काठमाडौं । नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आएको महाअभियोग प्रस्तावका विषयमा कसरी प्रतिवाद गर्ने भन्ने निर्णय गर्ने जिम्मेवारी नेतृत्वलाई दिएको छ । आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थितिको विश्लेषण गरेर ‘यथोचित निर्णय’ गर्ने बताएका छन् ।
“वस्तुस्थितिको ठोस विश्लेषण गरेर, सम्पूर्ण कानुनको अध्ययन गरेर हिजोका घटनाक्रम र सत्तारूढ गठबन्धनले गरेका सम्पूर्ण व्यवहार कसरी प्रतिवाद भन्ने बारेमा उच्च नेतृत्व बसेर ठोस निर्णय आओस् भनेर सांसदहरूले सुझाव दिनुभएको छ । नेतृत्वले पनि यथाशीघ्र बैठक बसेर विश्लेषण गरेर यथोचित र समयमै निर्णय गर्ने वचनबद्धता जनाउनुभएको छ,” प्रमुख सचेतक विशाल भट्टराईले भने ।
त्यस्तै, एमालेका सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् । त्यो हस्ताक्षर ‘आवश्यक परेको ठाउँ’मा प्रयोग गर्ने जिम्मा नेतृत्वलाई दिइएको उनले बताए ।
“आवश्यक परेको ठाउँमा आवश्यक मुद्धद्दका साथ एमाले सडक, सदन र अदालतबाट पनि यी सबै बेथितिहरू र सत्ता गठबन्धनले अघि सारेका विसंगतिका विरुद्ध अघि बढ्छ,” उनले भने ।
प्रकाशित : २०७८ फागुन २ गते १५:४०
Facebook Comment