राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ६ गते ८:३२
राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री नेपाली

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

मुस्लिम समुदायको पर्व बकर ईद को उपलक्ष्यमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त रसमृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष राज्य भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो भन्ने मान्यता छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाउँदै आएको पाइन्छ ।
सुशकामना सन्देशमा उनले भनेका छन्, ‘विश्वभरकै मानवका लागि चुनौती बनेको कोरोना भाइरस विरुद्धको संघर्षमा सफलता प्राप्त गर्न र विश्व महामारीका बेलामा अझ दरिलो रुपमा जुट्न आजको दिनले हामी सबैलाई हौसला मिल्ने विश्वास लिएको छु ।’ उनले स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित : २०७८ साउन ६ गते ८:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI