तारा एयरको जहाज दुर्घटनास्थल पुगेका स्थानीयले शव क्षतविपक्ष अवस्था रहेको जानकारी दिएका छन् । समाजसेवी समेत रहेका स्थानीयवासी इन्द्रसिंहले दुर्घटनास्थलमा शव यत्रतत्र क्षतविक्षत अवस्थामा रहेको र अहिले संकलन कार्य भइरहेको जानकारी दिए । उनका अनुसार केही शवचाहिँ चिनिने अवस्था छन् ।
पहाडमा ठोक्किएर विमान दुर्घटनामा परेको उनको भनाइ छ । ‘शव निकाल्ने काम भइरहेको छ । केही चिनिने अवस्था भएपनि धेरैजस्तो क्षतविक्षत अवस्थामा छ’, घटनास्थलबाट सोमबार बिहान साढे ८ बजे उनले टेलिफोनमा भने, ‘सबैको निधन भएको छ । कोही जिवित छैन ।’
विमान दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पनि पुगिसकेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले घटनास्थलमा सुरक्षाकर्मी पुगेको जानकारी दिए ।
उनकाअनुसार थाङसाङ–२ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो । उनका विमान दुक्राटुक्रा भएको अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्न गएकाहरुले दुर्घटनाबारे जानकारी गराएपछि उद्दार टोली घटनास्थलमा पुग्न सफल भएको बताइएको छ । यस्तै सेनाको हेलिकप्टर पनि घटनास्थल आसपासमा ल्याण्ड हुने प्रयासमा रहेको छ ।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुन पुगेको थियो । आइतबार दिनभर विमानको अवस्था पत्ता लगाउन खोजीकार्य जारी राखिएपनि सोमबार मात्रै स्थान लोकेट भएको हो । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए ।
प्रकाशित : २०७९ जेठ १६ गते ९:०६
Facebook Comment