कावासोती(रासस) । पुर्वी नवलपरासीको नारायणी नदी वारीको निकुञ्ज क्षेत्रका गाउँ बस्तीहरुमा गैंडा लगाएतका वन्यजन्तुका कारण किसानहरुलाई बालीनाली जोगाउन समस्या भएको छ ।
जिल्लाको दक्षिण भेग बस्तीमा गैंडा पसेर बालीनाली नष्ट गरिदिँदा स्थानीयबासी चिन्तित भएका हुन् । खेती स्याहार्ने बेलामा गैंडाले बढी दुःख दिने गरेको कावासोती-१२ कि सुकमाया घले बताउनु हुन्छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर रातको समयमा दिनहुँजसो गैंडाले उखु, केरा, तरकारी खाएर नष्ट गर्ने गरेको छ । गैंडाले खेतीपाती नष्ट गर्नुका साथै मान्छेको ज्यानै जाने खतरा पनि उत्तिकै रहेको स्थानीय बताउछन् । झमक्क साँझ नपर्दै निस्क्ने गैंडा लगाएतका वन्यजन्तुका कारण हिडडुल गर्न समेत गार्हो हुने गरेको कावासोती-१२ का जगतकाजी गुरुङ बताउनु हुन्छ । ‘तीन खेती लगाउने खेतमा गैंडा लगाएतका वन्यजन्तुका कारणले लगाईएका बाली नाली नष्ट मात्रै भएका छैन गाउँघरमा हिडडुल गर्न समेत डर बढेको छ’, गुरुङले बताउनु भयो ।
जिल्लाको दक्षिण क्षेत्रका खेतहरुमा एक वर्षमा तीन खेती हुने गरेको भए पनि बालीनालीमा वन्यजन्तुले क्षती पुर्याउदा कृषकहरुनै चिन्तित भएका हुन । कावासोती नगरपालिकाको करिब ४ किलोमिटर क्षेत्रमा गैंडा लगाएतका वन्यजन्तु रोक्न भनेर पर्खालनिर्माण गरिएको भए पनि गैडा लगाएतका वन्यजन्तु आउने गरेको शान्तिकुन्ज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कमलबहादुर परियार बताउनु हुन्छ । विभिन्न ठाउँमा निकुञ्ज क्षेत्रमा प्रवेश गर्न बनाईएका अव्यवस्थित गेटबाट गैंडा लगाएतका वन्यजन्तु आउने गरेका अध्यक्ष परियारले बताउनु भयो । गैंडाले दिनहुँजसो बस्तीमा पसेर आतंक मच्चाएपछि स्थानीयबासी रातभर गौंडो कुरेर गैंडा लखेट्ने गरिरहेको उहाँको भनाई थियो । ‘निकुञ्जबाट निस्किएका गैंडालाई उतै लखेटेर घर फर्किन्छौ, हामी घरमा आईनपुग्दै गैंडा बस्तीमा आईपुग्छ’, परियारले भन्नू भयो ।
कावासोती-१२ कि माया गुरुङले दुई वर्ष देखि चार कठ्ठा बारी बाँझै राख्नुभएको छ । खेति लगाएपनि वन्यजन्तुबाट जोगाउन मुस्किल पर्ने भएपछि बारी बाँझो राख्नु परेको उहाँको भनाई थियो । स्थानीय राजेश लम्सालको गुनासो पनि फरक छैन । खानका लागि करेसा बारीमा लगाएको तरकारी समेत निकुञ्जमा रहेका गैँडाले नष्ट गरिदिने गरेको लम्सालले बताउनु भयो । गैंडा लगाएतका वन्यजन्तुका कारणले खेतिबाली नष्ट भए पनि समयमै क्षतिपूर्ति नपाउने र पाईहाले पनि उचित क्षतिपूर्ति नपाउने गरेको कावासोती-१३ कृषक चेतनारायण चौधरीले बताउनु भयो । स्थानीय मध्यवर्ती उपभोक्ता समितिको सिफारिसमा निकुञ्जले क्षतिपूर्ति उपलब्ध गराउने भए पनि झन्झटिलो प्रक्रिया र उचित क्षतिपूर्ति नपाउने कारणले किसानहरु समस्यामा पर्ने गरेका कावासोती-१३ का पुर्व वडा अध्यक्ष विनोद राना मगरले बताउनु भयो ।
चितवन राष्ट्रिय निकुञ्जमा हाल ६ सय ९४ वटा गैँडा, १ सय २८ वटा बाघ र ४५ वटा हात्ती छन् । जरायो, बँदेल, चितुवा, बाँदर, मयुर लगाएतका जनावर पनि उल्लेख्य छन् । यीनै जनावर निकुञ्ज आसपासका बस्तीमा आउँछन् र किसानलाई दुख दिन्छन् । निकुञ्जको जनावर बाहिर आउन नदिने गरी वाल सहितको तारजाली लगाईएको भए पनि तो प्रभावकारी भएको छैन । निकुञ्जमा जनावरको सङ्ख्या बढ्नु प्रकृति र पर्यटकीय हिसाबले राम्रो मानिन्छ । तर यिनै जनावरका कारण बालिनालीमा पुग्ने क्षतिबाट भने निकुञ्ज प्रभावित क्षेत्रका किसान हैरान छन् र उनिहरुले सरकारबाट उचित क्षतिपूर्ति समेत नपाएको गुनासो गरेका छ्न ।
प्रकाशित : २०७९ पुष २ गते १६:४३
Facebook Comment