रुपन्देही । विभिन्न कारण देखाउँदै बुटवल–नारायणगढ सडकखण्ड तोकिएको समयसीमामा सम्पन्न गर्न नसकेको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ प्रालिले सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न खोलिएको टेण्डर पाएको छ ।
प्राविधिक रुपमा आर्थिक प्रतिस्पर्धा चार वटा निर्माण कम्पनीबीच भएको थियो । जसमा सबैभन्दा कम रकम चाइना स्टेटले कबोल गरेकाले छनेटमा परेको बताइएको छ । सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ प्रक्योरमेन्ट एण्ड कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा निर्माण गरिने भएको छ । सुरुङमार्गको बनावटी ढाँचा सम्बन्धित निर्माण कम्पनीले नै गर्नुपर्ने उल्लेख छ ।
ठेक्का प्रतिस्पर्धामा चीनकै प्रतिद्वन्द्वी कोभेक सीआरईजीसी जेभीले ७ अर्ब ७९ करोड ९७ लाख, चीनकै सीसीईसीसी सीआरबीटी १४ सियुआन जेभीले ९ अर्ब ८० करोड १६ लाख, चाइना फस्ट हाइवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ कबोल गरेको थियो ।
सबैभन्दा कम रकम कबोल गरेको चाइना स्टेटलाई नै टेण्डर स्वीकृत गर्न आयोजनाले सडक विभाग समक्ष सिफारिस गरेको हो । तर विभागले यसबारे निर्णय भने गरेको छैन ।
२७७ मंसिर १ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त सुरुङमार्ग निर्माण कार्य सम्पन्न गर्न १० अर्ब १५ करोड बजेट विनियोजन सम्बन्धी निर्णय गरेको थियो ।
सडक विभागले २०७८ जेठ ९ गते ४५ दिने सूचना जारी गर्दै ग्लोबल टेन्डर आह्वान गरेको थियो । स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडीसी) ले गरेको अध्ययन प्रतिवेदनको आधारमा टेण्डर आह्वान गरिएको बताइएको छ ।
१.१२६ किलोमिटरको सुरुङमार्ग निर्माण हुनेछ । पहिरो रोक्नका लागि ३ हजार ५ सय मिटरको रकनेट (जाली) लगाइने भएको छ । ५ वर्षभित्र सुरुङमार्ग निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी सम्झौता हुने जनाइएको छ ।-हाम्राकुराबाट
Facebook Comment