नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरुलाई आज पशुपति शमशेर जबराले शपथ गराउँदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष ७ गते ८:००
नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरुलाई आज पशुपति शमशेर जबराले शपथ गराउँदै
File photo of Rastriya Prajatantra Party Chairman Pashupati Shumsher Rana. Photo: THT

कावासोती । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहीबार शपथ गराउने भएका छन् । त्यसका लागि संसद सचिवालयले नयाँ बानेश्वरमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

संसद सचिवालयका अनुसार शपथ लिने सांसदहरु राष्ट्रिय पोशाक वा आफ्नो पहिचान झल्काउने पोशाकमा ११ बजे पुग्नुपर्ने छ भने १ बजे जबराले शपथ गराउनेछन् । जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।  नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते  रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई  शपथ दिलाउनुपर्छ ।

नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

प्रकाशित : २०७९ पुष ७ गते ८:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI