आईपीएलको उपाधी चेन्नाई सुपर किङ्गसलाई

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २९ गते २३:५४
आईपीएलको उपाधी चेन्नाई सुपर किङ्गसलाई

नवलपुर । फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नाई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग जितेको छ।

चेन्नाईले चौंथो पटक आईपीएल जितेको हो। यस अघि पछिल्लो पटक २०१८ मा तथा त्यस अघि सन् २०१० र २०११ मा धोनीकै कप्तानीमा चेन्नाईले लिग जितेको थियो।

युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा चेन्नाईले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १६५ रन मात्र बनाउन सक्यो। कोलकाताको ब्याटिंगमा ओपनर शुबमन गिलले ५१ तथा भेकंटेस ऐयरले ५० रन बनाए भने शिभम माभीले २० तथा लकी फर्गुसनले अविजित १८ रन योगदान दिए।

कोलकाता ओपनर भेंकटेस ऐयर र शुबमन गिलले ९१ रनको साझेदारी गरे। एघारौं ओभरमा ऐयरलाई शार्दुल ठाकुरले क्याच आउट पारे। सोहि ओभरमा नितिश राना खाता नखोली क्याच आउट भए। लगत्तै ओभरमा सुनिल नारायणलाई जोश हेजलवुडले क्याच आउट पारे। चौधौं ओभरमा शुबमनलाई दिपक चाहरले एलबिडब्लु पार्दा चेन्नाई खेलमा हावी बन्यो। लगत्तै ओभरमा दिनेश कार्तिक र शाकिब अल हसनलाई एकै ओभरमा रभीन्द्र जडेजाले पेभेलियन फर्काए। लगत्तै ओभरमा राहुल त्रिपाठीलाई शार्दुल ठाकुरेले क्याच आउट गरे भने १७ औं ओभरमा ओएन मोर्गनलाई दिपक चाहरले क्याच पारे। फलस्वरुप ९१/० को अवस्थाबाट कोलकाता १२५/८ को अवस्थामा पुग्यो। त्यसपछि शिभम माभी र लकी फर्गुसनले नवौं विकेटको लागि ३९ रनको साझेदारी गरेता पनि जितको लागि पर्याप्त थिएन।

चेन्नाईको बलिंगमा शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट ( ४-०-३८-३ ) लिए भने जोश हेजलवुड ( ४-०-२९-२ ) र रभीन्द्र जडेजाले २ विकेट ( ४-०-३७-२ ) तथा  दिपक चाहर ( ४-०-३२-१ ) र ड्वेन ब्राभोले ( ४-०-२९-१ ) समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा १९२ रन बनाएको थियो।

चेन्नाईको ब्याटिंगमा फाफ डु प्लेसिसले सर्वाधिक ८६ रन बनाए जसले ५९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै मोईन अलिले २० बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३७ रन बनाए। रुतुराज गायकवाडले २७ बलमा ३ चौका र १ छक्का मद्दतले ३२ तथा रोबिन उथप्पाले १५ बलमा ३ छक्का मद्दतले ३१ रन बनाए।

ओपनर रुतुराज गायकवाड र फाफ डु प्लेसीसले ६१ रनको ओपनिंग साझेदारी गरे। नवौं ओभरमा गायकवाड सुनिल नारायणबाट क्याच आउट भएपछि डु प्लेसीसले रोबिन उथप्पासंग ६३ रन जोडे। उथप्पालाई १४ औं ओभरमा नारायणले एलबिडब्लु पारे। डु प्लेसिसले त्यसपछि तेश्रो विकेटको लागि मोईन अलिसंग ३९ बलमा ६८ रनको साझेदारी गरे। डु प्लेसिस इनिंग्सको अन्तिम बलमा शिभम माभीबाट क्याच आउट भए। अन्तिम ५ ओभरमा चेन्नाईले ६१ रन बनायो।

कोलकाताको बलिंगमा सुनिल नारायणले २ विकेट ( ४-०-२६-२ ) तथा शिभम माभीले १ विकेट ( ४-०-३२-१ ) लिए।

चेन्नाईले पहिलो क्वालीफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनल पुगेको थियो। कोलकाता भने इलिमीनेटरमा रोयल च्यालेन्जर्स बैगलोर र दोश्रो क्वालीफायरमा दिल्लीलाई पराजित गर्दै फाइनल पुगेको थियो।

 

प्रकाशित : २०७८ असोज २९ गते २३:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI