कांग्रेसका यी डेब्यु उम्मेदवार जो पार्टीभित्र सुधार खोज्दैछन्

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २२ गते २०:१०
कांग्रेसका यी डेब्यु उम्मेदवार जो पार्टीभित्र सुधार खोज्दैछन्

आवरणमा एउटा सुन्दर रुखको स्केच छ। र, त्यसको जरामा कसैले पानी खन्याइरहेको छ। अनि, चित्रमाथिको शीर्षकमा लेखिएको छ, ‘कसले सुधार्छ कांग्रेस ?’

नेपाली कांग्रेसको १४औं महाधिवेशनको संघारमा सार्वजनिक भएको पुस्तकको आवरण चर्चा हो यो। आवरण हेर्दा लाग्छ, यसका लेखक भनिरहेका छन्, ‘कांग्रेस यतिखेर बिरामी छ, यसलाई गोडमेल गरेर जसरी पनि बचाउनु छ।’

यो पुस्तकका लेखक हुन्, तिनै शंकर तिवारी जसका लेखहरू अखबार र अनलाइनहरुमा निरन्तर छाइरहन्छन्। र, मुख्य कुरा उनका प्रायः लेखहरुमा नेपाली कांग्रेस रहेकै हुन्छ, लोकतन्त्र र समाजवाद भएकै हुन्छ। उनी निरन्तर आफ्ना लेखहरुमा समतामूलक समुन्नतिका कुरा गरिरहेका हुन्छन्।

कांग्रेस महाधिवेशनको सम्मुखमा सार्वजनिक यो पुस्तक पनि तिनै पछिल्ला आठ वर्षहरुमा विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका उनका समसामयिक लेखहरुको संग्रहित रुप हो।

पुस्तक मात्रै सार्वजनिक गरेका छैनन्, सँगसँगै केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी पनि घोषणा गरेका छन्। यस्तो लाग्छ, पुस्तकले सोधिरहेको प्रश्नको जवाफ उनी दिन खोजिरहेका छन्, ‘हामी सुधार्छौं कांग्रेस।’

पाठकसामु शंकरको मूल परिचय हो, लेखक। तर, यही कांग्रेस महाधिवेशनबाट उनी आफ्नो परिचय अलि फराकिलो बनाउने कसरतमा छन्। यसपटक उनले ‘कसले सुधार्छ कांग्रेस?’ पुस्तक मात्रै सार्वजनिक गरेका छैनन्, सँगसँगै केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी पनि घोषणा गरेका छन्। यस्तो लाग्छ, पुस्तकले सोधिरहेको प्रश्नको जवाफ उनी दिन खोजिरहेका छन्, ‘हामी सुधार्छौं कांग्रेस।’

केन्द्रीय सदस्यका ‘डेब्यू’ उम्मेदवार हुन् उनी। राजनीतिमा उनी गाउँदेखिको कार्यकर्ताभन्दा पनि अध्येताको रुपमा बढी सक्रिय छन्। अनि, बीपी कोइरालाको समाजवादी दर्शनलाई व्यावहारिक रुपमा समाजमा लागू गर्न संकल्पित देखिन्छन्। त्यसैले त उनको परिचय यो पनि छ, उनी विद्यार्थी आन्दोलनले निर्माण गरेको कांग्रेसको युवा प्रतिनिधि पात्र हुन्।

२०५७ सालको कुरा हो। देशमा माओवादीको सशस्त्र द्वन्द्व चरम उत्कर्षमा थियो। र, त्यही बेला नवलपरासीस्थित गाउँबाट झोला बोकेर काठमाडौं निस्किएका थिए, शंकर। त्यतिबेला भर्खर एसएसली परीक्षा दिएका थिए उनले।

थप अध्ययनको सिलसिलामा काठमाडौं आइपुगेका थिए उनी। तत्कालीन दरबारले शासनसत्ता हातमा लिएको समय थियो त्यो। सानैदेखि अध्ययनशील उनी अखबारहरु खुब पढ्थे। त्यसबेला अखबारहरु राजनीतिक घटनाक्रमले भरिभराउ हुन्थे। शंकरलाई लाग्छ, सशस्त्र द्वन्द्वको समय र त्यतिबेला अखबारमा छापिने राजनीतिक खबरहरुले उनलाई देशको राजनीतिसँग परिचित मात्रै गराएन, चासो पनि बढायो।

‘म त मेरो व्यक्तिगत करिअर बनाउन काठमाडौं छिरेको थिएँ, तर मुलुकको राजनीतिक मुठभेडले मेरो सोच नै बदल्दियो,’ शंकर भन्छन्, ‘मलाई लाग्यो, राजनीतिक सेटलमेन्ट बिना मेरो करिअर सेटल हुनै सक्दैन। अनि राजाले सत्ताले टेकओभर गरेको त्यही समय मैले निधो गरेँ, अब म राजनीति गर्छु।’

राजनीतिमा उनको सुरुवात आरआर क्याम्पसबाटै भयो, नेविसंघ कार्यकर्ताका रुपमा। जतिबेला ०६२/०६३ को जनआन्दोलन भइरहेको थियो, त्यतिबेला शंकर स्नातक तेस्रो वर्षका विद्यार्थी थिए। नेविसंघको राजनीति गरिरहेका उनी स्ववियू सभापतिमा पनि लडे। तर, सधैँ कम्युनिस्ट विद्यार्थीको दबदबा रहेको आरआरमा चुनावी परिणाम उनको पक्षमा आउन सकेन।

विद्यार्थी राजनीति भन्नेबित्तिकै धेरैले त्यतिबेला ढुंगामुढा, टायर र नारावाजी सम्झिन्थे। तर, शंकर अलि फरक स्वभावका थिए। ढुंगामुढाभन्दा बढी विश्वास उनलाई अध्ययनमा थियो, विचारहरूको बहसमा थियो। त्यसैले फुर्सद पाउनासाथ उनी पुस्ताकलयमा पुग्थे किताब पढ्न। लेखपढमा बढी रुची राख्ने उनले त्यतिबेलादेखि नै हो, पार्टीमा वैचारिक रुपमा हस्तक्षेप गर्ने व्यक्तिको आवश्यकता महसुस गरेको।

भारतबाट फर्कनासाथ गगन थापासँग मिलेर उनले नेपाली कांग्रेसको १२औं महाधिवेशनका विषयमा पुस्तक नै लेखे, ‘नेपाली कांग्रेसको ऐतिहासिक दस्तावेज।’

जनआन्दोलनकै क्रममा उनले त्यतिबेलाका चर्चित युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, कुन्दनराज काफ्ले, बद्री पाण्डेलगायतको ‘सर्कल’सँग काम गर्ने अवसर पाए। गगन थापाको नेतृत्वमा सुरु भएको नीति अनुसन्धान गर्ने संस्था पब्लिक पोलिसी पाठशाला पनि आबद्ध भए। पाठशालामा आबद्ध रहेर राजनीतिक विषयमा विचार विमर्श त गरे नै, सँगसँगै लेखरचना पनि थुप्रै लेखे र राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रपत्रिका र जर्नलमा प्रकाशित पनि भए।

शंकर भन्छन्, ‘त्यतिबेलाका युवा नेताहरुको संगतले मलाई नेविसंघको राजनीतिलाई नजिकबाट नियाल्ने मौका त मिल्यो नै, सँगसँगै अध्ययनले अन्य देशको राजनीतिलाई बुझ्ने अवसर पनि मिल्यो।’

रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तरको पढाइ सकिएपछि उनी थप अध्ययनको लागि भारत पनि गए। तर, कांग्रेसमाथि विचारविमर्श गर्न छाडेनन्। भारतबाट फर्कनासाथ गगन थापासँग मिलेर उनले नेपाली कांग्रेसको १२औं महाधिवेशनका विषयमा पुस्तक नै लेखे, ‘नेपाली कांग्रेसको ऐतिहासिक दस्तावेज।’

