राष्ट्रपति निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा राप्रपा भित्र मतभिन्नता

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ २९ गते ९:४५
राष्ट्रपति निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा राप्रपा भित्र मतभिन्नता

काठमाडौं। आगामी निर्वाचनमा राष्ट्रपति निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा  राप्रपा भित्रमतभिन्नता देखिएको छ। प्रमुख सचेतकसमेत रहेका राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति निर्वाचनमा राप्रपाले मत नदिने बताए।

संवैधानिक राजतन्त्रको वकालत गर्ने पार्टीले राष्ट्रपति निर्वाचनमा मत दिन नहुने भन्दै एक समूहले अध्यक्ष राजेन्द्र लिङ्देनमाथि दबाव बढाउन थालेको छ।

उनीहरुले संवैधानिक राजतन्त्र र हिन्दु राज्य कायम गर्ने मुद्दा बोकेर हिँडेको शक्तिले राष्ट्रपतिको चुनावमा मतदान गर्दा एजेण्डा कमजोर हुने तर्क गर्दै राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने भन्दै अध्यक्षमाथि दबाव बढाउन थालेका हुन्।

तर अध्यक्ष लिङ्देन भने यही संविधानलाई मानेर निर्वाचनमा सहभागी भएर सरकारमा गइसकेपछि राष्ट्रपति निर्वाचनमा तटस्थ बस्न नहुने पक्षमा छन्।

‘हामीले यही संविधानभित्र रहेका आफ्ना माग र एजेण्डा प्रस्तुत गर्ने हो। संसदबाट नै हाम्रा माग र एजेण्डा स्थापित गर्ने हो। त्यसकारण अहिले यो संविधान र संसदलाई बेवास्ता गरेर अगाडि बढ्ने अवस्था छैन,’ अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले भन्यो।

विशेष गरी पार्टीको मुल एजेण्डा विपरित राष्ट्रपतिको चुनावमा तटस्थ बस्नुपर्छ भन्ने लाइनमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही छन्। उनले पार्टी सरकारमा सहभागी भएजस्तो राष्ट्रपतिको चुनावमा भाग लिने नदिने विषय सजिलो नभएको बताए।

‘सरकारमा सहभागी भएको हुनाले राप्रपाले राष्ट्रपति निर्वाचनमा मत दिन्छ भनेर धेरैले सोचेका होलान्,’ शाहीले डिसी नेपालसँग भने, ‘संवैधानिक राजतन्त्र र हिन्दु राज्य पार्टीको वैधानिक एजेण्डा हो। राष्ट्रपतिको चुनावमा मतदान गर्ने नगर्ने विषय संसदीय दलले निर्णय गर्ने होइन, यो पार्टीको तल्लो कमिटीदेखि केन्द्रीय कार्यसम्पादन समितिको बैठकसम्म छलफल भएर निर्णय हुन्छ।’

उनले राष्ट्रपतिको निर्वाचनमा मत दिनुपर्छ भन्ने लाइनमा पार्टीभित्र कोही पनि भएको जिकिर गरे। राप्रपाभित्र सत्ता पक्षले उठाएको उम्मेदवारले जित्ने सुनिश्चित भएको भन्दै हार्ने उम्मेदवारलाई मत किन दिने भन्ने प्रश्न उठ्न थालेको छ।

स्रोतका अनुसार पूर्व सहमति अनुसार राष्ट्रपतिमा एमालेले दिने उम्मेदवारले जित्ने सुनिश्चित भइनसकेको भन्दै माओवादीले एमाले उम्मेदवारलाई भोट हाल्ने निश्चित नभएसम्म राट्रपति निर्वाचनमा पार्टी तटस्थ बस्नुपर्छ भन्ने मत बलियो छ। ‘राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा मत दिने र तटस्थ बस्नुपर्छ भन्ने दुई लाइन रहेको छ,’ राप्रपाका एक शीर्ष नेताले डिसी नेपालसँग भने।

राष्ट्रपतिमा स्वतन्त्र व्यक्तिको खोजी गर्ने, राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसो हुन नसके विचार मिल्ने दलसँग सहकार्य गर्ने माओवादी केन्द्रले निर्णय गरेपछि सत्ता पक्षले उठाएको व्यक्ति राष्ट्रपति हुने निश्चित नभएको भन्दै हार्ने उम्मेदवारलाई किन मत दिने भन्ने विषय राप्रपाभित्र पेचिलो बन्दै गएको छ।

प्रचण्डलाई पुस १० मा प्रधानमन्त्री बनाउने सहमति गर्दा राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएको थियो। तर पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि कांग्रेसले राष्ट्रपतिमा माओवादीको साथ पाउने अपेक्षा गर्दै उम्मेदवारी दिने निर्णय गरेको छ।

प्रकाशित : २०७९ माघ २९ गते ९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI