मनसुन के हो ? कहाँ, कसरी बनेर आउँछ नेपालमा ?

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ ३१ गते ९:५७
मनसुन के हो ? कहाँ, कसरी बनेर आउँछ नेपालमा ?

औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ भने अक्टोबर २ मा बाहिरिन्छ । एकातिर मनसुन भित्रिएपछि हुने भारी वर्षाका कारण प्राकृतिक प्रकोपहरू निम्तिने गर्छन् । अर्कोतिर कृषिका लागि मनसुनी वर्षा अपरिहार्य पनि छ ।

 

मनसुन के हो ?

सामान्य शब्दमा मनसुन भनेको हावा वहने दिशाको अथवा हावाको दिशा परिवर्तन हुनु हो । यसरी दिशा परिवर्तन गरेर आएको हावा (मनसुन)ले भारी वर्षा गराउन वा सुख्खा पनि गर्न सक्छ । मनसुन सामान्यतया एसिया र दक्षिणपूर्वी एसियामा सम्बन्धित छ । तर, संयुक्त राज्य अमेरिका र अन्य उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पनि मनसुन देखा पर्छ ।मनसुन शब्दको उत्पत्ति अरबिक भाषामा हावाको मौसम अर्थात् ‘मउसिम’बाट भएको हो । मनसुन हावाको दिशा परिवर्तन हो ।

यो के कारणले हुन्छ ?
ऋतु परिवर्तन भएसँगै जमिन र समुद्री तापक्रममा हुने फेरबदलले हावाको दिशा परिवर्तन हुन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले भारतीय उपमहाद्धीपमा प्रिमनसुनको अवधिको उच्च तापमानले न्यून चापीय क्षेत्र बनेको हुने र यहाँ बंगालको खाडीबाट मनसुनी हावा आउने बताइन् ।

गर्मीयामको समयमा पानीको सतह भन्दा छिटो जमिन तात्छ । मनसुनी हावा सधैँ चिसोबाट तातो ठाउँतिर वहन्छ । यसरी गर्मीयाममा जमिनबाट निस्कने तातो हावाले हावाको दिशा उल्टो हुने अवस्था सिर्जना गर्छ । मनसुन अगाडिको अवधिमा नेपालमाथि माथिल्लो वायुमण्डलमा हुने उच्च वेगको हावा विस्तारै उत्तरमा तिब्बती पठारतिर सर्ने र मनसुनले प्रवेश गर्ने मौसविद् कँडेलले बताइन् ।

 

मनसुनले पानी कसरी पार्छ ?

हिन्द महासागरको पानीको वाष्पिकरण भएर अथवा वाफ बनेर हावामा मिसिन्छ । यसरी वाफसहितको हावा भारत, नेपाल, श्रीलंका र बंगलादेश लगायतका देशतर्फ वहन्छ । त्यहाँ पुगेपछि तातो हावा चिसिन्छ र पानी पार्छ ।

हिउँदयाममा फेरि हावाको दिशा परिवर्तन हुन्छ र मनसुन हिन्द महासागरतर्फ जान्छ । हिउँदे मनसुन नेपालमा खासै हुँदैन ।मौसमविद् कँडेलले भनिन्, “हिउँदे मनसुन भनेर नेपालको हकमा भन्दैनौं । दक्षिणी भारत र श्रीलंका आसपासमा हिउँदे मनसुन भन्ने चलन छ । हिउँदमा हामीसँग पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव हुन्छ ।”

 

मनसुन भनेको नै वर्षा होइन

मनसुन भन्ने बित्तिकै धेरै मानिसहरूले भारी वर्षा भनेर सोच्ने गर्छन् । तर, यो केवल हावाको दिशा परिवर्तन मात्रै भएकाले मनसुनले सुख्खा समेत गराउन सक्छ । “हावा जताबाट जता बहन्छ यसले त्यहाँको भएको कुरा बोक्छ । सुख्खा ठाउँबाट अयो भने सुख्खै हावा ल्याउँछ । जलवाष्प भएको ठाउँबाट त्यो पनि ल्याउँछ र बादल पनि ल्याउँछ,” मौसमविद् कँडेलले भनिन् ।“नेपालको हकमा बंगालको खाडीबाट आउने हुँदा त्यहाँ जलवाष्पयुक्त हावा धेरै हुन्छ, मनसुनले त्यहाँबाट बादल पनि ल्याउँछ । त्यसैले बादलबाट पनि पानी पर्छ र जलवाष्पयुक्त हावा यहाँ पुगेर चिसिन्छ र त्यसरी पनि पानी पर्छ ।” मनसुन अवधिभर यसरी बंगालको खाडीबाट नेपालतर्फ पानी पार्ने र नपार्ने दुवै किसिमको हावा आइरहन्छ । यस्तै न्युन चापीय रेखा जहाँ स¥यो त्यतैतिर मनसुनले वर्षा गराउने पनि उनले बताइन् । हिमालयतर्फ न्यून चापीय रेखा आएर नेपाल र भारततर्फ गयो भने त्यहाँ पानी पर्ने उनको भनाइ छ । त्यसैले मनसुन अवधिभर फरक–फरक ठाउँमा पानी पर्छ । “मनुसुन छिर्दा पानी पर्छ भन्ने सोचाइ पनि गलत हो । पानी नपर्न पनि हुनसक्छ,” उनले भनिन् ।

 

के हो न्यून चापीय क्षेत्र ?

न्यून चापीय क्षेत्र (लोवर प्रेसर एरिया) भनेको हावाको तह पातलो भएको ठाउँ वा क्षेत्र हो । यस किसिमको हावा पातलो भएको ठाउँतिर बाहिरबाट आएको हावा जान्छ । त्यहाँ त्यो हावाले आफूसँगै ल्याएको वाफ चिसो बनाउँछ, बादल उत्पन्न गर्छ र पानी पार्छ ।

मनसुनी हावा र न्यून चापीय क्षेत्रबारे मौसमविद् कँडेलले भनिन्, “न्युन चापीय क्षेत्र जता छ मनसुनको हावा त्यता जाने हो । जहाँ हावाको प्रेसर ‘एयर प्रेसर’ कम छ त्यहाँ परिपूर्ति गर्नलाई त बाहिरबाट हावा जानु पर्‍यो नी ।”

त्यसैले न्यून चापीय क्षेत्र भनेको हावाको तह पातलो भएको क्षेत्र हो । त्यहाँ बाक्लो ठाउँबाट अथवा बाहिरबाट आएको हावा जान्छ । त्यो हावामा जलवाष्प छ भने त्यहाँ पानी पर्छ र सुख्खा हावा छ भने त्यहाँ सुख्खा हुन्छ ।

 

किन आवश्यक छ मनसुन ?

नेपाल, भारतसहित दक्षिणपूर्वी एसिया गर्मीयामको मनसुनमा निर्भर छ । खासगरी यहाँ कृषिका लागि मनसुन आवश्यक छ । कयौं ठाउँहरूमा सिँचाईको सुविधा उपलब्ध नहुँदा वर्षामै निर्भर हुनुपर्छ ।

मनसुन अवधिको वर्षाले कयौँ क्षेत्रमा वर्षभरीका लागि कृषि क्षेत्रको पानीको आवश्यकता पुर्तिसमेत गर्छ । विशेषगरी धान र चिया खेती जम्मा गरेर राखेको पानीबाट उत्पादन हुने बिजुली लगायतका लागि मनसुनी वर्षा आवश्यक छ ।

मनसुन कमजोर र ढिला भित्रिँदा यी क्षेत्रको कृषि उत्पादन र अन्य आर्थिक गतिविधिमा ठूलो क्षति हुने गरेको बताइन्छ ।

प्रकाशित : २०८० जेठ ३१ गते ९:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI