नवप्रवेशी गुजरातले जित्यो आईपीएलको उपाधि

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १६ गते ९:१८
नवप्रवेशी गुजरातले जित्यो आईपीएलको उपाधि

काठमाडौं । कप्तान हार्दिक पाण्डेयको अलराउन्ड प्रदर्शनप्रेरित गुजरात टाइटन्सले आइतबार राति राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।

अहमेदावादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

नवप्रवेशी गुजरातको आईपीएलमा यो पहिलो उपाधि हो । गुजरात र लखनउ सुपर जायन्टले यसै संस्करणबाट आईपीएल खेल्न थालेका हुन् । लखनउले पनि प्लेअफमा स्थान बनाएको थियो । लखनउ इलिमिनेटरबाट बाहिरिएको थियो । गुजरात उपाधि उचाल्न सफल भयो ।

टस जितेर ब्याटिङ थालेको राजस्थानका लागि जोश बट्लरले ३९ रन बनाएका थिए । यशस्वी जैसवालले २२ रन बनाए । रियान परागले १५ रन जोडे । कप्तान सञ्जु सामसनले १४ रन बनाए । सिमरन हेटमायर र ट्रेन्ट बोल्टले समान ११ रनको योगदान गरे ।

गुजरातका हार्दिक पाण्डेयले चार ओभरमा १७ रन दिएर तीन विकेट लिए । रविश्रीनिवासन साई किशोरले दुई विकेट लिए । मोहम्मद सामी, यश दयाल र रशिद खानले एक/एक विकेट लिए ।

१३१ रनको लक्ष्य पूरा गर्ने क्रममा गुजरातका लागि कप्तान हार्दिक पाण्डेयले ३० बलमा तीन चौका र एक छक्कासहित ३४ रन जोडे । सुबमन गिलले अविजित ४५ रन बनाए । डेभिड मिलर ३२ रनमा अविजित रहे ।

राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले एक/एक विकेट लिए ।

जितसँगै गुजरातले राजस्थानलाई जारी सिजन लगातार तेस्रो खेलमा हराउन सफल भएको छ । पहिलो क्वालिफायरमा पनि गुजरातले राजस्थानलाई ७ विकेटले नै हराएर फाइनलमा स्थान बनाएको थियो । तर, दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै राजस्थानले पुनः गुजरातसँग भेट पक्का गरेको हो । समूह चरणमा पनि गुजरातले राजस्थानलाई ३७ रनले पराजित गरेको थियो ।

 

प्रकाशित : २०७९ जेठ १६ गते ९:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI