सरकार छाड्ने प्रचण्डको घुर्की, एमसीसीको विषयमा तनाव

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २४ गते ९:५२
सरकार छाड्ने प्रचण्डको घुर्की, एमसीसीको विषयमा तनाव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले सरकार छाड्ने चेतावनी दिएको छ । आइतबार मन्ध्यान्ह प्रधानमन्त्री देउवासँगको टेलिफोन सम्वादमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्ने चाहना देखिएकाले सत्तामा बसिरहनुको औचित्य नभएको भन्दै सरकार छाड्ने चेतावनी दिएका हुन् ।

अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र तथा देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि प्रचण्ड र प्रधानमन्त्री देउवाबीच कुराकानी भएको थियो ।

ती नेताका अनुसार प्रधानमन्त्री देउवाले माओवादीका अर्का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए । कुराकानीका क्रममा श्रेष्ठले पनि एमसीसी कुनै पनि हालतमा पास नहुने भन्दै सरकार छाड्नु परे पनि आफूहरु तयार रहेको बताएका थिए ।

माओवादी केन्द्रका नेताका अनुसार नेताद्वय प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको तथा एमसीसीले लेखेको पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्रीसमक्ष आपत्ति जनाएका थिए ।

‘पत्र अहिले सार्वजनिक गर्नुपर्ने त्यस्तो के भयो ?’ भन्ने माओवादी केन्द्रका नेताहरुले देउवालाई प्रश्न गरेका थिए । त्यसको जवाफमा देउवाले आफूले पत्र सार्वजनिक नगरेको जवाफ दिएका थिए ।

आइतबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । पत्रमा दुवै नेताले एमसीसी अनुमोदन गर्न समय मागेका थिए । सोही पत्र कार्यान्वयन गर्न भन्दै एमसीसीले पनि देउवा र प्रचण्डलाई पत्र पठाएको थियो ।

अति गोप्य भनिएको उक्त प्रतिवद्धता पत्र प्रधानमन्त्रीकै योजनामा सावर्जनिक गरिएको प्रचण्डको आरोप छ । तर देउवाले त्यसलाई आफ्ना तर्फबाट सार्वजनिक नभएको बताएका छन् ।

यस सन्दर्भमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी यथास्थितिमा संसदमा टेबुल गर्न नहुने धारणा राखे । उनले प्रधानमन्त्रीसँग कुराकानी भएको स्वीकार गर्दै एमसीसीलाई कार्यान्वन गर्ने नगर्ने केही कुराकानी नभएको दाबी गरे ।

साथै अहिलेकै अवस्थामा माओवादीलाई माइनस गर्ने तहबाट गतिविधि भएको भन्दै अनर्गल प्रचारबाजी हुन थालेको दाबीसमेत गरेका छन् ।

‘यति कुरा बुझौं यथास्थितिमा एमसीसी संसदमा पेश हुँदैन, एमसीसीकै कारण गठबन्धन नटुटोस् भन्ने प्रधानमन्त्री र हाम्रो चाहना छ’, श्रेष्ठले भने ‘अहिले बजारमा जे जस्ता हल्ला चलेका छन् ती निराधार हुन् भन्ने हाम्रो ठम्याई छ ।’

एमसीसीको पत्र सार्वजनिक भएपछि केही दिनअघि प्रचण्डले आफ्ना नेता तथा कार्यकर्तालाई दिएको जवाफ पनि झुटो सावित भएको छ । उनले एमसीसी पारित गर्नुपर्ने सत्ता छाड्ने भनी आश्वासन दिएका थिए ।

अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने समय तय भएको छ ।

स्थानीय तहको निर्वाचनबारे निर्णय गर्न उक्त छलफल बोलाइएको बताइए पनि एमसीसीको विषयमा पनि कुराकानी हुने बालुवाटार स्रोतले बताएको छ ।

प्रकाशित : २०७८ माघ २४ गते ९:५२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI