काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चुनिएका छन् ।
पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बस्नेत यसअघि पनि संगठनको अध्यक्ष थिए ।
यसैगरी महासचिवमा हिरामान लामा तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् ।
असन्तुष्टि
गएराति बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष विष्णु रिजालले गणेश बस्नेत नेतृत्वको कार्य समिति वाचन गरेर सुनाएको थिए । नाम वाचन गरिएकाहरुले मात्रै मनोनयन दर्ता गर्न भनेपछि अन्यले असन्तुष्टि जनाएका छन् । कतिपय महाधिवेशन बीचमै छाडेर पोखराबाट फर्किएका थिए ।
अध्यक्षमा दाबी गरेका माधव तिवारीले निर्वाचन लड्न नदिएको भन्दै संगठनबाट अलग हुने बताएका छन् । उनले भने, ‘अब संगठनविनाको पत्रकारिता गर्छु ।’
अध्यक्ष मण्डलका सदस्यहरुको समेत सहमति नगरी टिम घोषणा गरिनु दुःखद भएको उनले बताएका छन् । सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘प्रेस चौतारी नेपालको नवौं महाधिवेशनमा उम्मेदवारी दर्ता गर्न समेत नपाएपछि साधारण सदस्य समेत नरहने गरी आजैदेखि निष्क्रिय रहने घोषणा गर्दछु । महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यहरुको समेत सहमति नगरी अध्यक्ष मण्डलका अध्यक्ष एक्लैले टिम घोषणा गर्नु झन् दुःखद् छ ।’
Facebook Comment