दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानमाथि नेपालको जित

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २८ गते १९:०६
दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानमाथि नेपालको जित

काठमाडौं । दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट इनिङको मद्दतमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । दीपेन्द्रले ५३ बल खेली ८ चौका र १ छक्का सहित ७३ रन बनाए । उनीसँगैं अविजित रहेका शरद भेषावकरले ४ रन बनाए ।२०१९ यता शरदको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो खेल हो ।

नेपालको सुरुआत राम्रो थिएन् । ओपनर प्रदीप ऐरी १४ बलमा ४ रनमात्र बनाई आउट भए । अर्का ओपनर आसिफ शेखले ११ बलमा १४ रन बनाए । ज्ञानेन्द्र मल्ल १६ बलमा १३ रन बनाई रनआउट भए । दीपेन्द्रसँग चौथो विकेटमा ४५ रन जोडेका आरिफ शेखले २० बलमा ३ चौका प्रहार गर्दै २५ रन बनाए ।

ओमानको राजधानी मस्कटमा शुक्रबार सुरु प्रतियोगितामा यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले १३५–६ को स्कोर बनाएको थियो । अल एमेरेट रंगशालामा ओमानबाट कप्तान जेशन मक्सुदले अविजित रहि सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलको सामना गरी ४ चौका र १ छक्का प्रहार गरे । मोहम्मद नदिमले ३० बल खेली २ चौका प्रहार गरी ३१ रन बनाए । नेपालबाट अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चे । कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १–१ विकेट लिए ।

सन्दीपको नेपालको कप्तानको रुपमा यो पहिलो खेल हो ।नेपालबाट विवेक यादव र सागर ढकालल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्न लागेका हुन् । सागरका लागि विर्सनलायक डेब्यु रह्यो । उनले ३ ओभरमा ३६ रन खर्चे । एक ओभर बलिङ गरेका विवेकले ५ रन खर्चे ।

ट्वान्टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले ओमानसँग कुशल भुर्तेल, करण केसी लगायतका खेलाडीलाई खेलाएको थिएन । नेपालले शनिबार युएईसँग खेल्ने छ ।

प्रकाशित : २०७८ माघ २८ गते १९:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI