राप्रपा र नेमकिपाले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका छन् । राप्रपाका संघीय संसद्मा १४ र प्रदेशसभामा २८ सांसद छन् । नेमकिपाका संघीय संसद्मा १ र प्रदेशमा ३ सांसद छन् । कांग्रेसका चन्द्र भण्डारी र माओवादीका वर्षमान पुन उपचारमा रहेकाले मतदानमा सहभागी भएनन् । एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ मधेश प्रदेशकी जसपा सांसद बिन्दु यादव भारतमा उपचारमा रहेकीले अनुपस्थित भइन् ।
निर्वाचनमा सहभागी एमालेबाहेक सबै दलको साथ पाएर पौडेल विजयी भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । नेम्वाङले राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत दुईसहित एमालेका ९७ सांसद र एक स्वतन्त्र सांसदको मत पाएका हुन् । प्रदेशमा एमालेका १ सय ६१ सांसद रहेकामा नेम्वाङलाई १ सय ६२ जनाले मत दिएका थिए ।
बिहीबार १० बजे सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । राष्ट्रपति निर्वाचनको पहिलो मत पौडेलले हालेका थिए । मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले राष्ट्रपति बनेपछि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको उनले बताएका थिए । उनले भनेका थिए, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरशः भावनालाई इमानदारीपूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्छु । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेमा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु ।’
निर्वाचन पहिल्यै उम्मेदवारका रूपमा पौडेलले हात जोड्दै मतदातासँग भोट मागेका थिए । संघीय र प्रदेशसभाका सदस्यहरूका लागि मतदान गर्न जाने छुट्टाछुट्टै बाटो बनाइएको थियो । उनले हात जोडेर दुवैतिर लाइनमा रहेका सांसदलाई मत मागेका थिए । एमाले उम्मेदवार नेम्वाङ भने ढिलो गरी मात्रै मतदानस्थल पुगेका थिए । उनी सोझै मतदानस्थल रहेको ल्होत्से भवन प्रवेश गरेका थिए । त्यहाँ लाइनमा लागेका सांसदहरूसँग सामान्य कुराकानी गर्दै उनले मतदान गरेका थिए । त्यसपछि संघीय सांसदका लागि स्थापना गरिएको विश्राम स्थलमा उनी केहीबेर बसे । भोट माग्दै हिँडेका पौडेल आफ्ना प्रतिस्पर्धी नेम्वाङले विश्राम गरिरहेको ठाउँमा पुगेपछि दुवै जनाले शुभकामना आदानप्रदान गरे । त्यहाँ फोटो सेसन र आफ्नो धारणा राखेपछि पौडेल भोट माग्दै हिँडे । नेम्वाङ भने त्यहाँ थप केहीबेर बसेर सिंहदरबारस्थित संसदीय दलको कार्यालयतिर लागे । एमालेका अधिकांश नेता मतदानस्थलमा धेरैबेर बसेनन् । उनीहरू मत हाल्दै बानेश्वरबाट बाहिरिए । एमाले अध्यक्ष केपी शर्मा ओली मत हाल्नेबित्तिकै बाहिरिए ।
मत परिणाम अपराह्न ५ बजे आएको थियो । पौडेल विजयी भएको घोषणा कार्यक्रममा नेम्वाङ उपस्थित भएनन् । एमालेको प्रतिनिधित्व सांसद महेश बर्तौलाले गरे । नेम्वाङका तर्फबाट उनैले टीका र माला लगाइदिएर पौडेललाई बधाई दिए । निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रममा पौडेलको दायाँतर्फ उनकी श्रीमती पनि थिइन् । बायाँतर्फ प्रधानमन्त्री पुष्पकमल दाहाल थिए । पौडेललाई बधाई दिन कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्याललगायतका नेता पुगेका थिए । मत हालेर बाहिरिएका सांसदहरू पनि पौडेल विजयी भएपछि संसद् भवनको ल्होत्से हलमा पुगेका थिए ।
साढे ५ बजे प्रमाणपत्र दिने भनिए पनि कांग्रेस सभापति देउवा बेलैमा नआउँदा केही ढिला भएको थियो । देउवा ६ बजे मात्रै ल्होत्से हलमा प्रवेश गरेका थिए । उनले मञ्चमा पौडेललाई बधाई दिएर अंकमाल गरे । छेउमा रहेका प्रधानमन्त्री दाहाल र पौडेल पत्नीसँग पनि उनले अंकमाल गरे । देउवा आएपछि मात्रै निर्वाचन अधिकृतको कार्यालयले पौडेल विजयी भएको घोषणा गरेको थियो । ल्होत्से हलमा पौडेललाई बधाई दिने क्रम साढे ६ बजेसम्म चलेको थियो ।
प्रमाणपत्र बुझेपछि नेता, कार्यकर्ता र शुभचिन्तकको बधाई लिएर पौडेल साढे ६ बजे बानेश्वरबाट हिँडेका थिए । मतदान सकिएलगत्तै उनलाई सुरक्षा दिनका लागि नेपाली सेनाका अधिकारी सवारीसहित संसद् भवन पुगेका थिए । पौडेल यसअघि प्रयोग गरिरहेको सरकारी गाडी चढेर बाहिरिए । त्यतिबेला सुरक्षाकर्मीले साइरन बजाएर बाटो खाली गराएका थिए । साइरन नबजाउन पौडेलले आग्रह गरेको उनको सचिवालयले जनाएको छ । बिनासाइरन नै उनी चढेको गाडी प्रधानमन्त्री निवास बालुवाटार र कांग्रेस सभापति निवास धुम्बाराही पुगेको थियो ।
बालुवाटारमा पौडेलले राष्ट्रपतिमा निर्वाचित गराउन भूमिका खेलेका प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै संविधान र लोकतन्त्र रक्षाका लागि काम गर्न बताएको स्रोतले जनाएको छ । ‘राष्ट्रपति र पहिलेका राजा फरक विषय हो । जनताको राष्ट्रपति कस्तो हुन्छ भन्ने गरी काम गर्नेछु,’ पौडेलको भनाइ थियो, ‘राष्ट्रपतिलाई राजाजस्तो हुन म दिन्नँ ।’ दाहालले नवनिर्वाचित राष्ट्रपति पौडेलसँग काम गर्ने शैली मिल्ने उल्लेख गर्दै मुलुकको संरक्षकको भूमिका निभाउन शुभकामना दिएका थिए । ‘मैले चुनावी सभामा प्रधानमन्त्री बनाउँछु भनेको थिएँ, अहिले राष्ट्रपति पो बनाइयो,’ दाहालले ठट्टा गर्दै भनेका थिए ।
दाहालले सरकार र राष्ट्रपतिबीच आपसी विश्वासका आधारमा काम गरे मुलुकको हित हुने भएको बताएका थिए । ‘मुलुकको हित नै सर्वोपरि दायित्व हो,’ उनको भनाइ थियो ।
पौडेल राष्ट्रपतिमा विजयी भएपछि प्रतिस्पर्धी नेम्वाङले निर्वाचनको परिणामलाई आफूले हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् । ‘संविधान कार्यान्वयन गर्ने क्रममा आज तेस्रो राष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा अत्यन्त खुसी छु । जनताको सन्तान तेस्रो पटक राष्ट्रपति भएको छ । यो ठूलो उपलब्धि हो,’ उनले भने, ‘निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । निर्वाचित हुनुभएका नवराष्ट्रपति पौडेललाई हार्दिक बधाई र शुभकामना छ ।’ नयाँ राष्ट्रपतिले जनतालाई सहज महसुस हुने गरी काम गर्नुपर्ने उनले बताए । ‘राष्ट्रपति भेट्दा जनताले आफ्नो परिवारको सदस्यसरह महसुस गर्ने काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,’ नेम्वाङले भने, ‘उहाँको कार्यकालको सफलताका लागि शुभकामना दिन चाहन्छु ।’
Facebook Comment