‘पार्टीका कार्यकर्ताले र अन्य नागरिकले पनि नेपाली कांग्रेस र यसको इतिहासलाई बुझ्न यो पुस्तकले सहयोग गरोस् भनेर उक्त दस्तावेज निकालेका थियौं,’ शंकर सम्झन्छन्। सोही दस्तावेज निकाल्ने क्रममा शंकरले कांग्रेसमा बौद्धिक नेताका रुपमा चिनिने प्रदीप गिरीसँग पनि सहकार्य गर्ने मौका पाए। त्यतिबेला गिरीले बीपी कोइरालामाथि लेखेका लेखहरुको मात्रै सकंलन गरेर पुस्तक निकालेका थिए, जसको सम्पादनको अवसर उनलाई मिल्यो। उक्त किताबले बीपी कोइरालालाई नयाँ शैलीबाट हेर्न सघाउने उनी बताउँछन्।

नेपाली कांग्रेसले पार्टीभित्र जेजति वैचारिक कामहरू गर्‍यो, त्यहाँ त्यहाँ कहीँ न कहीँ शंकर जोडिएकै छन्। जस्तै वैचारिक ऊर्जा, वैचारिक पुँजी थपिने कामहरु। त्यसैले शंकरलाई पार्टीभित्र ‘एकेडेमिक योगदान’ दिने नेताका रुपमा चिनिन्छ।

अध्ययनको क्रममा शंकर जवाहरलाल नेहरु विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धको शोधार्थी पनि बन्न पुगे। त्यसले उनलाई भारतको राजनीति र विद्यार्थी राजनीति कसरी चल्छ भन्ने बुझ्न सघायो।

राजनीतिमा यसरी ‘ग्रुमिङ’ हुँदै आएका शंकर यतिखेर मूलधारमा राजनीतिमा प्रवेश गर्ने चरणमा छन्। ‘तल गाउँतिर पनि म जोडिएको भएर गाउँको, जिल्लाको साथीहरुले केन्द्रमा गएर प्रतिस्पर्धा गर्न उपयुक्त हुन्छ भनेर मलाई महाधिवेनशन प्रतिनिधिका रुपमा पठाउनु भएको छ,’ उनी भन्छन्, ‘त्यसैको आधारमा अहिले मैले आफूलाई केन्द्रीय सदस्यको उम्मेदवारको रुपमा उभ्याएको हुँ।’

२०६२/०६३ यताको नेतृत्वमा नेपाली कांग्रेसले नयाँ अनुहार पाउन नसकेको उनको बुझाइ छ। ‘पार्टीको हस्तक्षेपकारी भूमिकामा अर्थात् जसले पदाधिकारीमा पनि प्रवेश पाएका छैनन् उनीहरुका लागि दबाब सिर्जना गर्न, उनीहरु पनि पुरानो पुस्ता जस्तै भुत्ते नहोउन् भन्नको लागि पनि हामी जस्ता युवाहरु पार्टीमा आवश्यकता छ,’ उनी भन्छन्।

000

शंकरलाई लाग्छ, ०६२/०६३ को आन्दोलनका बेला अग्रभागमा रहेको पुस्ता केन्द्रीय तहमा पुग्नु पर्छ। आन्दोलन गर्ने उमेर, शक्ति र उत्साह हुँदै पदमा पुगेपछि त्यसले मुलुक र पार्टीको भलो हुने उनको बुझाई छ। ‘आन्दोलन गरेर जुन शक्ति हुन्छ, उत्साह हुन्छ, त्यो हुन्जेल पदबाहिर रहने, अनि शक्ति र ऊर्जाले थाकेपछि मात्रै पदमा पुग्ने, जुन प्रवृत्ति छ त्यसको अन्त्य हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनी भन्छन्।

केन्द्रीय समितिमा आफूहरुको प्रवेशले त्यो प्रवृत्तिको अन्त्य हुनेमा उनी आशावादी छन्। समाज बदल्नको लागि आधुनिक लोकतन्त्रमा राजनीतिक पार्टी पनि बदलिनु जरुरी रहेको शंकरको मत छ। भनिन्छ, कुनै पनि व्यक्ति ‘ब्रेड’ले होइन, ‘ब्रेन’ले चल्छ। त्यस्तै कुनै पनि पार्टीहरु विचारधाराद्वारा निर्देशित हुन्छन्। शंकर भन्छन्, ‘कुनै पनि पार्टीलाई गति दिन, चलायमान बनाउन विचारहरुको बहस महत्वपुर्ण हुन्छ। त्यसैले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा ‘कसले सुधार्छ कांग्रेस?’ नामक पुस्तक लिएर आएको छुँ।’

नेपाल समय

शंकरले यसअघि पनि थुप्रै पुस्तक लेखिसकेका छन्। गीताज्ञान प्रवेशिका उनको अनूदित कृति हो भने उनले नेपाली भाषाको पहिलो फिल्म सत्य हरिशचन्द्रका निर्देशक एवं नेपाली कांग्रेसका संस्थापक डीबी परिहारको संस्मरण ‘From India’s Freedom to Nepal’s Democracy: Memoirs of DB Parihar’ सम्पादन गरेका छन्। उनको नयाँ पुस्तक समाजवादको निर्माण प्रकाशोन्मुख छ।

मारमा नयाँ पुस्ता

शंकरलाई लाग्छ, जतिबेला नेपाली कांग्रेस पार्टीको निर्माण हुँदै थियो, त्यतिबेला सबै ‘योङ माइन्ड’हरू पार्टी नेतृत्वमा थिए तर अहिले आएर पार्टी नै बुढो भइसक्यो ‘अहिले विवेकशील साझालाई हेर्दा पनि त्यहाँ अधिकांश सदस्य उमेरले ४० हाराहारीका देखिन्छन् नि, त्यस्तै सकंल्पले बनाएको पार्टी जस्तो पार्टी देखिन्छन्,’ शंकर भन्छन्, ‘तर, नेपाली कांग्रेस पार्टीले ७० वर्ष पार गरिसकेको छ। त्यही कारण धेरैलाई बुढ्यौलीले छोएको छ। पार्टीमा कम्तीमा तीन पुस्ता बढीको लगानी छ। राजनीति शास्त्रले के भन्छ भने जब पार्टीलाई बुढ्यौलीले छुँदै जान्छ, त्यहाँ परम्परागत रुपमा पार्टीको स्रोतसाधन परिचालन गरेका र कब्जा जमाएका वृद्धवृद्धाहरु हावी हुन थाल्छन्। त्यहाँ वंशतन्त्र पनि हावी हुन थाल्छ। अनि त्यो सबैको मारमा पर्छन्, नयाँ पुस्ता।’

नयाँ पुस्तालाई स्वीकार्ने मामिलामा बरु जनता साक्षर भइसके तर नेपाली कांग्रेस तयार नदेखिएको शंकरको बुझाई छ। ‘जनता तयार भइसके भने पार्टी किन नहुने?,’ उनको प्रश्न छ।

भनिन्छ, कुनै पनि राजनीतिक पार्टी ‘क्याडर बेस्ड’ भन्दा ‘मास बेस्ड’ हुनुपर्छ। क्रियाशील सदस्यताको आधारमा छानिएर आएको व्यक्तिहरुमा पनि गुटहरु हुन्छन्। गुटहरु हुनुलाई शंकर अस्वभाविक मान्दैनन् तर व्यक्तिका आधारमा हुनु चाहिँ डरलाग्दो भएको ठान्छन्। ‘बाहिरतिर गुटहरु विचारका आधारमा हुन्छन्, यहाँ चाहिँ व्यक्तिका आधारमा बन्ने प्रचलन भयो,’ शंकर भन्छन्, ‘यो डरलाग्दो पक्ष हो। तर, नयाँ पुस्ताका युवाहरुमा यसमा सचेत देखिन्छन्। उनीहरु विचारका आधारमा एकजुट भइरहेको महसुस मैले गरिरहेको छु।’

नयाँ पुस्तालाई स्वीकार्ने मामिलामा बरु जनता साक्षर भइसके तर नेपाली कांग्रेस तयार नदेखिएको शंकरको बुझाई छ। ‘जनता तयार भइसके भने पार्टी किन नहुने?,’ उनको प्रश्न छ।

अहिले कांग्रेसको जिल्ला सभापति र पदाधिकारीमा धेरै युवाहरु निर्वाचित हुनुलाई उनले यसको प्रमाण ठानेका छन्। ‘धेरै महाधिवेशन प्रतिनिधि पनि युवा छन्, यसको अर्थ हिजो गगन थापाहरु एक्लै उभिएको जस्तो अवस्था अब छैन,’ शंकर भन्छन्,‘मलाई आशा छ, अहिले आइरहेका नयाँ प्रतिनिधिहरु २०५८ देखि २०६२/०६३ सम्ममा उत्पादन भएको पुस्ता हुन्। उनीहरुले पार्टीमा खास बदलाव खोजेका छन्।’

नेपाल समय

शंकर आफूलाई केन्द्रीय सदस्यको उम्मेद्वारका रुपमा उभ्याइरहँदा पटकपटक भनिरहेका छन्, ‘मेरो मुख्य एजेण्डा भनेको नेपाली कांग्रेस पार्टीलाई २१औं शताब्दी सुहाउँदो लोकतान्त्रिक पार्टी बनाउने हो।’

त्यो कसरी बन्छ त?

जवाफमा उनी भन्छन्, ‘हाम्रा लागि पार्टीको चुनाव भन्दा जनताको चुनाव ठूलो हो। जुन नेताले आफूलाई सांसदको रुपमा या प्रधानमन्त्रीको रुपमा चुनावमा पेश गर्छ, उसलाई त्यो चुनावमा जनताले अस्वीकृत गरेपछि बहुदलिय व्यवस्थामा पार्टीहरु चुनाव हार्दैनन्।  त्यही भएर जुन नेतृत्व अस्वीकृत हुन्छ, उसले तुरुन्तै ६ महिना भित्रै पार्टी अधिवेसन गर्नुपर्छ। यदि उसले अर्को चुनावमा पनि नेतृत्व दिने हो भने उसले पनि चुनाव उठ्न पाउँछ। हैन भने उसले क्लियर गरिदिएर नयाँ पुस्तालाई अवसर दिनुपर्छ। मेरो मूख्य कुरा यही हो।’

हालको विधानमा रहेको नेतृत्व विकासको संरचना पनि बदलाव आवश्यक देखेका छन्, शंकरले। ‘पार्टीको क्रियाशिल सदस्यता अलिकति खुल्ला गर्नुपर्ने छ। सँगसँगै पार्टीभित्र बहसको संस्कृतलाई बढाउनुपर्ने छ, प्रशिक्षणको अभावलाई पनि सम्बोधन गर्नुपर्ने छ,’ आफूलाई केन्द्रीय सदस्यमा दाबी गर्दैगर्दा उनको धारणा छ, ‘कांग्रेसका सदस्यहरुले कांग्रेस कसरी गणतन्त्रवादी भएको हो, कसरी धर्मनिरपेक्षतावादी भएको हो भन्ने कुरामा पनि क्लियर हुनुपर्छ। मूल कुरा पार्टीमा जुन कब्जाको मनोविज्ञान छ, त्यो मनोविज्ञानबाट पार्टीको मूल नेतृत्वलाई बाहिर ल्याउनुपर्छ। ताकि उसले आफ्नो पराजयलाई स्वीकार गरिसकेपछि नयाँ नेतृत्वलाई बाटो दिन सकोस्।’

शंकरलाई लाग्छ, अहिलेको टिकेट बाँड्ने प्रणालीमा वितरण समितिको मान्छेले आफ्नो गुट बलियो बनाउनको लागि जित्ने मान्छेलाई नभएर हार्ने मान्छेलाई दिइरहेको छ। ‘यो ठूलो समस्या हो,’ उनी भन्छन्, ‘पार्टी सञ्चालनका हिसाबले देउवाले समन्वय गरेर लगेपनि विवादहरूले समाधान पाएनन्। भातृ संगठनको चुनाव पनि उहाँले गराउन सक्नुभएन। पार्टी पनि पुरानै शैलीमा चल्यो। कुनै परिवर्तन नै आएन। हिजो मात्रै राप्रपालाई वर्षौंदेखि नेतृत्व गरिरहेका कमल थापा हारेका छन्, मलाई लाग्छ, त्यसको कम्पन नेपाली कांग्रेसमा पनि आउनेछ।’

प्रकाशित : २०७८ मंसिर २२ गते २०:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI