काठमाडौं । पाकिस्तानविरुद्ध आज दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टिमले ऐतिहासिक खेल खेल्दै छ । पाकिस्तानको यो मैत्रीपूर्ण फुटबल भएपनि दशरथ रंगशालामा नेपाली पुरुष फुटबल टिमले खेल्न लागेको यो ५० औँ अन्तर्राष्ट्रिय खेल हो ।
सन् १९८४ मा पहिलो माल्दिभ्सविरुद्ध खेल्दै दशरथ रंगशालालाई नेपाली फुटबलको घर बनाएको नेपाली टिमले आज पाकिस्तानको खेलसँगै ५० औँ अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पार गर्दै छ ।
यो खेल नेपाली समयअनुसार साँझ पाँच बजेदेखि सुरु हुनेछ । यो खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिमको जिम्मेवारी मछिन्द्र क्लबका प्रवेश कटुवाललाई दिएको छ । कटुवालले कप्तानको जिम्मेवारी अनुभवी खेलाडी रोहित चन्दलाई सुम्पिएका छन् ।
पाकिस्तानले दुई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेपनि एन्फाले आसन्न निर्वाचनका कारण सुरक्षा चुनौती औँल्याउँदै एक खेलमात्र खेल्ने निर्णय गरेको थियो ।
यसै वर्षको जुलाई १ मा फिफाको प्रतिबन्धबाट फुकुवा भएको पाकिस्तानी फुटबलका लागि पनि यो खेल निकै विशेष छ ।
दशरथ रंगशालामा नेपाल
सन् १९८४ मा माल्दिभ्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेले पनि नेपालले त्यसको दुई वर्ष अघिदेखि नै दशरथ रंगशालामा खेल्न सुरु गरिसकेको थियो । त्यसयता हालसम्म नेपालले दशरथ रंगशालामा २१ फरक राष्ट्रसँग खेलिसकेको छ । रंगशालामा नेपालले ५७ गोल गरेको छ । यसमा दुई आत्मघाती गोल छन् ।
भरत खवास ६ गोलसहित रंगशालामा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन् । हरि खड्काले पाँच गोल गर्दा अञ्जन विष्ट र अनिल गुरुङले समान चार गोल गरेका छन् ।
तथ्यांकमा नेपाल र पाकिस्तान
दशरथ रंगशालामा ५० औँ खेल खेल्दै गर्दा नेपाल र पाकिस्तानबीचको भने यो १७ औँ खेल हो । दक्षिण एसियाका परिचित यी दुई टिमले हालसम्म १६ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । जसमा नेपालले पाँच खेलमा जित निकाल्दा चार खेलमा हार बेहोरेको छ । यी दुई टिमबीचको ६ खेल बराबरीमा सकिएको छ ।
नेपालले सन् १९८५ पहिलोपटक पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जुन खेल २–२ को बराबरीमा सकिएको थियो ।
दशरथ रंगशालामै यी दुई टिमले अहिलेसम्म सात खेल खेलेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा पाकिस्ताको पुनरागमन
जुलाई १ मा फिफाको प्रतिबन्धबाट फुकुवा भएको पाकिस्तानले नेपालसँगको खेलसँगै तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किंदै छ । पाकिस्तानलेसन् २०१९ मा कम्बोडियासँग पछिल्लो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो ।
नेपालसँग भने पाकिस्तानले चार वर्षपछि खेल्न लागेको हो । सन् २०१८ को साफ च्याम्पियनसिपमा पछिल्लोपटक यी दुई टिमबीच खेल भएको थियो ।
पाकिस्तान नौ वर्षपछि नेपाल भ्रमणमा आएको हो । पछिल्लो पटक सन् २०१३ को साफ च्याम्पियनसिपका लागि पाकिस्तान नेपाल आएको थियो ।
प्रकाशित : २०७९ कार्तिक ३० गते ९:५१
Facebook Comment