पढाइका सिपहरू खेलबाट सिकाउन सकिन्छ । खेलले सरलबाट जटिल सिकाइमा सहजीकरणगरी अवधारणा स्पष्ट बनाउँछ र बालबालिकालाई वास्तविक वस्तुहरूको चित्रबाट अमूर्त सिकाइको (शब्द, अक्षर) लागि तयार बनाउँछ ।
८. मनोवैज्ञानिक समस्या पहिचान र उपचारमा खेल
बालबालिकाको समस्या पहिचान गर्न खेल महत्त्वपूर्ण क्रिया हो । जस्तैः बालबालिकाले अभिनय गरेर खेल्दा, उनीहरूले अवस्था, जस्तैः घरमा पिटाइ खाएको, विद्यालयमा, साथी वा शिक्षकले गरेको व्यवहार, अन्यले गरेका दुव्र्यवहार उसको खेलबाट बुझ्न सकिन्छ । सिर्जनात्मक क्षेत्रमा खेल्दा मनमा भएका कल्पना, डर समस्याहरू चित्रको माध्यमबाट प्रतिबिम्बित गर्दछन् । साथै खेलमा खुसी नहुने, खेलौनाहरूलाई बिगार्ने रिस पोख्ने आदि व्यवहारको अध्ययनले उनीहरूको समस्या के हो पत्ता लगाउन र उपचार गर्न सकिन्छ ।
बालबालिकामा भएका समस्याहरू पत्ता लगाउने तथा उपचारात्मक पद्धतिमा खेलको प्रयोगलाई १९०९ मा सिग्मण्ड फ्राइडले एक ५ वर्षको बालकमा पसेको डरको अध्ययन र मनोवैज्ञानिक समस्याको उपचारमा गरेर पत्ता लगाएका थिए ।द्धद्ध पछि यस पद्धतिलाई उनका विद्यार्थीहरू र छोरी अन्ना फ्राईडले विकास र प्रयोगमा ल्याए र विस्तारै यो उपचारात्मक पद्धति विश्वमा फैलियो । हाल मनोवैज्ञानिकहरूले खेललाई मनोसामाजिक तथा विकासात्मक समस्याको लागि प्रयोग गर्दै आएका छन् ।
९. बिरामी बालबालिकालाई खेलको प्रयोग
विभिन्न अन्य शारीरिक रोगहरूबाट उपचार गराइरहेका बालबालिकालाई पनि खेलको अवसर दिँदा उनीहरूको पीडा, दुखाइ तथा मानसिक बोझ हल्का हुन्छ । खेलबाट रमाउँदा रोग पनि छिट्टै निको हुने विभिन्न अनुसन्धानले देखाएअनुरुप बाल अस्पतालहरूमा पनि बालबालिकालाई खेल क्षेत्र तयार गरेर खेलको अवसर दिने गरेको पाइन्छ । यसैगरी घरमा पनि अभिभावकले बिरामी बालबालिकालाई उनीहरूको इच्छा अनुरुप खेल खेल्न दिनुपर्छ ।
अभिभावकको भूमिका
- खेल खेलाउँदा हुन सक्ने सम्भावित दूघर्टना कम गर्न, बाहिर खेल खेल्नु अगाडि खेलमैदान वा आँगन सफा गर्ने, लड्ने, चिप्लनेबाट बचाउनुपर्छ । किरा, जनावरहरूबाट पनि बचाउनुपर्छ ।
- उमेरअनुसार खेलको नियम र समय तोक्ने, खेल सामग्रीको सही प्रयोग र व्यवस्थापन आफैँ गर्न सिकाउनुपर्छ ।
- बालबालिकाको सिर्जनात्मक क्षमता फरक हुन्छ । सिर्जना स्वतन्त्र क्रियाकलाप भएकाले अभिभावक तथा स्याहारकर्ताले निर्देशन दिने वा हस्तक्षेप गर्ने गर्नुहुँदैन । साथै, सिर्जनात्मक क्रियाकलापका लागि सामग्रीको आवश्यकता पर्ने हुनाले आफ्ने क्षमताले सकेसम्म विभिन्न सामग्री जुटाइदिनुपर्छ । यसका लागि पैसा नपर्ने स्थानीय सामग्री माटो, बालुवा, पातहरू आदिको प्रयोग पनि गर्न सकिन्छ ।
- बालबालिकाका खेल, विशेषगरि अभिनय खेलहरूबाट बालबालिकाको मनोसामाजिक अवस्था बुझ्न सकिन्छ । उनीहरू हिंसा वा दुव्र्यवहारमा परेका कुरा यसबाट देखिन सक्छन् (जस्तैः साथी वा शिक्षकबाट कुटिएको, अन्य दुव्र्यवहारमा परेको) । त्यसैले यस्ता कुरामा अभिभावकले चनाखो हुनुपर्छ ।
- बालबालिकाको उमेरअनुसारका तोकिएको मापदण्ड पूरा गरी बनाइएका र गुणस्तर प्रमाणीकरण चिह्न भएका, हानिकारक रसायन नभएका, धारिला वा तिखा किनाराहरू नभएका, आगो नबल्ने, नपड्किने गरी बनाइएका, बालबालिकाले सम्हाल्न सक्ने तौल भएका, आवाज निस्कने खेलौना भएमा चर्को आवाज नभएका, घाँटीमा अड्किने र निलिन सक्ने खालका वस्तुहरू प्रयोग नगरिएका र अत्यधिक चुम्बकीय वस्तुहरू प्रयोग नभएका सुरक्षित खेलौनाहरू मात्र दिनुपर्छ ।
- खेल तथा खेलौनाबाट नै बालबालिकाले व्यवहार पनि सिकिरहेका हुनाले बालबालिकाले कतै यसबाट भेदभाव र हिंसा त सिकिरहेका छन् कि भन्ने कुरामा ध्यान दिनुपर्छ । जस्तैः केटालाई भाँडाकुटी खेल्न नदिँदा हामीले कतै हामीले बालबालिकालाई घरको काम तथा खाना पकाउने जीवनोपयोगी सिप महिलाको काम भनेर बालबालिकालाई भेदभाव गर्न त सिकाइरहेका छैनौँ ? बन्दुकको खेलौना बालबालिकालाई दिंदा उनीहरूले हिंसा गर्न सिक्छन् भनेर अभिभावकले बुझ्नुपर्छ ।
Facebook Comment