मार्कोनी र मेरो सपना

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २ गते ८:३८
मार्कोनी र मेरो सपना

केबी राना-

बाल्यकालको कुरा हो । मेरो घरमा पानासोनिकको रेडियो थियो । टोल भरिका मान्छे जम्मा भएर रेडियो सुन्ने चलन थियो । रेडियो बज्न थालेपछि मैले काखमै लिएर बस्नुपर्ने । अलि जिज्ञासु स्वभाव भएकाले वारम्बर यति सानो रेडियोमा कसरी मान्छे अटेको होला जहिले सोध्ने गर्थें । चुम्बकले तानेर आवाज आउने गरेको भन्नुहुन्थ्यो । मलाई पत्यार नलाग्ने ।

शुक्रवारको समय विद्यालय वन्द भएपछि अलि छिटो घर आएं । एक दिन घरमा कोही थिएन । रेडियोमा बज्ने मान्छे कस्तो होला भनेर हेर्न रेडियो फुकाले । भित्रपट्टी चुम्बक, तार आदि मात्रै भेटें । मान्छे भेटिन । रेडियो भताभुङ्ग भयो । जोडन जानिन । म आत्तिएं । बेलुकी हजुरवुवाको कुटाई खाईयो ।
दुर्गम गाउँ भएकाले सञ्चारको अरु विकल्प थिएन । लाहुर गएका दाजुभाईले ठूलो रेडियो बोकेर आउने चलन थियो । गाउँ नै घन्किने गरि रेडियो/टेप बजाएपछि गाउंमा लाहुरे आयो भन्ने बुझिन्थ्यो । म रेडियो अधिक सुन्ने गर्थें । रेडियोमा बज्ने गीतहरु, कार्यक्रमहरु लगभग कन्ठै हुन्थ्यो । रेडियोमा बज्ने गीतहरु कपी गरेर गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा गाउँदा हामीले धेरै पुरस्कार र स्यावासी पाईन्थ्यो । प्राय विहानीको रेडियो धुन सुन्न आधा घण्टा अगाडी उठेर बस्ने र शुभ धुनसंगै शुरु हुने दैनिकी राती वन्द भएपछि मात्रै सुत्ने लत सम्म बन्यो ।

रेडियो कार्यक्रमबाटै जीवन उपयोगी शिक्षा, सामाजिक विकृति विसङ्गति विरुद्व बोल्नुपर्ने, पढ्नुपर्छ भन्ने ज्ञान पाए । हुन त मेरो बाल्यकालमा धामी, झांक्री बनेर समाजको सेवा गर्ने लक्ष्य थियो । किनकी गाउंमा शिक्षक र धामी वाहेक अन्य सवै कृषक थिए । शिक्षक बन्न धेरै पढ्नुपर्ने नजिक विद्यालय नभएकोले यो सम्भव देखिन । अस्पताल थिएन । धेरै विरामीको उपचार धामी झांक्रीले झारफुक गरि निको पार्ने गदथे । उनिहरु समाजको सम्मानित र अगुवा पनि थिए । त्यही कारण म धामी झांक्री बनेर गाउंका विरामीको उपचार गर्ने सपना थियो । आमाको अर्तिबाट धेरै पढेपछि अरु अझ सम्मानित काम पाईने थाहा पाएं । पढ्न थालें । बाल क्लबको तालिम, त्यतिवेलाका ज्ञानवद्र्वकहरु रेडियो कार्यक्रमले नै मेरो जीवनमा परिवर्तन ल्यायो ।

 

क्याम्पस पढन परासी पुगें ।

बाल क्लबको अगुवा (बाल क्लब जिल्ला सञ्जालको संस्थापक सचिव) भएकाले धेरै एफ एमहरुले मेरो अन्तरवार्ता लिने गर्थे । एक दिन प्रदिव वस्याल (तत्कालिन बाल क्लब जिल्ला सञ्जालको संस्थापक अध्यक्ष जो अहिले विविसी नेपाली सेवामा कार्यरत हुनुहुन्छ) र म रेडियो लुम्बिनीमा बाल कार्यक्रममा सहभागी हुन पुग्यौं । म गाउँमै मगर समुदायमा हुर्केको हुनाले नेपाली भाषा बोल्न अलि गाह्रो हुन्थ्यो । कार्यक्रम प्रस्तोता मिना पाण्डे दिदीले ३ पटक रेकर्ड गरेर मेरो अन्तरवार्ता तयार गर्नुभयो । उहांले मगर भाषा कार्यक्रम संचालिका मन माया रानासंग चिनाईदिनुभयो । अनि दिदीसंग मज्जाले मगर भाषामै कुराकानी गर्‍यौं। अनि दिदीले संगै कार्यक्रम चलाउन प्रस्ताव राख्नुभयो । मेरो लागि ठूलो अवसर बन्यो । स्कृप्ट लेख्न सिकाउनुभयो । मैले खुब मेहनत गरेर कार्यक्रम तयार पार्थें । गाउँ गाउँमा पुगेर रिपोर्टहरु बनाउथें । मनमाया दिदी पनि खुशी हुनुभयो । म रिपोर्टिङ्ग गर्न जुन कार्यक्रममा पुग्थें त्यहाँ मलाई अतिथि भनेर सम्मान गर्दथ्यो ।

मेरो कार्यक्रमको प्रचार माईकबाटै भन्थे । मेरो गाउँका मानिसहरु डाँडामा जम्मा भएर कार्यक्रम सुन्ने गरेको थाहा पाएं । म निक्कै खुशी भएं । मलाई के लाग्थ्यो भने रेडियोमा काम पाएपछि त ८/१० हजार पक्कै पाईन्छ । छ महिना जति तलव नसोधि काम गरें । अनि पछि थाहा पाएं कि एउटा कार्यक्रम सञ्चालन गरे वापत ४० रुपैंया पाईन्छ भनेर । मैले महिनाको १ सय ६० पाईने रहेछ । जुन कि कार्यक्रम तयार पर्दा एक महिनाको तलव भन्दा बढी खर्च हुन्थ्यो । मलाई तलब भन्दा पनि आफ्नो समुदायमा यसले ठुलो पहिचान दियो । बिस्तारै व्यवसायिक पत्रकारिता क्षेत्रमा प्रवेश गरें । पत्रकारिताको तलबले मात्रै बाँच्न नसक्ने भएकाले प्रोजेक्टमा पनि काम गरें ।

पछि जागिरके सिलसिलामा म नवलपुर आएपछि गैंडाकोटको विजय एफ एममा काम गर्न शुरु गरें । त्यहां १ वर्ष जति काम गरेपछि अर्को चितवनमा रहेको हाम्रो एफ एममा काम पाएं । रिपोटिङ्गसंगै मार्केटिङ्ग समेत काम पाएकोले कमाई पनि राम्रो थियो । पछि कावासोतीमै नयां रेडियो खोल्ने सपना देखौं । मध्यविन्दु एफ एम खोल्यौं । यो रेडियोले समुदायको नागरिक अगुवा संस्थाको भूमिका निर्वाह गर्‍यो । त्यही रेडियो खोल्ने बेला बैंकले पत्रकारलाई ऋण नदिने नितिले सस्तोमा बेचेर रेडियो खोलेको थिएं । त्यही जग्गा अहिले करोडौं मुल्य पर्ने भयो । व्यक्तिगत रुपमा घाटा भएपनि रेडियोले समुदायको हितका निम्ति पुर्‍याएको योगदान सम्झिंदा खुशी लाग्छ । त्यो वेला रेडियोमा बोल्ने मान्छेहरु गाउं सवैभन्दा ठूलो सेलिव्रेटि मानिन्थ्यो । सानै उमेर देखि समाजसेवा गर्ने सपना रेडियोले पुरा गरिदियो ।

 

लुकि लुकि सिंहदरवार छिरेको सम्झिदा अहिले डर लाग्छ

 

रेडियो नेपालमा काम गर्ने सपना तिब्र थियो । नवलपुर संवाददाता आवश्यक परेको थाहा पाएं । रेडियोमा कार्यरत गाउँकै दाजु ऋषिकेश बस्ताकोटीलाई सोधें । उहांले खगेन्द्र खत्री समाचारको ठूलो मान्छे हुनुहुन्छ काठमण्डौं भेट्न जाउ भन्नुभयो । ल्याण्डलाईनको नम्बर दिनुभयो । मैले फोन गरें । उहांले भेट्न बोलाउनुभयो । म नवलपुरबाट सिंहदरवार पुगें । तर भित्र प्रवेश गर्न पास चाहिने कुरा थाहा थिएन । उहाँले प्रेस कार्ड देखाएपछि भित्र प्रवेश गर्न पाईने जानकारी दिनुभयो । स्थानीय रेडियोको कार्डले काम गर्दा रहेनछ । सिंहदरवारमा थुप्रै प्रवेशद्वार भएको पनि थाहा थिएन ।
वैशाख तिरको घाममा बडैंको झोला सहित ३ फन्को घुम्दा म हत्तु भएं । ३ बजेतिर पुर्वी गेटबाट लस्करै मन्त्रीहरुको सवार भयो । त्यहीं वेला लुकेर गेटबाट भित्र छिरें । भित्र छिरेपछि विशाल भवनहरु, शहर जस्तो । रेडियो नेपाल पुग्न निक्कै हिड्नुपर्ने रहेछ । रेडियोको सेकुरिटी गेटमा परिचय पत्र विना प्रवेश निशेध लेखिएको रहेछ । फेरी फसाद परें । सेकुरिटीलाई खगेन्द्र सरले बोलाएर आएको झट्टै पुर्‍याईदिनु अपर्झट काम छ भनें । परिचय पत्र माग्नुभएन । त्यहां जोगियो । भित्र पट्टी समाचार शाखामा खगेन्द्र सरलाई खोज्दै पुगें ।
डराई डराई भित्र पसें । परिचयक्रममा केबी राना भन्ने बित्तिकै बिचमै राना थारु होनि भनेर सोध्नुभयो । म राना मगर भन्ने वित्तिकै आफु झुक्किएको बताउनुभयो । हामीले राना थारु समुदायबाट रिपोर्टर राख्ने हो । मगर भएत कुरा मिलेन भन्नुभयो । नवलपरासीमा बहुसंख्यक थारु भएकोले थारु समुदायकै रिपोर्टर राख्ने भनेपछि म नजावाफ भएं । मगरहरुको पनि बाहुल्यता रहेको भनेपनि मेरो कुरा उहाँले सुन्न तयार हुनुभएन । उहां अर्कै काममा व्यस्त हुनुभयो । करिव १ घण्टा जति म उहांकै कक्षमा बसीराखें । सिंहदवारमा छिर्न गर्नुपरेको कसरत खेर जानेभयो । म निक्कै चिन्ति भएं ।
१ घण्टा पछि खगेन्द्र सरले यत्ति कामलाई मात्रै आएको कि अन्य काम पनि भनेर सोध्नुभयो । मैले गीत रेकर्ड गर्न पनि योजना रहेको सुनाएं । ए तपाई गीत पनि गाउनुहुन्छ भनेर अलि उत्साहित भएर सोधिसकेपछि मेरो गायत यात्रा, बाल्यकालमा रेडियो फुटालेको कथा, रेडियोप्रतिको चासो र एल्वम निकाल्ने तयारीमा रहेको कथा सुनाएं । निक्कै खुशी हुनुभयो । तपाई बहुप्रतिभावाला मान्छे रहेछ । गायक भनेसी त काम लाग्ने मान्छे रहेछ । लु काम दिन्छु यसमा निवेदन लेख्नुस त भनेर ह्वाईट पेपर निकालेर दिनुभयो । बायोडाटा र अन्य कागजातहरु पनि दिने भनेपछि त्यहां फोटोकपी गर्न पाईएन । भोली पल्ट ल्याउन भन्नुभयो । भोलीपल्ट सिंहदरवार छिर्ने उही समस्या ।

मेरो एप्लीकेशन, सिभि र अन्य डकुमेन्टस चलचित्र निर्देशक तिर्थ थापा मार्फत पठाईदिएं । खगेन्द्र सरले भोलीपल्टैबाट समाचार सम्प्रेषण गर्न भन्नुभयो । तर अन्त कतै हल्ला नगर्न, ३ महिना पछि मात्रै निधो दिने बताउनुभयो । मैले खुरु खुरु समाचार लेखेर पठाएं । मेरो समाचार समाचार शाखाका टिमले निक्कै रुचाउनुभएछ । मलाई नियुक्ति पत्र घरै पठाउनुभयो ।

एक दशक रेडियो नेपालमा काम गर्ने मौका मिल्यो । त्यस बिचमा सिंहदरवारलाई नजिकबाट चिन्ने मौका मिल्यो । केही देश घुम्ने मौका मिल्यो । रेडियो नेपालमा काम गरेकै अनुभवका आधारमा कान्तिपुर टेलिभिजन, नागरिक दैनिक जस्ता ठूला मिडिया हाउसमा पनि काम गर्ने मौका मिल्यो । त्यस विचमा नेपालको उच्च ओहोदा राजनीतिज्ञ, राष्ट्रसेवक, सामाजिक अभियान्ताहरु, संचारकर्मीहरुसंग संगत गर्न पाएं । वास्तविक नेपाल चिनियो ।
सिंहदरवार भित्र बस्नेहरु देश बनाउने उच्च ओहोदा नागरिक हुन । क्षमतावान, निष्ठावान, राष्ट्रप्रति जिम्मेवार हुन्छन् । भन्ने मेरो बुझाई थियो । तर मैले सोचे जस्तो सिंहदरवार रहेनछ । त्यहां भित्र केही पात्रहरु मैले सोचेकै जस्ता रहेछन् । कति त मैले कल्पनै नगरका पनि । निति निर्माण तहमा रहेकाहरु आफ्नो व्यक्तिगत स्वार्थका निम्ति राज्यको श्रोत साधनको दुरुपयोग गरेको, नितिगत भ्रष्टाचार, भ्रष्ट मानसिकताले मलाई विक्षिप्त बनायो । देश बनाउने मुख्य केन्द्र नै यो हालत भएपछि देशले के आशा गर्नु ?
यस खाले बेतिथि रोक्नु रेडियोको दायित्व रहन्छ । रेडियो नेपाल सहित सरकारी मिडिया हाउसहरु सरकारको भजन गाउने स्थान भन्दा माथि उठ्न सकेको छैन । प्राईभेट सञ्चारगृहरु ठूला मिडिया हाउसको ठुलै धन्दाहरु । साना एफ. एम, टेलिभिजन, पत्रपत्रिकाहरु कसरी टिकाउने भन्ने नै तनावमा छन् । कोरा जनशक्ति तयार पारेर योग्य बन्दा सम्म यो पेशाबाट पलायन हुने अर्को समस्या । केही पात्रहरु आफैं लगानी गरेर आफै मजदुर भएकाहरुको आफ्नै व्यथा छ । रेडियोले नेपालको सवै भुगोलका नागरिकलाई सुसुचित गर्न खेलेको भूमिका योगदान अमुल्य छ । यसको संस्थागत विकास गर्न संख्यात्मक विस्तार भन्दा गुणात्मक सुधार आवश्यक छ । यी संस्थाहरु सवल भयो भने मात्रै वास्तविक लोकतन्त्रको संस्थागत हुनेछ ।

मेरो व्यक्तिगत सन्दर्भमा रुचाङ्गको अन्कन्टार डांडामा हुर्केको ठिटोले देखेको सपना पुरा भएको छ । यस विचमा एउटा रेडियो कर्मीको नाताले यो समाज र राष्ट्रका निम्ति जे जति गर्न सके र म जहां छु रेडियो र रेडियो कर्मकै देन हो ।

आजको दिनमा हावाबाट सन्देश पठाउन सकिन्छ भन्ने सिद्वान्तको प्रतिपादन गर्ने महान वैज्ञानिक मार्कोनीप्रति आभार व्यक्त गर्दछु । हुन त मार्कोनीले हावाबाट सन्देश पठाउन सकिन्छ भन्ने सिद्वान्त सार्वजनिक गर्ने वेलामा उनका साथीहरुले मानसिक अवश्था ठिक नभएको भन्दै उनलाई हिरासतमा लगे । मनोवैज्ञानिक अस्पतालमा उनको उपचार गराईयो । आज ती स्वप्नदर्शी ठिकै अवश्थामा छन् । संसार आज प्रचुर अवसरले भरिएको छ । त्यस्तो अवसर अतीतका स्वप्नदर्शीको भाग्यमा थिएन ।

म आज भाग्यमानी युवा । मार्कोनीले सपना देख्नुभयो । संसारभरि रेडियो टेलिभिजनको विकास भयो । त्यही रेडियोमा वोल्ने मेरो सपना पनि पुरा भएको छ । आम रेडियोकर्मीहरुको सपना पुरा होस । बोल्नेहरु बोलेर जिविकोपार्जन गर्ने सुनिश्चितता होस । रेडियोले जनभावनालाई कहिल्यै नकुल्चियोस । विश्व रेडियो दिवशको हार्दिक शुभकामना ।

(लेखक  दुई दशक देखि रेडियोकर्ममा कृयाशिल छन् ।)

 

प्रकाशित : २०७९ फागुन २ गते ८:३८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI