गण्डकीको विवाद मिल्यो : आज देखि बजेट माथी छलफल

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार २० गते ८:३९
गण्डकीको विवाद मिल्यो : आज देखि बजेट माथी छलफल

पोखरा- सांसद विकास कोषको बजेट काटिएपछि अन्योलमा परेको गण्डकी प्रदेशको बजेटमाथिको छलफल १९ दिनपछि सोमबार (भोलि) दिउँसो १ बजेदेखि हुने भएको छ ।
आर्थिक वर्ष २०७९/०८० को बजेटमा मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले राख्‍न चाहेको उक्त कार्यक्रम अर्थमन्त्री रामजी बरालले काटिदिएपछि असार ५ गतेलाई डाँकिएको संसद् बैठक रातारात स्थगित भएको थियो । सांसद विकास कोष कार्यक्रम बजेटमा समेट्ने र अन्य केही सहमतिपछि बजेटमाथिको छलफल हुने भएको हो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा थप्‍ने र मन्त्रालयको सिलिङभित्रको योजना नै काटिएको विषयमा क्रस चेक गर्ने, थपघट गर्नुपरे अर्थ विविध शीर्षकबाट गर्ने र संसदमा छलफल पनि चलाउने सहमति भएको स्रोतको भनाइ छ । छलफलपछि कार्यक्रम सच्याएर रातो किताब निकाल्ने सहमति भएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
गत १ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए ।
बजेट भाषण पश्चात २ गते बजेट उपर छलफल गर्ने भनिए पनि १८ दिन बितिसक्दा समेत मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरू र अर्थमन्त्री रामजी बरालबीच तालमेल नमिल्दा बजेटमाथि छलफल हुन सकेको थिएन।

प्रकाशित : २०७९ असार २० गते ८:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI