सुरक्षा मापदण्डबीच परीक्षा सञ्चालन गरिने, एक बेन्च एक परीक्षार्थी

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २१ गते ८:४४
सुरक्षा मापदण्डबीच परीक्षा सञ्चालन गरिने, एक बेन्च एक परीक्षार्थी

काठमाडौँ । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु मापदण्ड पालनामा आफूहरूसमेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले परीक्षा सञ्चालन गर्न आफूहरूलाई निर्देश गरेको र त्यसको कार्यान्वयन गराइने जानकारी दिनुभयो । परीक्षा स्थगित नहुनेसमेत बोर्डले स्पष्ट गरेको छ ।

एक बेन्च एक परीक्षार्थी

बोर्डले यस पटक कक्षा १२ को परीक्षामा एक बेन्च, एक विद्यार्थीको नीति लागू गराउनेछ । यसका साथै एउटा कक्षा कोठामा बढीमा २५ भन्दा बढी विद्यार्थी राखिनेछैन भने परीक्षा केन्द्रमा पनि एक दिनमा १५० भन्दा बढी विद्यार्थीलाई सहभागी नगराइने भएको छ । यसबाट परीक्षामा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन हुने अध्यक्ष पौडेल बताउनुहुन्छ ।

सबैभन्दा धेरै विद्यार्थी हुने अनिवार्य विषयका दिन उपपरीक्षा केन्द्र राख्न पाउने सुविधा बोर्डले परीक्षा केन्द्रहरूलाई दिएको छ । परीक्षा केन्द्र नजिकैको विद्यालय, कलेजमा उपपरीक्षा केन्द्र सञ्चालन गर्न सकिनेछ । केन्द्रमा विद्यार्थीको भीडभाड न्यून होस् भनेर यस खालको प्रबन्ध मिलाइएको बोर्डले जनाएको छ । यसका साथै परीक्षा केन्द्रमा मास्क, सेनिटाइजर अनिवार्य गराइनेछ भने विद्यार्थी, शिक्षकलाई हात धुने प्रबन्धसमेत मिलाउनुपर्नेछ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७८ साउन २१ गते ८:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI