कांग्रेसको फेरि सर्यो १६ जिल्लाको अधिवेशन, पर्यो राष्ट्रिय सभा निर्वाचनको छायाँमा
NAWALPUR TIMES प्रकाशित : २०७८ पुष २१ गते ११:५२
काठमाडौं । नेपाली कांग्रेसको आगामी पुस २७ गते हुने भनिएको १६ जिल्लाको जिल्ला अधिवेशन फेरि सरेको छ । यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका कारण अधिवेशन सार्नु परेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
यसअघि उक्त निर्वाचन यही पुस २७ गते हुने कार्यतालिका रहेको थियो । अब उक्त निर्वाचन माघ १५ गतेका लागि तोकिएको छ । कांग्रेसको १४ औं महाधिवेशन सकिएको भए पनि १६ जिल्लाको जिल्ला अधिवेशन बाँकी छ ।
पटक पटकको विवादका बीच अझै १६ जिल्लाको जिल्ला अधिवेशन हुन सकेको छैन । जसमा प्रदेश २ का सबै जिल्ला रहेका छन् । त्यस्तै चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला कार्यसमितिको निर्वाचन हुन सकेको छैन ।
राष्ट्रिय सभाको निर्वाचन यही माघ १२ गते हुँदैछ । १९ सिटका लागि हुने निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेको छ । जसमा सत्तारुढ गठबन्धन एकढिक्का भएका छन् । एमाले एक्लिएको छ । जसले गर्दा उसलाई असर पर्ने देखिएको छ ।
आगामी फागुन २० गतेदेखि निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनित १ गरी २० जनाको पदावधि सकिँदैछ ।
एमालेले १९ वटै सिटमा उम्मेदवार उठाएको छ । सत्तारुढ गठबन्धनले भने बाँडफाँड गरेका छन् । जसमा नेपाली कांग्रेसलाई ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ तथा राष्ट्रिय जनमोर्चालाई एक सिट दिइएको छ ।
Facebook Comment