कावासोती : पुर्वी नवलपरासी कावासोती-११ कि मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निहुरो टिप्नु हुन्छ । उहाँले चैत देखि साउन, भदौ सम्म निहुरो टिपेर आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आउनु भएको छ । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने बोटे बताउनु हुन्छ
।
मनमाया जस्तै कावासोती-१२ कि रिता माझि पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निहुरो टिप्ने गरेको बताउनु हुन्छ । पूर्वी नवलपरासीको विषेश गरेर चितवन राष्ट्रिय निकुञ्ज को मध्यवर्ती क्षेत्रको जंगलमा निहुरो पाईन्छ । शिख्रौली,पिप्रहर, केउरानी, लौगाई, पिठौली अमलटारी लगाएतका नारायणी नदि नजिकका सामुदायिक वनमा पाईने निहुरो स्थानीय बजारदेखि काठमाडौँका भान्सासम्म पुग्ने गरेको छ ।
चैत सुरु भएदेखि पूर्वी नवलपरासीका विषेश गरेर मध्यवर्ती क्षेत्रका सामुदायिक वनमामा डोको बोकेर निहुरो खोज्नेको ताँती लाग्छ । बिहान झिस्मिसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोको भरी निगुरो बोकेर निस्कन्छन् । स्कुले बालबालिका समेत बिदामा स्टेशनरीको जोहो गर्न निहुरो टिप्न आउँछन् ।
वन आसपास बस्दै आउनुभएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोरकिशोरीले समेत बिदाको समयमा निहुरो टिप्ने गरेका छन् । दुई दशकदेखि नारायणी नदि आसपासका जङ्गलको निहुरो सङ्कलन गर्दै जिल्लाको कावासोती, दलदले, रजहर, ड्न्डा लगाएतका बजारमा लगरे बिक्री गर्दै आएको कावासोती-१२ गैरी की माया नेपाली बताउनु हुन्छ ।
गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दुका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा दैनिक तीन(चार सयजनाले निहुरो टिप्दै आएका छन । धेरै मजदुरले दैनिक निहुरो बेचेर परिवारको खर्च चलाउँदै आएका छन् । यस क्षेत्रबाट दैनिक निहुरो सङ्कलन गरी जिल्ला विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको कावासोती-१२ मा रहेको राजरत्न मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद लम्साल बताउनु हुन्छ ।
यहाँ बाट स्थानिय देखि नारायणघाट, काठमाडौँसम्मका व्यापारी निहुरो लैजाने गरेका छन् । स्थानीय बजारमानै निहुरोको माग अत्याधिक हुने भएकाले स्थानिय बजार नै प्राथमिकता रहने गरेको मध्यविन्दुकी अनिता माझी बताउनु हुन्छ । माझीका अनुसार कहिले वन बाट टिपेर ल्याएको निहुरो स्थानिय बजार नपुग्दै गाउँ घरमा नै सकिन्छ्न ।
निहुरोको माग अत्याधिक हुने गरेको र बजार राम्रो भए पनि जोखिम उठाएर स्थानियहरुले निहुरो संकलन गर्ने गरेका छ्न । वनमा भेटिने एक सिङ्गे गैँडा, बाघको डर मात्रै होईन निकुञ्जको सुरक्षामा खटिएका सुरक्षाकर्मीको त्रास पनि उस्तै हुने कावासोतीका कृष्णबहादुर बोटे बताउनु हुन्छ । विषेश गरेर नारायणी नदि किनारमा रहेका बोटे माझी मुसहरहरुले चैत देखि साउन सम्म नारायणीमा माछा मार्न अनुमती नपाउँदा निहुरो बेचेर घर चलाउदै आए पनि वन्यजन्तु र निकुञ्ज प्रशासनको डरको कारणले जोखिम मोलेरै भए पनि निहुरो टिप्ने तथा संकलन गर्दै आएका छ्न ।
प्रकाशित : २०८० वैशाख ३ गते १७:३८
Facebook Comment