माओवादी केन्द्रको बन्द सत्र आजदेखि, के छ प्रचण्डको राजनीतिक दस्तावेजमा ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १२ गते १०:०३
माओवादी केन्द्रको बन्द सत्र आजदेखि, के छ प्रचण्डको राजनीतिक दस्तावेजमा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरु हुँदैछ । हिजोदेखि काठमाडौंमा शुरु भएको महाधिवेशनको पहिलो दिन उद्घाटन भएको थियो । सो क्रममा कम्युनिष्ट नेताहरुले नेपालका सबै कम्युनिष्ट मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

नेता जनार्दन शर्माका अनुसार आज बिहान ११ बजेबाट बन्द सत्रको कार्यक्रम शुरु हुने छ । देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् । १६ सय बढी प्रतिनिधिहरु बन्द सत्रमा सहभागी हुनेछन् ।

माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ । सोही अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दस्तावेज पेश गर्दैछन् ।

के छ प्रचण्डको दस्तावेजमा ? 
प्रचण्डले आठौँ महाधिवेशनमा पेश गर्न लागेको दस्तावेजले मुलुक तत्कालै समाजवादमा प्रवेश गर्न नसक्ने बताएका छन् । राजनीतिक रूपमा बहुराष्ट्रिय कम्पनीहरूको विरोध गदै लेखिएको दस्तावेजमा तत्काल समाजवादमा मुलुक जान नसक्ने उल्लेख गरेका हुन् ।

‘वर्तमान संविधानले नेपाल समाजवाद उन्मुख राज्य हुनेछ भनेको र त्यही मूल नीतिअन्तर्गत नेकपा माओवादी केन्द्रले समाजवादलाई आफ्नो रणनीतिक लक्ष बनाएको, तर यसलाई तत्कालीन कार्यनीति बनाउने परिस्थिति छैन’, उनले तयार पारेका प्रतिवेदनमा उल्लेख छ ।

खास गरी दलाल पुँजीवादले मुलुकलाई गाँजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा समाजवाद लागु गर्ने नीति परिपक्व भैनसकेको उल्लेख गरेका छन् । ‘हाम्रो अहिलेको नीति भनेको समाजवाद लागू गर्ने होइन नेपालमा । माओवादी पार्टीले समाजवाद भन्दै गर्दा हतारिएर परिस्थिति परिपक्व नभई कन समाजवाद लागू गर्ने, समाजवादी क्रान्तिको कुरा गरेको हो कि भन्ने भ्रम चाहिँ नरहोस्’ प्रचण्ड भन्छन्, ‘नेपालको आजको परिस्थितिमा तत्काल समाजवाद लागू हुने स्थिति छैन । तत्काल समाजवादी क्रान्ति अगाडि बढ्ने स्थिति पनि छैन ,’ सो राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

समाजवादी कार्यक्रम तत्काल लागु गर्ने परिस्थिति छैन 
अहिले रणनीतिचाहिँ हाम्रो समाजवाद नै हो । यसको आधार तयार पार्ने कुरा हाम्रो संविधानले पनि दिएको छ । तर, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, हाम्रो विकासको अवस्थामा समाजवादी कार्यक्रम अहिले नै लागू गर्न सक्ने परिस्थिति छैन । अहिले समाजवाद उन्मुख हुने कुरा हो । अहिले हामी व्यवहारमा जाने तत्कालको कार्यनीति भनेको समाजवाद उन्मुख स्वतन्त्र, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने कुरा हो ।

त्यसकारण के भ्रम नहोस् भने समाजवादमा हत्त न पत्त परिस्थिति नै नभई कन जान खोजिहालेको हैन । हाम्रो गोल त समाजवाद हो नै । हाम्रो रणनीति समाजवाद नै हो । जसरी संविधानले निजी, सार्वजनिक र सहकारी समायोजनबाट अर्थतन्त्र विकास गर्ने कुरा गरेको छ, त्यही मूल नीतिअन्तर्गत नै हामीले गाउँ गाउँ टोल टोलबाट समाजवादका भ्रूणहरू बनाऔँ । कहीँ न कहीँ, कसै न कसैले सुरु त गर्नुपर्‍यो । आफूलाई समाजवादी भन्ने तयार व्यवहारमा नगर्ने हुन भएन । यसमा चाहिँ हामी गम्भीर छौँ । तर, तत्कालै समाजवाद लागू भइहाल्छ भन्ने कुराचाहिँ होइन । विश्व पुँजीवादको वर्तमान अवस्था, वित्तीय पुँजीवादले मानव जीवनमा पारेको असर, जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङले पृथ्वी एवं समस्त प्राणी जगतमा पारेको असर अनि पुँजीवादी व्यवस्थाका कारण मानव स्वास्थ्यमा परेका असरहरूले हामीलाई सोच्न बाध्य बनायो ।

हाम्रो ध्यानचाहिँ अलि बढी अहिलेको विश्वको परिस्थिति र विभिन्न राजनीतिक प्रवृत्तिहरू कसरी विकास भइराखेका छन्, विश्वको आर्थिक स्थितिको ट्रेन्ड के छ, अहिलेको यो भूमण्डलीकरणले ल्याएको, वित्तीय पुँजीवादले ल्याएको असर दुनियाँभरि के–कस्तो परेको छ भन्नेमा छ ।विज्ञान प्रविधिमा पनि निकै ठुलो परिवर्तन भएको छ । अघिल्लो शताब्दीको अन्त्यतिर सूचना प्रविधिमा भएको क्रान्ति र अहिले डिजिटलाइजेसनसम्म आउँदा ग्लोबलाइजेसन र डिजिटलाइजेसनले मानव जातिको आपसी सम्बन्धमा पारेको प्रभाव कस्तो परेको छ रु राष्ट्र–राष्ट्र बिचको सम्बन्धमा यसको असर के परेको छ रु आर्थिक विकास, समृद्धि या त्यसमा यसको के असर परेको छ रु यसको अध्ययन गर्ने, विश्लेषण गर्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।

दक्षिणपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी बढ्दो 
आज देशको समग्र राजनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ । जनताको लामो सशस्त्र एवं शान्तिपूर्ण र बलिदानपूर्ण आन्दोलनबाट उपलब्धिहरूमाथि प्रतिगामी हमला बढेर गएको छ । समानुपातिक र समावेशी चरित्रको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्ट्याउन निरङ्कुश तत्त्वहरूले टाउको उठाइरहेका छन् । विभिन्न नाम र रूपका दक्षिणपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी बढ्दो छ । देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चा बन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप बढाएर लगेका छन् ।निश्चय नै उपरोक्त प्रकारको प्रतिगामी र निरङ्कुश प्रवृत्ति र तत्त्वहरूका विरुद्ध संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका पक्षधर राजनीतिक शक्तिहरूका बीचमा पनि नयाँ प्रकारको ध्रुवीकरण र मोर्चाबन्दी अगाडि बढ्दै छ ।

नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान र राष्ट्रिय स्वाधीनताका पक्षमा स्पष्ट र दृढ रहेको तथ्य प्रतिगमन विरोधी आन्दोलनमा व्यापक जनसहभागिताले स्पष्ट गरेको पनि छ । वाम लोकतान्त्रिक मोर्चाबन्दी र व्यापक जनदबाबका कारण तात्कालिक र कार्यनीतिक रूपमा देशी विदेशी प्रतिक्रियावादीहरूको प्रतिक्रान्तिकारी षडयन्त्रको योजना असफल भएको हो । तर, रणनैतिक रूपमा प्रतिक्रान्तिकारी षड्यन्त्र गर्ने प्रयत्न भने रोकिएको छैन । वस्तुतः यो स्थिति भनेको नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षकै राजनैतिक अभिव्यक्ति हो । हिजो जनयुद्ध र जनआन्दोलनबाट पराजित सामन्ती तत्त्वहरू, दलाल नोकर शाही पुँजीपति र तिनका पृष्ठपोषक राजनीतिक दलहरू एकातिर एवं मजदुर किसान, राष्ट्रिय पुँजीपति वर्गसम्म तथा पहिचान र अधिकारका पक्षधर सम्पूर्ण राजनीतिक शक्ति, जाति समुदायदेखि सम्पूर्ण देशभक्त बुद्धिजीवीसम्म अर्कोतिर ध्रुवीकृत बनेर सङ्घर्ष चलिरहेको तथ्य सजिलै देख्न सकिन्छ ।

यो ऐतिहासिक रूपले अनिवार्य सङ्घर्षमा विजयका लागि अन्ततः वाम लोकतान्त्रिक शक्तिले आफ्नो विचारलाई अझ स्पष्ट र धारिलो बनाउनु, आफ्ना राजनीतिक मुद्दालाई जनसमुदायमा स्थापित गर्नु, तथा आफ्नो आचरणलाई जनहित अनुकूल बनाउन अझ जोड लगाउन आवश्यक छ । यस सन्दर्भमा स्पष्ट हुनुपर्दछ कि महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको प्रमुख नेतृत्वकर्ता एवं संविधानसभा, समावेशी समानुपातिक प्रतिनिधि प्रणालीसहितको धर्म निरपेक्ष सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख बाहक शक्ति हुनुको नाताले यो परिवर्तनको रक्षा, विकास र परिमार्जनमा पनि हाम्रो पार्टीको प्रमुख जिम्मेवारी रहेको छ ।

तर, केही वर्षदेखि स्वयं हाम्रो पार्टीमा देखा परेको वैचारिक राजनीतिक अस्पष्टता सङ्गठनात्मक विभाजन एवं गुटवादी अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनैतिक र सङ्गठनात्मक कमजोरीसमेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकेनौँ । यसको परिणाम दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरूले टाउको उठाउने अवसर पाए, पाइरहेका छन् । यस विषयमा हाम्रो पार्टीले गम्भीरताका साथ समीक्षा गर्दै सही विचार र राजनीतिक कार्यदिशाको विकास गर्नुका साथै तदनुकूल सङ्गठनात्मक संरचना एवं कार्यशैलीको विकासमा जोड लगाउन सर्वाधिक ध्यान दिनुपर्दछ ।

आज राष्ट्रिय राजनीतिदेखि कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीमा समेत देखा परेका समस्याहरूको प्रमुख र चुरो कारण विचारको विकास र स्पष्टताको अभाव नै हो भन्ने तथ्यलाई आत्मसाथ गर्नुपर्दछ । विचार धारात्मक र राजनीतिक कार्यदिशामा विकास र स्पष्टताको प्रश्नलाई हामीले राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय आयामबाट पनि हेर्नुपर्दछ । वित्तीय पुँजीवादका रूपमा व्यक्त भइरहेको भूमण्डलीकृत साम्राज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथै आजको उत्पादक शक्ति र उत्पादन सम्बन्धको वस्तुवादी आङ्कलन गरेर तथा हाम्रो आफ्नै आर्थिक, राजनीतिक सामाजिक विकासको ठोस अवस्थालाई ठोस रूपमा विश्लेषण र संश्लेषण गरेर मात्र विचारको विकास र स्पष्टता हासिल गर्न सकिन्छ ।

वर्तमान अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिमा उभिएर सही विचारधारत्मक र राजनीतिक कार्यदिशाका आधारमा क्रान्तिकारी पार्टी र क्रान्तिकारी रूपान्तरणको ठोस आधार प्रस्तुत गर्ने चुनौती आज हाम्रो अगाडि छ । एक्काइसौँ शताब्दीमा विश्वकै पछिल्लो क्रान्तिकारी आन्दोलनको नेतृत्वकर्ताको हैसियतले जनतामा रहेको कम्युनिस्ट आन्दोलनप्रतिको भरोसाको दृष्टिले तथा विभिन्न शक्तिकेन्द्र राष्ट्रहरूका बीचको अन्तर्विरोधको केन्द्री करणको विशेष स्थितिसमेतका कारण क्रान्तिकारी विचार र आन्दोलनको विकासको चुनौती हाम्रा अगाडि छन् । विगतको निर्मम आत्म समीक्षा, वर्तमानको वस्तुवादी विश्लेषणका आधारमा समाजवादी क्रान्तिको भविष्यको स्पष्ट रूपरेखा खिच्नु छ । हाम्रो यो आठौँ राष्ट्रिय महाधिवेशनले आफ्नो मुख्य ध्यान विचार संश्लेषणको यही ऐतिहासिक कार्यभार पूरा गर्ने कुरामा दिनेछ ।

प्रकाशित : २०७८ पुष १२ गते १०:०३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI