काठमाडौं । प्रत्येक वर्ष जसो सर्वाधिक कर तिर्ने पहिलो नम्बरमा सूर्य नेपाल नै पर्ने गरेको छ । गतवर्ष पनि बढी कर तिर्ने कम्पनीहरूमा यही कम्पनी नै पहिलो नम्बरमा परेको छ । अघिल्लो वर्ष सर्वाधिक कर तिर्ने करदातामा सूर्य नेपाल नै पहिलो नम्बरमा थियो । अघिल्लो वर्ष नौ अर्ब ३४ करोड रुपैयाँ कर तिरेको यो कम्पनीले गतवर्ष १० अर्ब ७२ करोड रुपैयाँ कर तिरेको छ । यो कम्पनीले ठूला करदाता कार्यालय स्थापना भएदेखि नै सर्वाधिक कर तिर्दै आएको बताइएको छ ।
ठूला करदातामा बुझाएको करको विवरण हेर्दा गतवर्ष चारवटा कम्पनीले पाँच अर्बभन्दा बढी कर तिरेका छन् ।
पाँच अर्बभन्दा बढी कर बुझाउनेमा सूर्य नेपाल, नेपाल दूरसञ्चार कम्पनी, एनसेल आजियाटा र गोर्खा ब्रुअरी रहेका छन् । यी कम्पनीमध्ये सबैभन्दा बढी सूर्य नेपालले १० अर्ब ७२ करोड रुपैयाँभन्दा बढी कर तिरेको छ भने नेपाल दूरसञ्चार कम्पनीले नौ अर्ब ८२ करोड, एनसेलले सात अर्ब ५९ करोड र गोर्खा ब्रुअरीले पाँच अर्ब ८९ करोड रुपैयाँ कर तिरेका छन् ।
सूर्य नेपाल प्रालि सन् १९८६ मा स्थापना भएको कम्पनीको हो । यो कम्पनीमा भारतीय आईटीसी लिमिटेडको ५९ प्रतिशत सेयर रहेको छ । ३९ प्रतिशत सेयर नेपालीहरूको व्यक्तिगत र संस्थागत रहेको छ ।
त्यसैगरी यो कम्पनीमा ब्रिटिस अमेरिका टोबाक्को (इन्भेष्टमेन्ट) लिमिटेडको पनि सेयर रहेको छ । यो कम्पनीले सूर्य चुरोट, अगरबत्ती, सलाई र कन्फेक्स्नरीको उत्पादन र वितरण गर्दै आएको छ ।
कम्पनीले वार्षिक २४ अर्ब रूपयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । त्यस्तै कम्पनीले वार्षिक नाफा नौ अर्बभन्दा बढी गर्दै आएको छ । यो कम्पनीले अघिल्लो वर्ष नौ अर्ब ३४ करोड रुपैयाँ कर तिरेको थियो ।
त्यस्तै एनसेल पनि विदेशी लगानी भएको कम्पनी हो । यो कम्पनीले अघिल्लो वर्षको भन्दा गत वर्ष कम कर तिरेको छ । अघिल्लो वर्ष आठ अर्ब रुपैयाँ कर तिरेको थियो भने गत वर्ष सात अर्ब ५९ करोड रुपैयाँ कर तिरेको तथ्यांक छ ।
नबिललाई उछिन्यो एनआईसी एशियाले
अघिल्लो वर्ष सर्वाधिक आयकर तिर्ने बैैंकहरूमध्ये पहिलो नम्बरमा नबिल बैंक थियो । तर, उक्त बैंकलाई तल पार्दै बढी कर तिर्ने बैंकहरूमध्ये पहिलो नम्बरमा एनआईसी एशिया बैंक पुग्न सफल भएको छ । गत वर्ष यो बैंक बढी कर तिर्ने बैंकहरूको दोस्रो नम्बरमा थियो । यो बैंकले गत वर्ष तीन अर्ब ४१ करोड रुपैयाँ कर तिरेको थियो ।
गतवर्ष बढी कर तिर्ने १० वटा कम्पनीमध्येमा पाँच वटा बैंक परेका छन् । बढी कर तिर्ने बैंकहरूमध्ये शीर्ष पाँचमा एनआईसी एशिया, नबिल, ग्लोबल आइएमई, सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
त्यस्तै बढी कर तिर्ने बैंकहरूमध्ये पहिलो नम्बरमा रहेको एनआईसी एशियाले गत वर्षको भन्दा कम कर तिरेको छ ।
अघिल्लो वर्ष तीन अर्ब ६१ करोड रुपैयाँ कर तिरेको यो बैंकले गत वर्ष तीन अर्ब ४१ करोड रुपैयाँ कर तिरेको छ ।
तर, अघिल्लो वर्षको भन्दा एक स्थान तल झरेको भए पनि ग्लोबल आइएमई बैंकको भने गत वर्ष कर रकम बढेको छ । अघिल्लो वर्ष यो बैंकले तीन अर्ब रुपैयाँ कर तिरेको थियो भने गत वर्ष तीन अर्ब १७ करोड रुपैयाँ कर तिरेको छ ।
विद्युत प्राधिकरणले तिर्याे करिब चार अर्ब कर
नेपाल विद्युत् प्राधिकरणले गत वर्ष करिब चार अर्ब रुपैयाँ कर तिरेको छ । अघिल्लो वर्ष दुई अर्ब ९० करोड रुपैयाँ कर तिरेको प्राधिकरणले गत वर्ष तीन अर्ब ९९ करोड रुपैयाँ कर तिरेको हो । अघिल्लो वर्षको तुलनामा प्राधिकरणले गत वर्ष एक अर्ब रुपैयाँभन्दा बढी कर तिरेको थियो ।
वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी करयोग्य कारोबार गर्ने कम्पनीहरू ठूला करदाता कार्यालयमा सूचीकृत हुने गरेका छन् । यो कार्यालय स्थापना २०६० माघ १ गते भएको हो । यो कार्यालय स्थापना भएदेखि नै सूर्य नेपाल ठूला करदातामा सूचीकृत भएको बताइएको छ । गत वर्ष ५४५ कम्पनी यो कार्यालयमा सूचीकृत भएका छन् ।-बाह्रखरीबाट
प्रकाशित : २०७९ भदौ १३ गते ९:५३
Facebook Comment