चितवन राष्ट्रिय निकुञ्जले माडीस्थित कुसुमखोलामा रहेका चेपाङ बस्तीमा फेरि आगो लगाएको छ । निकुञ्जले आइतबार चेपाङ बस्तीका २० वटा टहरामा आगो लगाउने र भत्काउने गरेको हो । ३ साउन ०७७ मा पनि निकुञ्जले काजीमान प्रजा र दीपबहादुर प्रजाको घरमा आगो लगाएर १० वटा घर भत्काएको थियो । निकुञ्जले आगो लगाएर एक साताभित्र बस्ती खाली गर्न चेतावनी दिएको थियो ।
निकुञ्ज प्रशासनले हात्ती लगाएर घर भत्काएपछि १५ साउनमा सर्वोच्च अदालतले घरटहरा नभत्काउन, भत्केका घरको क्षतिपूर्ति दिन र चेपाङहरूका लागि बसोवासको व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको थियो । तर, विपन्न चेपाङको आवाज र सर्वोच्चको आदेश नसुनेको तत्कालीन सरकारले त्यही वडामा नक्सासमेत पास नगरी अस्थायी रूपमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरेको थियो । निकुञ्जले उठीबास लगाएको चेपाङको व्यवस्थापन गर्नुभन्दा अहिलेको सरकारले पनि उनीहरूको भविष्यमाथि धावा बोलेको छ ।
माडीको कुसुमखोलामा चेपाङको घरटहरामा निकुञ्ज प्रशासनले आगो लगाएको खबर पाएलगत्तै आइतबार माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकाल घटनास्थल पुगेका थिए । उनले चेपाङ समुदाय ०४८ मा मकवानपुरको लोथरबाट आएर बसोवास गरेको जानकारी दिए । तर, निकुञ्जले काजीमान प्रजासहितको नयाँ २० वटाभन्दा बढी घर–टहरा भत्काउने र आगजनी गरेको बताए । ‘अदालतको आदेशअनुसार पनि हामीले जबर्जस्ती उनीहरूलाई अन्त लैजान मिल्दैनथ्यो, तर केही समयदेखि अन्य मानिसहरू पनि त्यहाँ अस्थायी रूपमा बसोवासका लागि आएका रहेछन्,’ ढकालले भने ।
निकुञ्जले घरटहरामा आगजनी गर्नु, उनीहरूको लत्ताकपडा फ्याँक्नु गलत भएको बताए । ‘बस्नका लागि त्यो उपयुक्त ठाउँ होइन, तर जनप्रतिनिधि, राजनीतिक दलहरूसँग संयुक्त रूपमा पनि यस विषयमा छलफल गरेर अघि बढ्न सकिन्थ्यो,’ उनले भने ।प्रजादम्पतीले पहिले निकुञ्जले आगो लगाएको घरकै केही काठपात प्रयोग गरेर सोही ठाउँमा भान्साघर बनाएका थिए । त्यही घरटहरामा फेरि निकुञ्जले आइतबार आगो लगाइदिएको हो । जनता आवास कार्यक्रममार्फत बनेकोे उनीहरूको घर पनि यहीँ छ ।
चितवन राष्ट्रिय निकुञ्जका वार्डेन हरिभद्र आचार्यले नयाँ छाप्रा भत्काइदिएको हुन सक्ने अनुमान गरे । ‘निकुञ्जका कर्मचारीलाई कुनै पनि अवस्थामा छाप्रामा आगो नलगाउनु भनेको छु,’ उनले भने, ‘त्यहीँका मानिसले लगाए छुट्टै कुरा ।’ निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले पटक–पटक भन्दासमेत अटेर गर्नेको छाप्रो भत्काएको बताए । निकुञ्जभित्र मानव बस्ती बसाल्न प्रतिबन्ध लगाइएको छ ।
वसन्तपुर बजारदेखि दर्जनभन्दा बढी पुल नभएका खोला र खोल्सासँगै घना जंगल कटेपछि माडी नगरपालिका– ९ मा रहेको कुसुमखोला पुगिन्छ । वसन्तपुर बजारदेखि झन्डै १८ किलोमिटर मोटरबाटो हुँदै ४५ मिनेटको पैदल दूरीमा पर्छ यो ठाउँ । धादिङ र मकवानपुरबाट बसाइँ सर्दै चितवनको कुसुमखोला क्षेत्रमा तीन दशकदेखि चेपाङ परिवार बस्दै आएको माडी नगरपालिकाका विपद् व्यवस्थापन स्रोतव्यक्ति गोविन्द न्यौपानेले जानकारी दिए । सुरुमा एक सय ६० चेपाङ परिवार बस्थे । ०७४ मा डुबानमा परेपछि अधिकांश परिवार माडीकै विभिन्न ठाउँमा बसाइँ सरे । १० घरपरिवार भने कुसुमखोला क्षेत्रमै बसिरहेका थिए ।
सरकारको प्राथमिकतामा परेनन् चेपाङ
बागमती सरकारले आव ०७८/७९ को बजेटमा सरकारको समन्वयमा चितवनस्थित माडीको अयोध्यापुरीलाई ऐतिहासिक, धार्मिक तथा पर्या–पर्यटकीय सहरका रूपमा विकास गर्न गुरुयोजना तयार गर्नुको साथै वैकुण्ठधाम मार्ग अयोध्या वाटिका, रामसीता उद्यान, हनुमान झुला, नदी व्यवस्थापनलगायतका निर्माण कार्य अगाडि बढाउने व्यवस्था मिलाएको उल्लेख गरेको छ । केन्द्र सरकारको बजेटमा समेत चितवनको अयोध्यापुरीमा राममन्दिर स्थापना गर्न बजेट विनियोजन भएको उल्लेख छ । कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समितिका अध्यक्ष छवि चेपाङले अन्यायविरुद्ध आन्दोलनमा उत्रिए पनि आफूहरूको माग भने अझै सम्बोधन नभएको बताउँछन् ।-नया पत्रिका दैनिकबाट
प्रकाशित : २०७८ चैत १४ गते ९:०६
Facebook Comment