काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र भारतबीचको खेल अपरान्ह ५ः३० बजे सुरु हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ ।
नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पहिलो खेल बराबरीमा सकिएको कारण दुबै टिम दोस्रो खेलमा स्पस्ट जित निकाल्ने योजनामा रहेका छन् । दुबै टोलीका प्रशिक्षकले दोस्रो खेलमा कमीकमजोरी सुधार गर्दै जित निकाल्ने बताएका थिए ।
नेपालको यस खेल भारतसँगको २१ औं खेल हुनेछ । तर, भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि रहेको छ । हालसम्म भारतले १३ खेल जितेको छ ।
नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो ।
प्रकाशित : २०७८ भदौ २० गते ११:४४
Facebook Comment