२०३२ मा सरकारले प्राध्यापन सेवाबाट बर्खास्त गरेपछि पुष्पलाल श्रेष्ठकी पत्नी सहाना प्रधान विद्यवारिधि गर्ने उद्देश्यले बनारस गएर बस्न थाल्नुभएको थियो। त्यसबेला पुष्पलालले उहाँलाई विवाहपछि पहिलो पटक आसाम, गुहाटी, लखनौ, दिल्ली आदि ठाउँमा घुमाउनुभएको थियो। २०३५ सालको जेठमा उहाँहरू दिल्लीमा भारतीय कम्युनिष्ट पार्टीका दार्जिलिङ्गबाट प्रतिनिधित्व गर्ने सांसद आनन्द पाठकको निबासमा बस्नुभएको थियो। त्यस बेला पुष्पलालको स्वास्थ्यमा समस्या देखापरेको थियो। बायाँ खुट्टाको पिँडौला सुन्निएर हिँडडुल गर्न गाह्रो हुने र अलिकति धपडी गर्दा पनि श्वासप्रश्वासमा कठिन हुने गरेको थियो। असारमा पष्पलाल दरभंगामा मिटिङ छ भनेर जानलाग्नुभयो। “यस्तो अवस्थामा नगए पनि हुन्छ, अस्वस्थ छु भनेर खबर पठाइदिउँ” भनी सहानाले अनुरोध गर्दा “साथीहरू भूमिगत जीवनका अनेक दु:खकष्ट सहेर प्रहरी प्रशासनका आँखाबाट लुक्दैछिप्दै टाढाटाढाबाट दरभंगा आउनुहुन्छ, यसरी उत्साहपूर्वक आउनुभएका साथीहरूलाई बैठक स्थगित भएको समाचारले निराश बनाउँछ” भन्दै उहाँ दरभंगा जानुभयो।
दरभंगामा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम नसकिदै पुष्पलाललाई हृदयाघात भयो। यो उहाँलाई भएको दोस्रो हृदयाघात थियो। पहिलो हृदयाघात २०२९ मै भइसकेको थियो। त्यसैले स्थिति अलि गम्भीर थियो। उहाँको स्वास्थ्यसँग सुपरिचित डा.भी.एन.सिंहले उपचार गराउन दिल्ली लानुपर्ने सल्लाह दिए। त्यस बेला बनारसमा रहेका गोविन्द ज्ञवालीलाई दरभंगाबाट ‘दिल्ली जानुपर्नेभयो छिटै आउनुहोस्’ भन्ने तार पुग्यो। गोविन्द ज्ञवाली दरभंगा पुग्दा पुष्पलाल उहाँका अन्तरङग मित्र डा.भी.एन.सिंहको घरको एक कोठामा शिवहरि आचार्य, ईश्वर रिजाल र दिवाकर शर्माको साथमा रहनुभएको थियो। केही सरसल्लाह गरी गोविन्द ज्ञवाली पुष्पलाललाई लिएर डा.भी.एन.ले नै टिकट काटी सिट रिजर्व गरेको ट्रेनबाट दिल्ली जानुभयो। ट्रेनमा बसेर दिल्ली जादैगर्दा पुष्पलालले गोविन्द ज्ञवालीलाई दिल्लीमा उपचार गरेर फर्केपछिका आफ्ना भावी योजनाहरू सुनाउनुभएको थियो। त्यसक्रममा उहाँले “इतिहासको सही व्याख्या भएन भने हामीले त्यसबाट लिने शिक्षा सही हुन सक्दैन, हाम्रा अनुभवहरू इतिहासका निचोडहरूबाट निर्देशित हुन सक्दैनन् र हाम्रो गन्तव्य सुस्पष्ट हन सक्दैन” भन्दै आफूले लेख्न थालेको ‘नेपालको ऐतिहासिक सर्वेक्षण’ को लेखन कार्य पूरा गर्ने सबैभन्दा प्रमुख चाहना रहेको र त्यसका निम्ति कलकत्ताको नेसनल लाइब्रेरीमा गएर अध्ययन गर्ने योजनासमेत बताउनुभएको थियो। यसभन्दा केही समयअघि बरेलीमा भेट हुँदा देवराज भारसँग उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको अर्को सिंहावलोन लेख्न (एउटा २०२४ सालमा उहाँले लेख्नु भएको थियो) र त्यसमा आफूले पार्टी पुनर्गठन सुरु गरेदेखिको राम्रो समीक्षा गर्न चाहेको बताउनुभएको थियो।
दिल्लीमा उपचार, बचाउन असफल
दिल्लीमा पुष्पलालको उपचारका निम्ति सुरुमा भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का नेताहरुले व्यवस्था गरे अनुरुप राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको थियो। त्यो अस्पताल मुटुको नभएको हुनाले तीन दिनपछि गोविन्द बल्लभ पन्त अस्पतालमा लगियो। त्यहाँको सामान्य बेडमा राखेर उपचार चलिरहेको थियो। उहाँ अस्वस्थ हुनुभएको खबर चारैतिर फैलियो। त्यसपछि उहाँलाई भेट्ने र स्वास्थ्यलाभको कामना गर्नेहरुको ओइरो लाग्यो। भेट्न जानेहरुमा दिल्लीमा रहेका सर्वसाधरण नेपालीहरुदेखि त्यहाँ निर्वासित नेपाली नेताहरु गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, तुल्सीलाल अमात्य, मंगलादेवी सिंह, शैलजा आचार्य आदिका साथै तत्काल भारतको सत्तासीन भारतीय जनता दलका अध्यक्ष चन्द्रशेखर, भारतीय कम्युनिष्ट पार्टी (मा.) का वरिष्ठ नेताहरु बीटी रणदिवे र इ एमएस नम्बुदरिपाद समेत थिए।
चन्द्रशेखरले ‘उहाँ हाम्रो साथी हो’ भनेपछि पुष्पलाललाई क्याविनमा राखेर उपचार गरिएको थियो। त्यस अस्पतालमा हुनसक्ने उपचार भयो। त्यहाँका चिकित्सकहरूले भरमग्दुर कोसिस गरे तर पनि उहाँको स्वास्थ्यमा सुधार हुनसकेन। आखिर २०३५ सालको साउन ७ गते (२२ जुलाई १९७८) बिहान १० बजे नेपाल आमाका एक महान् सपुत, नेपाली राष्ट्रियताका एक अथक योद्धा, नेपाली जनताका एक प्रिय नेता, नेपाली कम्युनिष्ट आन्दोलनका जनक कमरेड पुष्पलालले अन्तिम श्वास फेर्नुभयो। अन्तिम श्वास फेर्नुअघि उहाँले त्यस बेला आफ्नो साथमा रहेका पार्टी कार्यकता अरविन्द कुमार (केशव खड्का ) को हात समाएर ‘कमरेड! अब यो अभिभारा तपाईंहरूका हातमा आएको छ। …कार्यकताहरू राजनीतिक रूपले सङ्गठित हुनुपर्दछ। जनता चेतनशील हुनुपर्दछ। क्रान्ति अवश्यम्भावी छ। यसलाई कसैले रोक्न सक्दैन’ भन्नुभएको थियो।
-(नेपाल रत्न पुष्पलाल पुस्तकबाट)
प्रकाशित : २०७८ साउन ७ गते १८:४३
Facebook Comment