मौसम पूर्वानुमान : आज कहाँ–कहाँ हुँदैछ भारी वर्षा ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २६ गते ९:२०
मौसम पूर्वानुमान : आज कहाँ–कहाँ हुँदैछ भारी वर्षा ?

काठमाडौँ । मुलुकभर आज पनि मनसुनी वायुका कारण वर्षाको सम्भावना छ । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ र प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । आज बिहान काठमाडौँ उपत्यकाको मौसम भने हल्का बदली भएको छ । दिउँसोसम्म पानी पर्न सक्छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना छ ।

आज राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाले भारी वर्षाको सम्भावना सँगै पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेकाे छ ।

प्रकाशित : २०७८ असार २६ गते ९:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI