आज चैत्र ७ । गिरिजा बाबुको १३ औं स्मृति दिवस । नेपालकाे इतिहासमा स्वर्णाक्षरले नाम लेखिएका पिता कृष्णप्रसाद काेइराला र माता दिव्या काेइरालाकाे सन्तानको रूपमा १९८१ साल असार १८ गते गिरिजाप्रसाद काेइरालाकाे जन्म भएको थियो । पिताजी,दाजुहरु बीपी, मातृका, तारिणी लगायत परिवारका सबै सदस्य राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका पक्षमा सक्रिय थिए । यही कारणले गिरिजाप्रसाद काेइराला बाल्यकालबाट नै राजनीतिक परिवेशमा हुर्कनु भयो।
गिरिजाप्रसादलाई पार्टीभित्र सबै उमेर समूहका साथीहरूले सजिलो गरी बाेलाउनु पर्दा गिरिजा बाबु भन्थे र उहाँ खुसि नै हुनुहुन्थ्यो । गिरिजा बाबु नेतृत्वमा उच्चतम् क्षमता राख्ने एक सफल नेता भएकाले सबैले उहाँको नेतृत्व काैशल मन पराउँथे ।
मजदुरदेखि राष्ट्राध्यक्षसम्म
नेपाली राजनीतिमा उहाँ नेपाल ट्रेड युनियन काँग्रेसको संस्थापक अध्यक्ष हुनुभयो । वि.सं. २०१७ मा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्रको अपहरण भएपछि उहाँले तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरू सयौँ नेतासँग नजरबन्द र त्यसपछि काराबास सजाय भोग्नुभयो ।
उहाँले चार वर्षको काराबकासपछि २१ दिन भोक–हडताल गर्नुभयो र छुटेर उहाँ भारत प्रवासमा जानुभयो । उहाँ २०३२ सालमा भारतको पटनामा भएको काँग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचित हुनुभयो ।
उहाँ लामो समयसम्म महामन्त्री र पार्टी सभापति पनि हुनुभयो । २०४६ सालको जनआन्दोलनका बेला उहाँ नै महामन्त्री हुनुहुन्थ्यो र २०४८ को आमनिर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । उहाँकै कार्यकालमा नेपालमा खुला अर्थतन्त्रको सुरुवात भयो र नेपालमा निजी क्षेत्रको विकास तीव्ररुपमा अगाडि बढ्यो ।
पटकपटक नेपालको प्रधानमन्त्री हुनुभएका कोइराला आफ्नो भनाइ पूरा गर्ने राजनेताको रुपमा परिचित हुनुहुन्थ्यो । २०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिस्टप्रति कडा रूपमा प्रस्तुत हुने कोइरालाको छवि ‘कम्युनिस्ट विरोधी’ नेताका रूपमा चित्रित थियो तर झण्डै १६ वर्षको अवधिमा उहाँको राजनीतिक जीवनमा ठूलै परिवर्तन आयो ।
सुरुमा द्वन्द्वरत नेकपा माओवादीलाई निस्तेज पार्न चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिस्टका लागि अनुदार व्यक्तिका रूपमा चित्रित हुनुभयो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशमा सङ्कटकाल लगाई उहाँलगायत अन्य संसद्वादी दलका नेतालाई नजरबन्द र गिरफ्तार गरेपछि कोइरालाले २०६२ सालमा ‘जनयुद्ध’ लडिरहेको तत्कालीन नेकपा माओवादी पार्टीसँग समेत हातेमालो गर्नुभयो ।
राजतन्त्रविरोधी आन्दोलनको अगुवा
युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि काँग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर कोइरालाको व्यक्तित्वका अगाडि त्यो विरोध गौण बन्यो । पहिले वैधानिक राजतन्त्रका समर्थक कोइरालाले नै झण्डै अढाइ सय वर्ष पुरानो राजतन्त्रविरुद्ध आन्दोलनको अगुवाइ गर्नुभयो । लोकतन्त्र स्थापना भइसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रमै रहनुभयो । उहाँले १० वर्ष लामो सशस्त्र युद्ध गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर नेतृत्व प्रदान गर्नुभयो ।
जनआन्दोलनले उत्कर्ष हासिल गरेपछि २०६३ वैशाख ११ गते प्रतिनिधि सभाको पुनर्बहाली भयो र सात दलका नेताको समर्थनमा कोइराला पुनः प्रधानमन्त्री हुनुभयो ।
कोइरालाकै नेतृत्वमा राजाका सबै अधिकार खोसिए र नेपाली सेनालाई संसद्को नियन्त्रणमा ल्याइयो ।संविधानसभाको निर्वाचन सम्पन्न गरेपछि उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो ।
शान्ति प्रक्रियाका नायक
लोकतन्त्र प्राप्तिपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ को सम्मान पाउनु भएका कोइराला सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल हुनुभएकाले पनि उहाँको नाम नेपालको राजनीतिक इतिहासमा चर्चित नै छ । संवैधानिक राजतन्त्रको पक्षमा रहेको काँग्रेस पार्टीलाई उहाँ पार्टी सभापति हुँदा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजान सफल हुनुभयो ।
वि.सं. २०६३ कात्तिक २१ गते कोइराला तथा सात दलका नेताले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सँग मिलेर जनविद्रोहको अन्त्य र संविधानसभाको निर्वाचन गराउने सम्झौतामा हस्ताक्षर गर्नुभयो । वि.सं. २०६३ मङ्सिर ५ गते सरकारको तर्फबाट प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरी ऐतिहासिक रूपमा ‘हिंसा र अशान्ति’ को राजनीतिलाई विश्राम दिने कार्य भयो ।
पहिलो संविधानसभाको निर्वाचन गराउनुभएका कोइराला नेपालको पहिलो नागरिक राष्ट्राध्यक्ष हुनुभयो । उहाँ प्रधानमन्त्री हुँदा नै संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लाने निर्णय गर्यो र राजतन्त्रको अन्त्य भयो ।
विना रक्तपात २४० वर्ष पुरानो शाह राजतन्त्रलाई विस्थापत गर्न सफल हुनुभएकाले कोइरालालाई कतिपय राजनीतिज्ञले ‘क्रान्ति नायक, क्रान्तिकारी योद्धा’ को संज्ञा दिएका छन् । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ गते शनिबार मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निवासमा निधन भयो ।
Facebook Comment