‘ए’ ग्रेडका नेपाली क्रिकेटरको मासिक तलब अब ६० हजार

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ११ गते १२:३७
‘ए’ ग्रेडका नेपाली क्रिकेटरको मासिक तलब अब ६० हजार

काठमाडौँ – नेपाल क्रिकेट संघले अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टिमका पुरुष तथा महिला खेलाडीहरु, मैदान कर्मचारीहरू, मैदान कार्यालय सहयोगी र टियु मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको क्यानको बोर्ड बैठकले उनीहरुको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय क्रिकेट टिमका (पुरुष) सेन्ट्रल कन्ट्रयाक्टमा रहेका सम्पूर्ण खेलाडीहरूको मासिक पारिश्रमिक १० हजार रुपैयाले वृद्धि गरिएको छ ।  यसअघि ‘ए’ ग्रेडका खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० हजार र ‘सी’ ग्रेडका खेलाडीले ३० हजार पाउँदै आएका थिए । अब भने ‘ए’ ग्रेडका खेलाडीले ६० हजार, ‘बी’ ग्रेडका खेलाडीले ५० हजार र ‘सी’ ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ पाउनेछन् ।

महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड ‘सी’ मा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ५ हजार तथा ‘बी’ र ‘ए’ ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरेको छ । यस अघि ‘ए’ ग्रेडका खेलाडीहरुले १५ हजार, ‘बी’ ग्रेडका खेलाडीहरुले १२ हजार तथा ‘सी’ ग्रेडका खेलाडीहरुले १० हजार प्राप्त गर्दै आएका थिए । अब ‘ए’ ग्रेडका खेलाडीले मासिक २१ हजार, ‘बी’ ग्रेडका खेलाडीले १८ हजार तथा ‘सी’ ग्रेडका खेलाडीले १५ हजार पाउनेछन् ।

त्यसैगरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले तथा टियु मैदान पिच क्यूरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको छ ।

प्रकाशित : २०७९ जेठ ११ गते १२:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI