कावासोती । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा तर्फको निर्वाचनका लागि गत असोज २३ गते मनोनयन भए सँगै राजनीतिक माहोल तातेको छ । केही पुरानै र केही नयाँ अनुहारहरु मत माग्दै मतदाताको घर दैलोमा लाग्न सुरु गरेका छ्न । राजनीतिक दलका कार्यकर्ता भेटघाट, बैठक, अन्तरक्रिया, भेलाहरु बाक्लो रुपमा जिल्लामा सुरु भएको छ ।
२ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपुरको क्षेत्र नं २ मा भने पुरानै प्रतिस्पर्धी मैदानमा उत्रिएका छन । गत २०७४ मा सम्पन्न निर्वाचनमा विजेता बनेका नेकपा एमालेका तिलबहादुर महत र नेपाली कांग्रेसका विष्णुकुमार कार्कीनै पुन: उम्मेदवार बनेर मतदाताको माझ आए पछि यस क्षेत्रको राजनीतिक माहोल तातिएको छ ।
गत २०७४ को आम निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका तिलबहादुर महतले नेपाली कांग्रेसका विष्णुकुमार कार्कीलाई १ हजार ३ सय ३३ को मतान्तरले पराजित गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीले ३७ हजार ७ सय २० मत प्राप्त गर्दा विजेता बनेका वामगठबन्धनका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले ३९ हजार ५३ मत पाएका थिए ।
२०७४ मा नेकपा एमाले , नेकपा माओवादी केन्द्र सहित बाम गठबन्धन बाट निर्वाचन गएका वामदलहरु अहिले भने एकै ठाउँमा छैनन । २०७९ को निर्वाचन सम्म आईपुग्दा २०७४ मा एक्लै चुनाव लडेको नेपाली कांग्रेस यति बेला भने नेकपा माओवादी केन्द्र र नेकपा एमाले फुटेर बनेको नयाँ नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन बनाएर चुनावमा होमिएको छ ।
२०७४ को सहयात्री दल नेकपा माओवादी केन्द्र र आफ्नै पार्टी फुटेर नयाँ गठन भएको नेकपा एकीकृत समाजवादी सहित नेपाली कांग्रेसको गठबन्धन बनेको हुँदा यो निर्वाचनमा भने एमाले उम्मेदवार महतलाई त्यति सजिलो भने छैन । यद्यपि स्थानीय निर्वाचनमा क्षेत्रका ४ पालिका मध्ये ३ पालिकामा जित हासिल गरेको एमालेका महत दोस्रो पटक पनि दोहोरिने गरेर लागेका छ्न भने साबिक नवलपरासी हुँदा क्षेत्र नं ३ पर्ने यो क्षेत्रमा २०४८ देखि अहिलेसम्म पनि जित्न नसकेको कांग्रेस अहिले भने गठबन्धनको बलमा एमालेको विरासत भत्काउन पूरा तयारीका साथ मैदानमा आएको देखिन्छ ।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सहित केही स्वतन्त्र उम्मेदवारहरुले पनि एक्लाएक्लै उम्मेदवारी दिएका ले मतदाताको रोजाइमा को उम्मेदवार या कुन दल पर्छ्न त्यो हेर्न भने मंसिर ४ नै कुर्न पर्ने देखिन्छ ।
प्रकाशित : २०७९ असोज २९ गते १६:४९
Facebook Comment