काठमाडौं । शिमरोन हेटमेयरले अविजित ५९ रन बनाउनुका साथै युजभेन्द्र चाहलले चार विकेट लिएपछि राजस्थान रोयल्सले आइतबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्टमाथि ३ रनको रोमाञ्चक विजय हासिल गरेको छ ।
राजस्थान रोयल्सले खेलेका चारमध्ये चारै खेलमा टस जिटेको छैन । तर, खेलेका चारमध्ये तीन खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । राजस्थान, कोलकाता नाइट राइडर्स, गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलोर र लखनउको समान ६ अंक छ । तर, रनरेटका आधरमा राजस्थान शीर्ष स्थानमा रहेको हो ।
मुम्बईको वाङ्खडे रंगशालामा पनि राजस्थानले टस हारेको थियो । टस हारेर ब्याटिङका लागि निम्त्याइएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । १६६ रनको लक्ष्य पछ्याएको लखनउले ८ विकेट गुमाएर १६२ रनमात्र बनाउन सक्यो ।
राजस्थानका लागि हेटमेयरले ३६ बलमा १ चौका र ६ छक्कासहित अविजित ५९ रन बनाए । रविचन्द्रन आश्विनले २८ रन बनाउँदा देबदत्त प्याडिक्कलले २९ बनाए । जो बट्लर र सञ्जु सामसनले समान १३ रन बनाए ।
लखनउका कृष्णप्पा र जसोन होल्डरले समान दुई विकेट लिए भने आभास खानको नाममा एक विकेट रह्यो ।
१६६ रनको लक्ष्य पछ्याएको लखनउका लागि क्विन्टन डी ककले ३९ रन बनाउँदा मार्कुस स्टोइनिसले अविजित ३८ रन बनाए । दीपक हुडाले २५ रन बनाउँदा क्रुनाल पाण्डेयले २२ र दशमन्था चमीराले १३ रन बनाए ।
राजस्थानका युजभेन्द्र चाहलले चार ओभरमा ४१ रन दिएर चार विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्टले दुई विकेट लिँदा प्रसिद्ध कृष्ण र कुलदीप सेनको नाममा एक/एक विकेट रह्यो ।
आईपीएलमा आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सले प्रतिस्पर्धा गर्दैछन् ।
प्रकाशित : २०७८ चैत २८ गते ८:५३
Facebook Comment