कावासोती । नेपाल दक्षिण एसियाकै ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो ।
नेपालको समूहमा आयोजक भारत, पाकिस्तान र आमन्त्रित टोली कुवेत रहेको छ । भारत र कुवेत नेपालका लागि तुलनात्मक रुपमा कठिन प्रतिद्वन्द्वी हुन् । यस्तै समूह ‘बी’ मा माल्दिभ्स, भुटान, बंगलादेश र लेबनान परेको छ । लेबनानले पनि पहिलो पटक आमन्त्रित टोलीको रुपपमा साफ च्याम्पियनसिप खेल्न लागेको हो ।
साफ च्याम्पियनसिपको १४औं संस्करण आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेंगलुरुमा आयोजना हुदैछ । विश्व फुटबल महासंघ (फिफा) को निलम्बनका कारण श्रीलंकाले भाग लिने छैन । नेपालले अहिलेसम्म साफ फुटबलको उपाधि जित्न सकेको छैन ।
माल्दिभ्समा भएको १३औं संस्करणमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३-० गोलले पराजित भएको थियो । साफमा नेपालको यो नै अहिले सम्मको उत्कृष्ट नतिजा हो ।
यसपटक तुलनात्मक रुपमा कठिन समूहमा पर्नु र राष्ट्रिय टोलीका तीन दर्जन रोजाईका खेलाडी विदेश पलायन हुनेले साफ फुटबल नेपालका लागि झनै कठिन हुने देखिएको छ ।
प्रकाशित : २०८० जेठ ३ गते १४:४५
Facebook Comment