दिपेन्द्र चम्किदा आयरल्यान्ड १२७ रनमै रोकियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन २ गते १७:२१
दिपेन्द्र चम्किदा आयरल्यान्ड १२७ रनमै रोकियो

काठमाडौं । नेपालले चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा सोमबार आयरल्यान्डविरुद्ध १२८ रनको लक्ष्य पाएको छ ।

मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए । कप्तानको निर्णयलाई नेपालका बलरले सही सावित गरिदिएका थिए । दीपेन्द्रसिंहले चार विकेट लिएपछि आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो । नेपालका कमलसिंह ऐरीले पहिलो ओभरको चौथो बलमै पाउल स्टर्लिङको विकेट लिएका थिए । आक्रमक ब्याट्सम्यान स्टर्लिङ दुई रन बनाएर पवेलियन फर्किएका हुन् ।

तेस्रो ओभरको अन्तिम बलमा अर्का तिब्र गतिको बलर जितेन्द्र मुखियाले गारेथ डेलानीलाई ‘कट एन्ड बोल्ड’ गरे । डेलानीले ९ रन बनाए । पाँचौं ओभरको पाँचौं बलमा अबिनाष बोहराले एन्डी बललिर्नेलाई बोल्ड गरे । कप्तान बलबिर्नेले १९ रन जोडे ।
त्यसपछि नेपालका दीपेन्द्रसिंह ऐरीले लगातार चार विकेट लिएपछि आयरल्यान्ड दबाबमा परेको थियो । दशौं ओभरको दोस्रो बलमा शेन गेटकाटेलाई आउट गरेका दीपेन्द्रसिंहले १२औं ओभरमा दुई विकेट लिएका थिए । १२औं ओभरको पहिलो बलमै कर्टिस चाम्फरलाई आउट गरेको दीपेन्द्र सिंहले चौथो बलमा सिमि सिंहलाई पवेलियनको बाटो देखाए ।

गेटकाटेले १४ रन बनाउँदा चाम्फरले २० र सिंहले १ रन बनाए । दीपेन्द्रसिंहले १६औं ओभरको अन्तिम बलमा लोर्कान टुकरलाई पवेलियनको बाटो देखाए । टुकरले १५ रन बनाए ।

प्रकाशित : २०७८ फागुन २ गते १७:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI