सन्जुवाबु पोखरेल / मध्यबिन्दु
नेपाल बहुल जाति,बहुभाषी,बहुसांस्कृतिक देश हो । बिभिन्न समुदाय भित्रका फरक रहन सहन फरक शैली र आपसी मित्रताले सिङ्गो देश एकजुट देखिन्छ । यहि देशमा फरक क्षमता भएका मानिसहरु पनि आफुमा रहेको क्षमतालाई प्रस्फुटित गरेर बिश्व प्रसिद्ध भएको कैयौं उदाहरण छन ।
शारीरिक रुपमा अशक्त तर फरक क्षमता भएका व्यक्तिहरू पनि समाजका सक्रिय सदस्यहरू हुन् र सही अवसर प्रदान गरिएमा उनीहरूले समाजको उन्नतिका लागि उल्लेखनीय योगदान पुर्याउन सक्छन् भन्ने उदाहरण बिश्वमा अनेक छन ।
खुट्टाले लेखेर झमक कुमारी घिमिरेले मदन पुरस्कार जितिन,
नेत्र हिन हुदाँहुदै होमरले “इलिअड” र “ओडेसि” जस्ता महाकाव्य लेखे ।
भर्खरैमात्र घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले केही दिन अघि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरे । “यदि म संसारको शिखरमा चढ्न सक्छु भने अपाङ्गता भएका जो कोहि ले आफ्नो सपना पूरा गर्न सक्छन्,” मगरले आरोहणपछि अभिव्यक्त गरेको शब्दावली हो यो ।
शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरुले आफ्नो समूह र समाजबाट बेचैनी, भेदभाव र असामाजिकताको सामना गर्नु परेको छ । दयाको पात्र बन्नुपरेको छ ।
फरक क्षमता भएका व्यक्तिहरुको पहिचान र संरक्षण गर्न सरकार र संस्थाहरुले विभिन्न कार्यहरु गरेकै पनि छन , तर त्यसमा औपचारिकता मात्र बढी देखिन्छ । हुन त यस्ता नागरिकलाई नेपालको संबिधानले केही अधिकार पनि दिएकै छ ।
तर त्यो अधिकार निस्चित संस्था र स्वार्थ समुहले कमाउने भाँडोको रुपमा प्रयोग गर्दा उपलब्धि सोचे जस्तो आउन सकेको छैन ।
फरक क्षमता भएका ब्यक्तिहरुलाई पहिचान दिनु ब्यवहारिक रुपमै अधिकार र संरक्षण प्रदान गर्नु राज्यको दायित्व हुन जान्छ ।
फरक क्षमता भएका व्यक्तिहरुलाई समान रूपमा समाजमा सहभागिता प्रदान गर्नुपर्दछ । निर्णयको अधिकार प्रदान गरिनुपर्दछ । तब मात्र उनिहरुमा भएको क्षमतामा थप निखारता आउन सक्छ,समान अधिकारका लागि लडेका उनिहरु क्षमता अभिवृद्धि गर्न तर्फ प्रोत्साहित हुन सक्छन ,र शारीरिक असक्षमता नभएका अन्य नागरिक जो जीवन देखि हार खाएर बसेका छन उनिहरुलाई पनि सामाजिक,आर्थिक रुपमा प्रोत्साहन गर्न सक्छन । त्यसो हुँदा हाम्रो सामाजिक सद्भाव पनि बढेर जानेछ
प्रकाशित : २०८० असार १ गते १७:००
Facebook Comment